मान्छेलाई आक्रमण गर्ने बाघलाई बुझ्न सिसी क्यामेरा


१९ आश्विन २०७४, बिहीबार
Tiger

चितवन, असोज १९ (रासस) : पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा मान्छेलाई आक्रमण गर्ने बाघको आनीबानी पत्ता लगाउन दुई वटा उच्चप्रविधिको सिसी क्यामेरा जडान गरिएको छ ।

Tiger

बाघको आक्रमणबाट यही असोज १६ गते यहाँ निउरो टिप्न गएकी कुमरोजकी एलिना चौधरीको मृत्यु भएको थियो । मान्छेलाई आक्रमण गर्ने बाघ घाइते, रोगी हो या बच्चासँगै छ भन्नेबारेमा जानकारी लिन यहाँ क्यामेरा ट्र्यापिङ विधिको प्रयोग गरेर सिसी क्यामेरा जडान गरिएको चितवन निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।

अवस्था पत्ता लगाएपछि नियन्त्रणमा लिनुपर्ने देखिएमा बाघलाई डाट गरेर नियन्त्रणमा लिइने पाठकको भनाइ छ । स्थानीय समुदायको सहभागितामा चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिकको टोलीले कुमरोज वनमा दुई वटा सिसी क्यामेरा जडान गरेको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले जानकारी दिए।

पछिल्लो समयमा गरिएको अध्ययनले पश्चिम चितवनमा एउटै बाघले २० जनालाई आक्रमण गरेको पाइएको छ । सो बाघलाई पनि सिसी क्यामेरा राखेर आनीबानी पत्ता लगाउने प्रयास गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा रहेका १२० बाघमध्ये पाँच प्रतिशत बाघ मात्रै समस्याग्रस्त रहेको अध्ययनमा पाइएको छ । चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकमा गएको आवमा वन्यजन्तुको आक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७