पर्यटनमन्त्री देवलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौं,१९ असोज : निर्वाचन आयोगले आफ्नो सहमतिबिना नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई सरुवा गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवसँग स्पष्टीकरण माग गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको आयोगको बैठकले पर्यटनमन्त्री देवलाई २४ घन्टाभित्र आयोगमा उपस्थित भई स्पष्टीकरण पेस गर्न आदेश दिएको हो ।
आयोगका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमलाई २०७४ असोज ९ गते आयोगको सहमति बिना नै स्वेच्छमाचारी र बदनीयत ढंगले पर्यटन मन्त्रालयमा गठन भएको कार्यदलमा कामकाज गर्न जिम्मेवारी तोक्ने निर्णय गरी संजिव गौतमलाई पत्र दिइएको देखिएको छ।
आयोगको निर्णयले महानिर्देशकलाई हाजिर हुन पत्र पठाएपछि सोही मितिमा आयोगमा सहमतिका लागि पत्र लेखेको देखिई निर्वाचन आचारसंहिताको अवहेलना हुने गरी गरेको कार्य निर्वाचन आचार संहिता, २०७२ को दफा १० को विपरित भए गरेको पुष्टि हुन आएको हुँदा निर्वाचन आचारसंहित उल्लंघन गरेवापत कारवाही हुन पर्ने हो या होइन २४ घण्टाभित्र जवाफसहित आयोगमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री देवलाई आदेश दिएको छ।
त्यसैगरी आयोगले राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेललाई तत्काल प्युठान जिल्ला छोड्ने व्यवस्था मिलाउन प्युठानका प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको छ।