एमाले सुदूर पश्चिम प्रदेशको संसदीय दलको बैठक बस्दै


१२ जेष्ठ २०७८, बुधबार
CPN UML

धनगढी, १२ जेठ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक आज बस्दैछ । बैठक अहिले ८ः१५ मा बस्ने एमाले प्रदेश सभा सदस्य अमरबहादुर साउदले जानकारी दिएका छन् । बैठक मंगलबार बस्ने भनिए पनि आन्तरिक कारण बस्न सकेको थिएन ।

‘हिजो सबै साथीहरुलाई सूचना पुगेको रहेनछ । हिजो सामान्य अनौपचारिक छलफल भयो । त्यसैले अहिले बैठक बस्दैछौ’, उनले भने ।
सोमबार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । त्यसपछि संसदीय दलको बैठक बस्न लागेको हो । तर, सुदूरपश्चिम प्रदेशमा खनाल–नेपाल समूहका सांसदको बहुमत छ ।

एमालेको निर्णय कार्यान्वयन नहुने सम्भावना रहेको नेताहरु बताउँछन् । माधव नेपाल पक्ष अनुपस्थित एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि त्यसबारे छलफल गर्न मंगलबार पनि बैठक बोलाइएको थियो । तर माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरुलाई मात्रै बैठकमा बोलाइएको भन्दै विवाद भएको थियो । मंगलबार दुई पटकसम्म बैठक बस्ने प्रयास गरिए पनि सफल नभएपछि बुधबारसम्मका लागि स्थगित गरिएको थियो ।

एमालेको ओली पक्ष आफ्नै नेतृत्वमा सरकार गठनको कसरतमा रहे पनि एमालेकै माधव नेपाल पक्ष भने अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको एमाले नेताहरु बताउँछन् । सुदूरपश्चिम प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह माधव नेपाल खेमाका नेता भीम रावल निकट मानिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७