फोरम-राजपा रणनीति : मधेसका दुईतिहाइ क्षेत्रमा मिलेर उम्मेदवारी


२२ आश्विन २०७४, आईतवार
Upendra yadav and mahanta thakur

काठमाडौं : संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपालले तराई–मधेसका २० जिल्लाका दुईतिहाइ निर्वाचन क्षेत्रमा आफूहरूले उम्मेदवारी दिने र बाँकी एकतिहाइ क्षेत्र लोकतान्त्रिक गठबन्धनलाई छाड्ने रणनीति बनाएका छन् ।

Upendra yadav and mahanta thakur
यसैगरी दुई दलले देशभरका निर्वाचन क्षेत्रमध्ये कम्तीमा एकतिहाइ आफूले पाउनुपर्ने दाबीसहितको प्रस्ताव लोकतान्त्रिक गठबन्धनसँग राख्ने भएका छन् । लोकतान्त्रिक गठबन्धनमा कांग्रेस, मधेसी दललगायत ६ दल आबद्ध छन् । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धन बनाइएको छ ।

सिट बाँडफाँट विषयमा छलफल गर्न राजपा–फोरम बैठक आइतबार बस्नेछ । राजपा अध्यक्षमण्डलको शनिबारको अनौपचारिक बैठकमा सिट बाँडफाँट गर्नेबारे प्रारम्भिक छलफल भएको जानकारी अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवले दिए । उनले चुनावमा मधेसका २० जिल्लासहित देशभर कांग्रेससँग तालमेल हुन सक्ने बताए । ‘हामी कांग्रेससँग तालमेल गरी पहाडमा पनि उम्मेदवारी दिन्छांै,’ यादवले भने, ‘मधेसमा पनि कांग्रेससँग तालमेल गर्न सक्छौं ।’ चुनावी तालेमलका लागि वामपन्थी गठबन्धनसँग पनि छलफल भइरहेको  यादवले बताए ।

राजपा प्रवक्ता सन्तोष मेहताले मधेसका २० जिल्लाका कम्तीमा दुईतिहाइ निर्वाचन क्षेत्रमा राजपा–फोरम मिलेर उम्मेदवारी दिने र बाँकी एकतिहाइ क्षेत्र लोकतान्त्रिक गठबन्धनलाई छाड्ने रणनीति आफूहरूले बनाएको बताए । ‘हामीले लोकतान्त्रिक गठबन्धनसँग देशभर  कम्तीमा एकतिहाइ निर्वाचन क्षेत्रमा हाम्रो उम्मेदवारी मागेका छांै ।

मधेसका २० जिल्लामा भने कम्तीमा दुईतिहाइ निर्वाचन क्षेत्रमा हाम्रा उम्मेदवार बनाउन माग राख्छौं’, उनले भने । स्रोतका अनुसार मधेसका २० जिल्लामध्ये दक्षिणी भेगतिरका क्षेत्रमा  राजपा—फोरमले दाबी गर्ने भएका छन् । राजपा–फोरम पकड क्षेत्रमा आन्तरिक भागबन्डा कसरी गर्ने भन्नेबारे आइतबार बस्ने दुई पार्टीको बैठकमा विस्तृत छलफल गर्ने  राजपा वरिष्ठ नेता रामनरेश राययादवले बताए । ‘भोलि (आइतबार ) देखि सिट बाँडफाँटको टुगों लगाउँछांै । अहिलेसम्म करिबकरिब आधाआधा भागबन्डा गर्ने सहमति भएको छ,’ उनले भने ।

राजपाका नेताहरूले शुक्रबार र शनिबार मधेसका २० जिल्लामा फोरमसँग मिलेर चुनाव लडे कुनकुन क्षेत्रमा विजयी हुन सकिन्छ भन्ने प्रारम्भिक अध्ययन गरेका थिए । भरखरै सम्पन्न स्थानीय निर्वाचन र दोस्रो संविधानसभा चुनावमा प्राप्त मतलाई आधार बनाएर अध्ययन गरिएको प्रवक्ता मेहताले बताए । यही अध्ययनलाई आधार मानेर फोरम र राजपाबीच सिट बाँडफाँट गरिने जानकारी उनले दिए ।

ठाकुर चुनाव नलड्ने
राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर प्रतिनिधिसभा÷प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ चुनाव नलड्ने भएका छन् । अध्यक्षमण्डका अन्य पाँच सदस्य भने प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् । संयोजक ठाकुरले प्रत्यक्षतर्फ चुनाव नलड्ने सोेच बनाएको एक नेताले बताए । ‘उहाँ (ठाकुर) ले बैठकमै स्वास्थ्यका अवस्थाका कारणले म चुनाव लड्दिनँ भन्नुभयो । समानुपातिकमा पनि जान्न भन्नुभयो ।  समानुपातिकमा आउनुपर्छ भन्ने हाम्रो दबाब छ,’ ती नेताले भने ।
अध्यक्षमण्डलका सदस्यमध्ये राजेन्द्र महतो  र महेन्द्र यादव क्रमशः सर्लाही निर्वाचन क्षेत्र नम्बर १ र २, शरत्सिंह भण्डारी महोत्तरी २, अनिल झा रौतहट १ र राजकिशोर यादव सिरहा ४ बाट चुनाव लड्ने तयारीमा छन् । फोरमका शीर्ष तहका नेता र राजपा अध्यक्षमण्डलका नेताहरूलाई चुनाव जिताउने सहमति दुई पार्टीका नेताबीच भएको छ । फोरम अध्यक्ष उपेन्द्र यादवले यसपटक सप्तरीबाट चुनाव लड्ने सम्भावना रहेको एक नेताले बताए । नेता यादवले प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा फोरम नेपाल र राजपाले साझा घोषणापत्र बनाउने बताए । ‘लोकतान्त्रिक गठबन्धनमा रहेका ६ वटै दलको साझा घोषणापत्र बन्न नसके पनि फोरम र राजपाको साझा घोषणापत्र बनाउने तयारी गरेका छाैं’, उनले भने ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७