प्रश्नपत्र ‘आउट’ र बौद्धिक चोरीमा संग्लन घिमिरेलाई त्रिवि सेवा आयोगको अध्यक्ष बनाउने तयारी


२४ श्रावण २०७९, मंगलवार
debendra paudel

काठमाडौं : सरकारले प्रश्नपत्र ‘आउट’ र बौद्धिक चोरीमा संग्लन प्रा.डा. केदारनाथ घिमिरेलाई त्रिवि सेवा आयोगको अध्यक्ष बनाउने तयारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भविष्यमा कुनै पनि जिम्मेवारी नदिन लिखित निर्देशन दिएका ब्यक्तिलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नियुक्ति गर्न लागिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल अध्यक्ष र सचिव रामकृष्ण सुवेदी सदस्य रहेको कमिटीले अख्तियारले ‘भविष्यमा कुनै पनि सरकारी जिम्मेवारी नदिनू’ भन्ने अख्तियारले त्रिवि कुलपतिका नाममा दिएको निर्देशनलाई नै अवज्ञा गरी घिमिरेलाई त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गर्न लागिएको भन्दै माओवादी निकट शिक्षाविद्हरुले बिरोध गरेका छन् । शिक्षामन्त्री पौडेल माओवादी केन्द्रका नेता हुन् ।

४ बर्षअगाडि लिएको उपप्राध्यापक पदको लिखित परीक्षामा त्रिवि सेवा आयोगका तत्कालीन अध्यक्ष ईश्वरकुमार दत्त र सदस्य केदारनाथ घिमिरेले सक्षम र काबिललाई फेल गराई अक्षमहरुलाई प्रश्नपत्र पहिल्यै आउट गरी सेटिङ गरी पास गराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयमा उजुरी परेको थियो ।

सेवा आयोगका सदस्य केदारनाथ घिमिरेले सेटिङमा परीक्षा अगावै उत्तर विक्री गरी उपप्राध्यापकको परीक्षामा घुस लिएकाहरुलाई मात्र पास गराएको प्रमाणसहित उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो । राष्ट्रिय सतर्कता केन्द्रले त्रिवि सेवा आयोगका केदारनाथ घिमिरेले इश्वरचन्द्र दत्तसँग मिलेर घुस लिएकालाई मात्र उपप्राध्यापकमा पास गराएकाले छानबिन गरी कारबाही गर्नका लागि अख्तियारलाई प्रतिवेदन बुझाएको थियो । 

 राष्ट्रिय सतर्कता केन्द्रले अख्तियारलाई त्रिवि सेवा आयोगबाट लिइएको उपप्राध्यापकको परीक्षामा सहभागी ६७२ जनाको उत्तरपुस्तिका पुनः परीक्षण गर्न २०७३ माघ १२ गते पत्र लेखेको थियो । 

akhtiyar durupayog anusandhan aayog

 सेवा आयोगले विज्ञापन नम्बर ७ र ८ (२०७२-०७३) गणित विषयको उपप्राध्यापक पदको परीक्षामा प्रश्न पहिले नै आउट गरी प्राध्यापक चेतराज भट्टले उत्तर लेखेर परीक्षार्थीलाई दिएको विषयमा अख्तियारले छानबिन गरी विशेष अदालतमा मुद्दा पनि दायर गरेको थियोे । अख्तियारले सेवा आयोगका अध्यक्ष दत्त र सदस्य घिमिरेलाई उन्मुक्ति दिई शिक्षक चेतराज भट्ट र रामविश्वास साहकाविरुद्ध मात्र मुद्दा दायर गरेको थियो । दत्त र घिमिरेलाई मुद्दा दायर नगरी उन्मुक्ति दिएको अख्तियारले भविष्यमा कुनै पनि जिम्मेवारी नदिन कुलपतिलाई निर्देशन दिएको थियो । तर अख्तियारको निर्णय बिपरीत केदारनाथ घिमिरेलाई अहिले त्रिवि सेवा आयोगमा अध्यक्ष बनाएर सम्मान गर्न लागिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०७४ बैशाख १४ गते बसेको बैठकले गरेको निर्णयमा स्पष्ट उल्लेख छ–‘त्रिभुवन विश्वविद्यालय सेवा आयोगले पनि गणित(मानविकी) र गणित (विज्ञान) बिषयमा प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका परीक्षण गराउँदासम्म कुनै लिखित निर्देशन नदिई मौखिक निर्देशनको भरमा काम गराएको र परीक्षाको मर्यादा कायम गराउन नसकेको देखिंदा त्रिवि सेवा आयोगका तत्कालीन अध्यक्ष प्राडा इश्वरचन्द्र दत्त र सदस्य प्राडा केदारनाथ घिमिरेले पदीय मर्यादा अनुरुप आफूलाई तोकिएको जिम्मेवारी पूरा गरेको नपाइएकाले निजहरुलाई भविष्यमा कुनै पनि जिम्मेवारी दिनुपूर्वक गम्भीरतापूर्वक मूल्यांकन गर्न एवं कानुन बमोजिम जे जे गर्नुपर्ने सो गरी आयोगलाई जानकारी गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २८ को उपदफा (१)को देहाय (ख) बमोजिम त्रिवि कुलपतिको कार्यालयलाई सुझाव लेखी पठाउने र गणित(मानविकी) र गणित (विज्ञान) बिषयको परीक्षाका अन्य परीक्षार्थीहरुको सम्बन्धमा जो जे गर्नुपर्ने हो, तहीँबाट नियमानुसार गर्न उत्तरपुस्तिका, मार्कलेजर लगायतका कागजातहरु त्रिवि सेवा आयोगमा फिर्ता पठाउने ।’

