अवैध बालगृह बन्द गराइयो, छ बालबालिकाको उद्धार


३० आश्विन २०७४, सोमबार
chitwan district

चितवन : पूर्वी चितवनको रत्ननगरमा अवैधरूपमा सञ्चालनमा रहेको एक बालगृह आइतबार साँझ बन्द गराइएको छ ।रत्ननगर नगरपालिका वडा नं १३ मा अवैधरूपमा सञ्चालनमा रहेको ड्रिम एञ्जल वल्र्ड नामक बालगृह बन्द गराउनाका साथै त्यहाँ रहेका छ बालबालिकालाई उद्धार गरिएको हो ।

chitwan districtजिल्ला बालकल्याण समितिका बाल संरक्षण अधिकृत महेश पौडेलका अनुसार उक्त बालगृह लामो समयदेखि बिनादर्ता र मापदण्ड विपरीत सञ्चालन हुँदै आएकाले पटक पटक बालगृह दर्ता गरी आवश्यक मापदण्ड पूरा गर्न सञ्चालकलाई पत्राचार गर्दासमेत अटेर गरेकाले बन्द गराइएको हो । सो बालगृहका सञ्चालक ठाकुर पनेरु फरार छन् ।

पत्रकार एवं स्थानीयवासीको रोहबरमा बालगृहबाट पाँच बालक र एक बालिकालाई उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार उद्धार गरिएका उनीहरुलाई काठमाडौँको पारिवारिक पुनर्मिलन गराउने संस्था हिमाली नवीन समाजमा पठाइएको छ ।

केन्द्रीय बालकल्याण समितिको सिफारिसमा ती बालबालिकालाई गएराति नै काठमाडौँस्थित उक्त समाजमा पठाइएको उनले बताए । बालगृहमा रहेका बालबालिका जुम्ला, गोर्खा, दाङ, कास्की र चितवनका रहेका छन् । उनीहरु १० देखि १७ वर्षसम्मका रहेको उनले जानकारी दिए ।

बालगृहमा १८ बालबालिका रहे पनि अहिले दशैँ तिहारका लागि अन्य बालबालिका भने आफ्नै घर र आफन्तकामा गएकाले हाल त्यहाँ भेटिएका बालबालिकालाई मात्रै उद्धार गरिएको थियो । उक्त बालगृह बालबालिकाका लागि उचित र सुरक्षित वातावरणको समेत नदेखिएको आइतबार बसेको बाल कल्याण समितिको बैठकले तत्काल उद्धार गरी बन्द गराउने निर्णय गरेको थियो । ती बालबालिकाको पठनपाठनलाई निरन्तरता दिई परिवारसँग पुनर्मिलन गराउने बताइएको छ ।

जिल्लामा हाल ३० वटा बालगृह दर्ता भई सञ्चालनमा छन् । ती बालगृहमा ९४० बालबालिका रहेको उक्त समितिले जनाएको छ । दर्ता प्रक्रिया पूरा गर्न नसकेपछि केही बालगृह भने छात्रावासको नाममा सञ्चालनमा रहेको बालकल्याण अधिकृत पौडेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७