नेपालीभूमिमा भारतीय बस्ती


२१ आश्विन २०७४, शनिबार
bharatiya basti

जहदा (मोरङ) : मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा-७ तारेगामास्थित नेपाल-भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४÷पीपी ६२ नम्बरसँगै टाँसेर घर बनाएका छन् ।

bharatiya basti

 

सीमाक्षेत्रमा भेटिएका स्थानीय सञ्जयकुमार साहका अनुसार जनवरीमा नेपाल-भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी गरेको थियो । त्यसबेला सीमास्तम्भभन्दा उत्तरतर्फ नेपालीका केही घर हटाइएको भए पनि भारतीय बस्ती भने जस्ताको तस्तै छन् ।

विराटनगरको रानी भन्सारबाट १७ किलोमिटर दूरीमा पर्छ-तारेगामको उक्त बस्ती । त्यहाँसम्म पुग्न केही कालोपत्रे सडक भए पनि धरैजसो भाग भने कच्ची ग्राभेल पर्छ । दसजगा क्षेत्रसँग जोडिएको चियाखाजा पसलका सञ्चालक नेपाली नागरिक फूलमान साहले भने, ‘यहाँ बडा रामराज्य छ । हामी वारिपारिका मिलेर बस्छौं । कोही सुरक्षाकर्मीको जरुरी नै छैन । को नेपाली र को भारतीय भन्ने भेदभाव हामीबीच छैन ।’

भारततर्फ बिहार राज्यअन्तर्गत अररिया जिल्लाको सोनामनी गोदाम पर्छ भने नेपालतर्फ चाहिँ जहदा गाउँपालिकाको वार्ड नम्बर ७, तारेगामा बजार पर्छ । दुईतर्फ बस्तीको बीचमा केही भाग खाली जस्तो त देखिन्छ तर दसगजा क्षेत्र कहाँ हो भनेर छुट्ट्याउन सक्ने अवस्था छैन । ‘नो म्यान्स ल्यान्ड’ (निर्जन) भनिने नेपाल-भारत सीमाको दसगजा क्षेत्रमा नेपाल र भारत दुवै देशले दस-दस गज खाली छाड्नुपर्ने हो ।

जंगेपिलरभन्दा पूर्वपट्टिको भूभागमा भारतले दसगजा क्षेत्र मिचेर पक्की सडक बनाएको छ । अग्लो पारेर सिमेन्ट ढलान गरेर बनाइएको उक्त बाटोका कारण यसपटकको बाढीमा पनि नेपालीका घरहरू डुबेको पनि सञ्जय साहले बताए ।

जंगेपिलरभन्दा पूर्वपट्टिको भूभागमा भारतले दसगजा क्षेत्र मिचेर पक्की सडक बनाएको छ । अग्लो पारेर सिमेन्ट ढलान गरेर बनाइएको उक्त बाटोका कारण यसपटकको बाढीमा पनि नेपालीका घरहरू डुबानमा परे । 

‘यो बजरंगबली (हनुमान) मन्दिर दसगजाको बीचमा छ । यसको ढलान नयाँ भए पनि मन्दिर १५-२० वर्ष पुरानै हो’, सञ्जय साहले मन्दिर देखाउँदै भने, ‘पहिला त कता नेपाल वा भारत भन्ने पनि थिएन । पोहोर साल नापी आएपछि चाहिँ सीमा यहाँ पर्छ भन्नेसम्म भएको छ ।’

जंगेपिलरभन्दा उत्तर नेपालपट्टि दिन बिराएर हाट लाग्छ । नेपाल-भारत दुवैतर्फका मान्छेले त्यहीँ किनमेल गर्छन् । त्यहाँबाट भारतको फारबिसगन्ज १५ र नेपालको विराटनगर १७ किलोमिटर दूरीमा पर्छ । नेपालमा अर्को बजार छैन । ‘यहाँ पनि घरहरू थिए, गतसाल नापी भएपछि बजारका घर हटाइए । अहिले चाहिँ हाट मात्र लाग्छ’, त्यहीँ भेटिएका एक भारतीय स्थानीयले बताए, ‘यहाँ नेपाली भूमि मिचिएको छैन । यो पिलरबाट पूर्व र पश्चिम दुवैतर्फ सीमा उत्तरतिर जान्छ । हेर्दा मात्रै मिचिएजस्तो देखिएको हो ।’ उनले पनि यो समाजमा नेपाली र भारतीय भन्ने विभेदपूर्ण भावना नभएको बताए ।

बजरंगबलीको मन्दिरभन्दा उत्तरतर्फको दुर्गा मन्दिर भने अहिले नेपालमा परेको छ, जुन पहिले भारतीयले बनाएका थिए । ‘यो मन्दिर बनेको ठाउँमा त भारतीय जिमिनदार नन्दलाल भगतको हात्ती बाँध्ने घर थियो । नेपालतर्फ पनि उनको सय बिघाभन्दा बढी जग्गा थियो’, सञ्जयले भने, ‘अहिले उनका तीन भाइ छोरा यहीँ बस्छन् । माइलो छोरा बैजनाथ भगतको घरको पर्खाल दसगजाभित्र पर्छ।’

अहिले पनि दसगजाभित्रै पर्खाल पर्ने घरमा बसिरहेका बैजनाथ भगतले नेपालमा परेको आफ्नो ८० बिघा जग्गा बेचिसकेको र केही जग्गाको भने पैसा पनि नपाएको बताए । आफू जन्मनेबित्तिकै पिताको मृत्यु भएको बताउने ६३ वर्षीय उनले भने, ‘एक जना भतिजाको नेपाली नागरिकता थियो । त्यसैले काम चलाएका थियौं ।’ नेपालतर्फको भूभागमा आएर कुरा गरिरहेका उनले पनि यहाँ कता नेपाल र भारत भन्ने व्यवहार स्थानीय बासिन्दाको तहमा नभएको बताए । एक पुस्ताअघिसम्म तीनवटा हात्ती पालेर बस्ने यी जिमिनदारको राजाजस्तै ठाँट भए पनि अहिले सर्वसाधारणमा परिणत भइसकेका छन् ।

स्थानीय युवा विक्रम साहले दसगजा क्षेत्रमा बसोवास गर्ने गरिबहरू रहेको बताए । उनले केही नेपाली पनि दसगजामा बसोबास गर्ने बताए । उनले भने, ‘गत जनवरीमै दुई देशको संयुक्त नापी हुँदा जिमिनदारलाई पनि दसगजा खाली गर्न भारतीय पक्षले भनेको थियो । अझै खाली भएको छैन ।’ त्यहाँ भारतीय पक्षले बनाएको बाटो नेपाली भूमिमा बनेको छ तर सिमेन्ट ढलान गरेर बनाइसकेकाले त्यसलाई नभत्काउन सिक्टी पञ्चायतका मुखिया जयकुमार मण्डलले दबाब दिएका छन् ।

उनी विधायक विजयकुमार मण्डलका सहोदर भाइ भएकाले भत्काउन नेपाल पक्षले नसकेको विक्रमले बताए । स्थानीय मिलेर बसे पनि बेलाबखत भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली सीमा क्षेत्रमै आएर दुःख दिने गरेको स्थानीय बताउँछन् । केहीअघि भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमै आएर एकजना नेपालीलाई पक्राउ गरेपछि त्यसको विरोधमा नेपालीले प्रदर्शन गरेका थिए ।

अन्नपूर्ण पाेष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७