को-को परे समानुपातिकमा ?


३१ आश्विन २०७४, मंगलवार
Leadesr 3 party

काठमाडौं : समानुपातिक सांसदका लागि हतारमा सूची बुझाएका दलहरूले अधिकांश नाम फेरबदल गर्दै निर्वाचन आयोगमा बुझाउने भएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित प्रायस् सबै दलले बुझाएको सूची ‘डमी’ मात्र भएको नेताहरूले प्रतिक्रिया दिएका छन् ।

Leadesr 3 party

एमाले अध्यक्ष केपी ओलीसहित मुख्य नेताहरू प्रत्यक्षबाट प्रतिनिधिसभाका लागि चुनाव लड्दै छन् । ११ जना स्थायी समितिका सदस्यमध्ये ५ जना समानुपातिकतर्फ उम्मेदवार भएका छन् । आयोगमा आइतबार बुझाइएको समानुपातिक सूचीमा स्थायी समिति सदस्यहरू मुकुन्द न्यौपाने, अमृत बोहरा, डा। पुष्प कँडेल, सोमनाथ प्यासी र केशव बडाल रहेको पार्टी स्रोतले कान्तिपुरलाई जनायो । अन्य नाम बुझाइए पनि स्थायी समितिले पास नगरेकाले व्यापक फेरबदल हुने भएको छ । ‘केही वरिष्ठ नेताहरूबाहेक अन्य नामका सन्दर्भमा सोमबारदेखि नै छलफल सुरु भएको छ । पार्टीले चाँडै अन्तिम नामावली तयार पार्नेछ,’ पार्टीका एक सचिवले भने ।

कांग्रेसका पनि शीर्षदेखि अधिकांश केन्द्रीयस्तरका नेता प्रत्यक्षबाटै चुनाव लड्ने भएका छन् । कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहित अधिकांश केन्द्रीय सदस्य प्रत्यक्षमा लड्दै छन् । यसअघि समानुपातिकबाट उम्मेदवार रहेकाहरू पनि धेरैजसो प्रत्यक्षमै चुनाव लड्ने भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिले अपवादबाहेक यसअघिका समानुपातिक सांसदलाई उम्मेदवार नबनाउने निर्णय लिएको थियो । यस्तो अपवादमा धेरैजसो महिला नेत्री परेका छन् ।

कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने यसपटक समानुपातिक उम्मेदवारमा छन् । झापा ३ बाट चुनाव लड्ने ठानिएका सिटौला राप्रपासँगको गठबन्धनपछि समानुपातिकमा बस्ने भएका हुन् । राप्रपाको प्रभाव रहेको उक्त निर्वाचन क्षेत्रमा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन चुनाव लड्ने सम्भावना छ । सिटौलासहितको नाम समानुपातिकमा राखेर कांग्रेसले आयोगमा सूची पेस गरेको छ । ती नाममा हेरफेर गरिने पार्टी नेताहरूले जनाएका छन् । आयोगले बन्दसूचीमा रहेका समानुपातिकका नाम कात्तिक १२ भित्र संशोधन गर्ने सीमा तोकेको छ । आइतबार बुझाइएका बन्दसूची सच्याउन, संशोधन गर्न र नाम फिर्ता लिन, दाबीविरोधजस्ता विभिन्न प्रक्रिया पूरा गरेपछि आयोगले मंसिर ३ गते अन्तिम रूप दिनेछ ।

कांग्रेसमा यसअघि रुपन्देही ३ बाट झिनो मतले चुनाव जितेका बालकृष्ण खाँड यसपटक समानुपातिक उम्मेदवारमा छन् । आफू चुनाव हाँक्नका लागि समानुपातिकमा बसेको खाँडले बताए । पार्टी कोषाध्यक्ष सीतादेवी यादवसमेत यसपटक समानुपातिकमा छिन् । उनी सिरहा ३ बाट यसअघि निर्वाचित थिइन् । केन्द्रीय सदस्य सुजाता कोइराला, महालक्ष्मी उपाध्याय डिना यसपटक पनि समानुपातिकमै परेका छन् । डिना राप्रपासँगको गठबन्धनकै कारण समानुपातिकमा गएकी हुन् । ‘अझै प्रत्यक्षमै चुनाव लड्ने इच्छा छ, लबिङ पनि गरिरहेकी छु,’ उनले भनिन्, ‘समानुपातिकमा बस्ने रहर छैन ।’ उपाध्याय यसअघिका दुवै चरणमा समानुपातिकबाट सांसद भएकी थिइन् ।

केन्द्रीय सदस्यहरू कुलबहादुर गुरुङ, दिलेन्द्र बडु, किशोर राठौर, बहादुर लामा, पार्वती डीसी चौधरी, मानबहादुर विश्वकर्मा, सीता गुरुङ, पुष्पा भुसाल, लक्ष्मी परियार र सुजाता परियार पनि समानुपातिकमा छन् । कुलबहादुर गुरुङ, मानबहादुर विश्वकर्मा, सुजाता परियार, लक्ष्मी परियार र सीता गुरुङले अघि पनि समानुपातिकबाट सुविधा लिइसकेका हुन् । चौधरी र लामा दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित हुन् ।