अध्यक्ष प्रजातन्त्रवादी प्राध्यापक संघका जगत तिम्सिनाको सेटिङमा घिमिरेलाई त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्ति गर्न लागिएको हो । २०६६ सम्म एमालेका निकट घिमिरे जगत तिम्सिनाका नाताले ससुरा हुन् । तिम्सिनाकी भाउजुका कान्छा काका घिमिरेले त्रिवि सेवा आयोगको सदस्य हुँदा नै घुस लिएर प्रश्नपत्र आउट गरेका थिए भने अब अध्यक्ष नै बनाएपछि उनले त्रिविलाई बिहारको विश्वविद्यालयजस्तै बनाउनेछन् । त्रिविको गरिमा र साख बचाउन पनि घिमिरे जस्ता बदनामलाई अध्यक्ष बनाउनु नहुने पक्षमा प्रजातन्त्रवादी प्राध्यापकहरु नै लागेका छन् ।    

हत्याराले एक व्यक्तिको ज्यान लिँदा जन्मकैदको सजाय हुन्छ तर हजारौं विद्यार्थीहरुलाई पढाउने अयोग्य अध्यापक भर्ति गरेर सेवा आयोगका पदाधिकारीले त्योभन्दा ठूलो शैक्षिक अपराध गरेका छन् । प्रश्नसमेत सार्न नसक्ने र उत्तरै नलेखी उपप्राध्यापक भएकाहरुले के पढाउलान् र तिनले पढाएका विद्यार्थीको भविष्य कस्तो होला ? सेवा आयोगमा बसेर त्यस्तो अपराधपूर्ण काम गर्ने घिमिरेलाई अध्यक्ष बनाएर त्रिविको साख ध्वस्त पार्न खोजिएकोमा त्रिविका प्राध्यापकहरु चिन्तित छन् । अख्तियारले केदारनाथ घिमिरेलाई भविष्यमा कुनै पनि जिम्मेवारी नदिनू भनेर कुलपतिलाई निर्देशन दिएको छ, तर तिनैलाई त्रिवि सेवा आयोगमा नियुक्ति सिफारिस गर्न लाग्नुभएको हो भन्ने प्रश्नमा शिक्षामन्त्री देवेन्द्र पौडेलले भने–‘सिफारिस भएकै छैन, कसले भन्यो तपाईलाई ? उहाँको सिफारिस गर्न लागेकोबारेमा केही थाहा छैन ।’

अख्तियारका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले भने–‘आयोगले उत्तरपुस्तिका परीक्षण गर्दा कैफियत देखिएकाले त्यसमा संलग्नलाई भविष्यमा कुनै पनि जिम्मेवारी नदिने निर्णय गरेको हो । यदि अख्तियारको निर्णय बिपरीत नियुक्ति गर्छन् भने आयोगले के गर्नसक्छ ? अख्तियारको निर्णय मान्नुपर्ने हो । नियुक्ति गर्नेहरुले नै नैतिक रुपमा जिम्मेवारी लिनुपर्छ ।’

बौद्धिक चोरीमा संग्लन

घिमिरेमाथि बौद्धिक चोरीको आरोप समेत छ । त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका प्रा.डा घिमिरेले ६ वर्षअघि प्रकाशित भारतीय लेखकहरू जेएन गुर्तु र आर कपुरको ‘एडभान्स फिजिकल केमेस्ट्री’ र जे यादवको ‘एक्पेरिमेन्टल फिजिकल केमेस्ट्री’ किताबबाट हुबहु सारेर आफ्नो नाममा प्रकाशित गराएको तथ्य फेला परेको थियो । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थानकी पूर्वडिन चिरिक शोभा ताम्राकारले कारवाहीको माग पटक पटक गरेकी थिइन् ।

यति मात्रै होइन प्रा. डा घिमिरेले विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराएको अनुदानमा आधारित अनुसन्धानमा समेत उनले आफैंले नास्टमा केही वर्षअघि प्रस्तुत गरेको अनुसन्धान पेस गरेका थिए । जसका कारण विश्वविद्यालय अनुदान आयोगले समेत उनलाई कालोसूचीमा राखेको छ।

जतिखेर घिमिरेमाथि बौद्धिक चोरीको आरोप लागेको थियो, त्यतिखेर उनी रसायनशास्त्र विभागको विषय समितिका अध्यक्ष थिए भने पछि उनी त्रिवि सेवा आयोगको सदस्यसचिवसमेत भए।

घिमिरेले विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराएको १० लाख रुपैयाँको इन्स्टिच्युसनल ग्रान्टमा समेत बौद्धिक चोरी गरेर अनुसन्धान पेपर बुझाएकाले घिमिरे कालोसूचीमा परेका थिए ।

घिमिरेले नेसनल एकडेमी अफ साइन्स एन्ड टेक्नोलोजीमा पहिले नै प्रस्तुत गरेको अनुसन्धान पेपर आयोगमा प्रस्तुत गरी अर्को बौद्धिक चोरीको प्रमाणित भए पनि उनले त्रिवि रसायनशास्त्र विभागमै अध्यापन गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७