अमेरिकाद्वारा फिडेल कास्ट्रोको देशका १५ कूटनीतिज्ञलाई देशनिकाला


१९ आश्विन २०७४, बिहीबार
US VS CUBA

अमेरिकाले वासिङ्टनमा रहेका क्युवा अर्थात् फिडेल कास्ट्रोको देशका १५ जना कूटनीतिज्ञ र केही कर्मचारीलाई देशनिकाला गरेको छ । हवानाले अमेरिकी कूटनीतिज्ञहरूलाई रहस्यमय ढंगले बिरामी गराएको आरोप लगाउँदै बदलास्वरूप बुधबार वासिङ्टनले क्युवाली कूटनीतिज्ञहरूलाई देशनिकाला गरेको हो ।

अमेरिकाले बोलाएको
गत साता मात्रा अमेरिकाले आधा दर्जन कूटनीतिज्ञलाई क्युवाबाट फिर्ता बोलाएको थियो । करिब दुई दर्जन अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवार रहस्यमय रोगको सिकार भएपछि अमेरिकाले सो कदम चालेको थियो । उनीहरूमध्ये धेरैको श्रवण शक्ति गुमेको थियो । आफ्ना कूटनीतिज्ञहरूलाई श्रवण शक्ति कमजोर हुने ध्वनिबाट हमला गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ ।

US VS CUBA

‘अमेरिकी कूटनीतिज्ञ असुरक्षित’
क्युवाले आफ्ना कूटनीतिज्ञलाई सुरक्षा दिन नसकेको अमेरिकाले आरोप लगाएको छ । ‘भियना महासन्धिअनुसार हाम्रा कूटनीतिज्ञहरूलाई क्युवाले पर्याप्त सुरक्षा प्रदान गर्न असफल भएकाले विरोधस्वरूप क्युवाली कूटनीतिज्ञहरूलाई फिर्ता गरिएको हो,’ अमेरिकी विदेशमन्त्री रिक्स टिलरसनले भने । क्युवाली कूटनीतिज्ञहरूलाई देश छोड्न अमेरिकी विदेश मन्त्रालयले सात दिनको म्याद दिएको छ ।

क्युवा क्रूद्ध
ट्रम्प प्रशासनले वासिङ्टनमा रहेका क्युवाका कूटनीतिज्ञ र कर्मचारी फिर्ता गर्ने निर्णय गरेपछि हवाना अमेरिकाविरुद्ध क्रुद्ध बनेको छ । अमेरिका गैरजिम्मेवार बनेको क्युवाले आरोप लगाएको छ । अमेरिकी निर्णयलाई क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिग्युजले ‘अस्वीकार्य’ बताएका छन् ।

अमेरिकी सरकारको कदम अन्यायपूर्ण भएको विदेशमन्त्री रोड्रिग्युजले बताए । कूटनीतिज्ञहरूमाथि भएको कथित हमलाप्रति अमेरिकी सरकारले प्रमाण जुटाउन नसकेको भन्दै कपोलकल्पित र भ्रामक प्रचार नगर्नसमेत क्युवाले अमेरिकासँग अनुरोध गरेको छ । बिरामी भएको बताइएका कूटनीतिज्ञहरू क्युवाका चिकित्सकसमक्ष उपचार गर्न नगएको हवानाले जनाएको छ ।

हवाना र वासिङ्टनबीचको तिक्तता दोहोरियो
पछिल्लो समयमा क्युवा र अमेरिकाबीचको सम्बन्ध थप तिक्ततापूर्ण बनेको छ । पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा ओबामाले विकास गरेका विश्वासको आधार ट्रम्प प्रशासनले भत्काएको छ । अमेरिका भ्रमणमा रहेका लाखौँ क्युवालीको भिसा बीचमै रद्द गरिएको छ । कटुताबीच बढिरहेको सम्बन्ध तोडिने स्थितिमा पुगेको छ । विद्यमान समस्या समाधान गर्न अमेरिकासँग वार्ता गर्न तयार रहेको क्युवा सरकारले दोहोर्‍याएको छ ।

‘हाम्रा कूटनीतिज्ञहरूमाथि भएका हमलाको अनुसन्धानपछि हामी क्युवासँग निरन्तर रूपमा कूटनीतिक सम्बन्ध स्थापना गर्नेछौँ,’ अमेरिकी विदेशमन्त्री रिक्स टिलरसनले भने । कूटनीतिज्ञहरूमाथि गरिएको हमलाबारे आफूहरूलाई अनौठो लागेको उनले बताए ।

अमेरिकी कूटनीतिज्ञलाई रहस्यमय स्वास्थ्य समस्या
क्युवास्थित अमेरिकी दूतावासमा रहेका कम्तीमा २१ जना अमेरिकी नागरिकलाई स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखा परेको अमेरिकाले जनाएको छ । उनीहरूलाई पछिल्लो डेढ महिनादेखि दिमाग दुख्ने, श्रवण शक्ति गुम्ने, धमिलो देख्नेदेखि बारम्बार बान्ता आउने समस्या देखिएको अमेरिकी सरकारले जनाउँदै आएको छ ।

कुटनीतिज्ञहरूमाथि ध्वनिसम्बन्धी हमला भएको बताइएको छ, तथापि त्यसको पुष्टि हुन भने बाँकी नै छ । तर, क्युवाले भने दूतावासका कर्मचारीमाथि आफ्नो देशका तर्फबाट कुनै हमला नगरिएको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७