केन्द्रीय सदस्यहरूमध्ये यसअघि समानुपातिकमा रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने यसपटक सुनसरी ४ बाट चुनाव लड्ने सम्भावना छ । अर्का केन्द्रीय सदस्य प्रकाशशरण महत काठमाडौं ५ र मीनेन्द्र रिजालले मोरङ २ बाट चुनाव लड्ने तयारी गरेका छन् ।

महन्थ ठाकुर समानुपातिक सूचीमा
राष्ट्रिय जनता पार्टीले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम एक नम्बरमै राखेर समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । राजपका ६ जना अध्यक्षहरूमा ठाकुरको नाम मात्र प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीमा समेटिएको छ ।

पार्टी स्रोतका अनुसार ठाकुरले आफ्नो स्वास्थ्यका कारण र अन्यले पनि अवसर पाउनुपर्ने भन्दै चुनावमा नउठ्ने इच्छा नेताहरूसँग राखेका थिए । उनले समानुपातिकतर्फबाट पनि आफूलाई उम्मेदवार नबनाउन भने पनि पार्टीले उनलाई समानुपातिकतर्फको सूचीमा राखेको छ ।

पार्टी उपाध्यक्ष वृषेशचन्द्र लालका अनुसार जनताबीच गएर मधेसको मुद्दा बुझाउने र पार्टीका पक्षमा मत माग्न जिल्लाजिल्ला घुम्ने उद्देश्यले ठाकुर चुनावमा उठ्न नचाहेका हुन् । उनलाई सर्लाहीको ४ र महोत्तरीको ३ निर्वाचन क्षेत्रबाट चुनावमा उठ्न आग्रह आएको थियो । ‘प्रत्यक्षतर्फ नउठ्ने र समानुपातिकबाट पनि सांसद नबन्ने उहाँले इच्छा राख्नुभएको हो । उहाँले आफूलाई मधेसका मुद्दामा मात्रै काम गर्ने गरी केन्द्रित गर्न खोज्नुभएको छ,’ लालले भने, ‘तर, पार्टीले उहाँलाई समानुपातिकतर्फको सूचीमा राखेको छ ।’

कांग्रेसमा रहँदा ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा ठाकुर सर्लाहीको तत्कालीन निर्वाचन क्षेत्र ५ बाट विजयी भएका थिए । कांग्रेस छाडेर मधेस राजनीतिमा होमिएयता उनी दुई पटक ०६४ र ०७० मा भएको संविधानसभा निर्वाचनमा सर्लाहीको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ६ बाट दुवै पटक पराजित भएका थिए ।

राजपाले ठाकुरबाहेक पार्टी महासचिव चन्दा चौधरी, पछिल्लो पटकका समानुपातिक सांसद अकबाल अहमद, वरिष्ठ नेताहरू रामनरेश राय र निर्जला राउतलगायतलाई समानुपातिकको बन्दसूचीमा राखेको छ ।

पार्टी महासचिव मनीष सुमनले पार्टीको शीर्ष तहमा रहेका अधिकांश नेतालाई प्रत्यक्षतर्फबाट उठाउने नीति पार्टीले लिएको बताए । उनी स्वयं सप्तरी २ बाट प्रदेशसभा निर्वाचनमा उठ्ने तयारीमा छन् ।

सुमनका अनुसार पार्टीले प्रदेश नम्बर ४ बाहेक सबै प्रदेशमा समानुपातिकतर्फबाट उम्मेदवार बनाएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फको १ सय १० वटै सिटका लागि उम्मेदवारको सूची आयोगमा बुझाएको छ । पार्टीका अन्य अध्यक्षहरू राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव तथा दोस्रो तहका नेताहरू वृषेशचन्द्र लाल, लक्ष्मणलाल कर्ण, सर्वेन्द्र शुक्ल, जितेन्द्र सोनललगायत नेता प्रत्यक्षबाट चुनावमा उठ्नेछन् ।

सुमनका अनुसार स्थानीय चुनावमा उम्मेदवार भएकालाई समानुपातिकको सूचीमा समेटिएको छैन । त्यस्तै यसअघि समानुपातिकबाट सांसद भएकालाई सकभर बन्दसूचीमा राखिएको छैन ।

संघीय समाजवादी फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष रेणु यादवसहितका केही वरिष्ठ नेतालाई समानुपातिकको सूचीमा राखेको छ । उपेन्द्र यादव, अशोक राई, रामसहाय यादव र लालबाबु राउतलगायत नेता प्रत्यक्षबाट उम्मेदवार हुनेछन् ।

पार्टी उपाध्यक्ष लालबाबु राउतले प्रतिनिधिसभाको समानुपातिकतर्फको १ सय १० वटै सिटमा र ७ वटै प्रदेशका लागि समानुपातिक उम्मेदवारी दिइएको बताए ।

 –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७