देउवालाई ओली र प्रचण्डको चेतावनी, ‘आचारसंहिता विरोधी काम बन्द गर्नुहोस्’


२६ आश्विन २०७४, बिहीबार
party

काठमाडौं : नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रका शीर्ष नेताले प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर निर्वाचन आचारसंहिता र संविधान विपरित काम नगर्न चेतावनी दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डले, महासचिव बादल लगायतले बिहीबार प्रधानमन्त्री देउवालाई भेटेर निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद हेरफेर नगर्न चेतावनी दिएका हुन् ।

party

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार भएको बैठकमा एमाले र माओवादीले तोकिएकै समयमा चुनाव गराउन भनेका हुन् । कांग्रेस चुनावबाट भाग्ने बहाना खोजिरहेकाले प्रधानमन्त्रीलाई त्यसबाट हुनसक्ने संवैधानिक र राजनीतिक संकटबारे सचेत गराएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री देउवाले आचारसंहिताको पूर्ण पालना गर्न पनि सरकार तयार रहेको धारणा राखेको एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले जानकारी दिए । ‘प्रधानमन्त्रीले दुईवटा कुरामा आश्वस्त पार्नुभयो,’ नेता नेपालले भने, ‘चुनावको मिति सर्दैन । तपाईँहरु ढुक्क हुनुहोस् । अर्को कुरा सरकार निर्वाचन आचारसंहिता पालना गर्ने कुरामा गम्भीर छ । शंका गर्नुपर्दैन ।’

बैठकले राष्ट्रिय सभा निर्वाचन विधेयकमा सहमति जुटाउने जिम्मेवारी प्रमुख तीन दलका शीर्ष नेतृत्वलाई दिएको छ । राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणको आधारमा तय गर्नुपर्ने सरकारको प्रस्तावमा प्रमुख प्रतिपक्ष एमालेको असहमति छ ।

सोही विषयमा सहमति जुटाउने जिम्मेवारी कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति नसर्ने स्पष्ट पार्दै ढुक्क हुन प्रमुख दललाई आग्रह गरेका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७