यी हुन् एमालेका सम्भावित मुख्यमन्त्रीहरु


२५ आश्विन २०७४, बुधबार

काठमाडौं, २५ असोज : भावी प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तोकेरै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जाने तयारी बाम एकताका कारण रोकिए पनि एमालेका केही नेता मुख्यमन्त्रीको दाबेदारी सहित चुनावी मैदानमा होमिएका छन् । पार्टीका पदाधिकारी वा स्थायी कमिटी सदस्यबाटै मुख्यमन्त्री बन्ने प्रारम्भिक छलफल चले पनि अधिकांश शीर्ष नेता प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस भएका छन् ।

CPN UML

एमालेबाट प्रदेश नम्बर १ मा मुख्यमन्त्रीका लागि प्रदेश संयोजक भीम आचार्य र सहसंयोजक शेरधन राईको दाबेदारी प्रस्तुत भएको छ । आचार्य सुनसरी क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् । त्यस्तै पोलिटव्यूरो सदस्य समेत रहेका राई भोजपुरको प्रदेशसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । उनले एमालेको प्रदेश कमिटी बैठकमा आचार्य र राईले अनौपचारिक रुपमा मुख्यमन्त्रीको दाबेदारी प्रस्त्ुत गरेका हुन् ।

उनीहरु दुवै पूर्व मन्त्री हुन् । पार्टीभित्र आचार्य माधव नेपाल पक्षका हुन् भने राई केपी ओली पक्षका हुन् । राष्ट्रपति विद्या भण्डारीको दह्रिलो साथ पाउँदै आएका राईले माथिबाट संकेत पाएरै प्रतिनिधिसभा सदस्यको दाबी छाडेर प्रदेश सभा सदस्यको उम्मेदवार बन्न लागेको स्रोतको दावी छ । राई लिम्बुको सघन बसोबास रहेको सो क्षेत्रमा शेरधन राई अघि सरेपछि मुख्यमन्त्रीका सम्भावित दाबेदार मानिएका सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका छन् । सबै खालको सन्तुलन मिलाउदा पनि राईकै सम्भावना बढी रहेको स्रोतको दाबी छ ।

प्रदेश नम्बर ३ बाट पार्टीका स्थायी कमिटी सदस्य कसैले पनि प्रदेशसभा सदस्यमा उठ्ने इच्छा नदेखाएपछि पोलिटव्यूरो सदस्य सानुकुमार श्रेष्ठ काठमाडौं १० को प्रदेश सभामा उम्मेदवार बन्ने भएका छन् । उपाध्यक्ष तथा प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री बन्न इच्छा नदेखाएपछि उपत्यकाबाट श्रेष्ठ अघि सरेका हुन् ।

त्यस्तै सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका अर्का नेता शेरवहादुर तामाङ माओवादीलाई एक सिट छाड्नुपर्ने अवस्थामा मुख्यमन्त्री बन्ने गरि प्रदेश सभामा लड्न इच्छुक रहेको बताइएको छ । यो प्रदेशमा तामाङ वा नेवार समुदायबाटै मुख्यमन्त्री बन्ने सम्भावना छ । प्रदेश नम्बर ४ मा स्थायी कमिटी सदस्य तथा प्रदेश संयोजक किरण गुरुङ मुख्यमन्त्रीको एकल दाबेदार देखिएका छन् । गुरुङ र मगर समुदायको बाहुल्य रहेको यो प्रदेशबाट पोलिटव्यूरो सदस्य थममाया थापा मगर र श्रीमाया थकालीले दाबेदारी नदेखाएपछि गुरुङ लगभग सर्वसम्मत भएका छन् ।

प्रदेश ५ मा एमालेका दुई उपाध्यक्ष, दुई उपमहासचिव, दुई सचिव र दुई स्थायी कमिटी सदस्य गरि ८ जना नेता छन् । तर उनीहरु कोही पनि प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस नपरेपछि थारु नेता बैजनाथ चौधरी नवलपरासीबाट प्रदेश सभा सदस्यमा सिफारिस भएका छन् । केन्द्रीय सदस्य तथा प्रत्यक्ष निर्वाचित सांसद चौधरीलाई ५ नम्बरमा एमालेबाट मुख्यमन्त्रीका दाबेदारका रुपमा हेरिएको छ । पोलिटव्यूरो सदस्य तथा प्रदेश सहसंयोजक दलवहादुर राना मगर पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा पाल्पाबाट सर्वसम्मत सिफारिस भएका छन् ।

प्रदेश नम्बर ६ बाट एमालेका पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला र यमलाल कँडेल दुवैजना प्रदेश सभास सदस्यको उम्मेदवार बन्ने भएका छन् । ज्वाला सल्यान र कँडेल सुर्खेतमा सर्वसम्मत भइसकेका छन् । तर यो प्रदेशको मुख्यमन्त्री माओवादीले पाउने सम्भावना हुन्छ । प्रदेश नम्बर ३ मा पनि माओवादीले पाउन सक्ने भएकाले ठूला नेता प्रदेशमा गएका छैनन् । प्रदेश नम्बर ७ मा उपाध्यक्ष भीम रावल र नेता मानुभक्त जोशी द्ुवैजना प्रतिनिधिसभा सदस्यमा उम्मेदवारमा सिफारिस भएका छन् । ७ नम्बर प्रदेशमा एमालेबाट मुख्यमन्त्रीको दाबेदारीमा अहिलेसम्म कोही देखिएका छैनन् ।

पहिचान बिरोधी भनेर आरोप खेप्नुपरेको एमालेले भावी मुख्यमन्त्रीका लागि आदिवासी जनजाति समुदायकै नेताहरुलाई अघि सार्नका लागि शीर्ष नेता प्रदेशको चुनावमा नगएको अनुमान लगाउन सकिन्छ । एमालेले ७ मध्ये कम्तिमा ४ ओटा प्रदेशको मुख्यमन्त्री पाउँदा १ बाट राई, ३ बाट तामाङ वा नेवार,४ बाट गुरुङ, पाँपचबाट थारु नेतालाई अघि सार्न सक्छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७