कांग्रेसमा पनि किचलो, देउवाको मनोनयनविरुद्ध पौडेलसहित तीन पदाधिकारीको उजुरी


१ श्रावण २०७७, बिहीबार
Congress Sher bahadur deuwa ramchandra paudel

काठमाडौं, १ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र पार्टी विवाद उत्कर्समा पुगिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पनि अर्को नयाँ कलह देखिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित गर्ने उद्देश्यका साथ विभाग गठन र सदस्यहरु मनोनयन गरेको भन्दै नेपाली कांग्रेसका तीन पदाधिकारीले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले उजुरी दिएका हुन् । महाधिवेशन भएको ६ महिनाभित्र गठन भइसक्नुपर्ने विभागहरु अर्को महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि गठन गर्नु विधान र निर्वाचन आचारसंहिताको उल्लंघन भएको नेताहरुको आरोप छ ।

‘निर्वाचनको सर्वमान्य मान्यता एवं आचारसंहिता विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पर्ने दुराशयबाट समेत प्रेरित भएको हुँदा तत्काल रोक्न र बदर गर्न गराउन पार्टी सभापति र निर्वाचन समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं’ उजुरीमा भनिएको छ ।

विधि र पद्धति मिचेर गठन भएका विभागहरु अस्वीकार गर्ने पौडेल, कोइराला र यादवले बताएका छन् । तीनै नेताले यस्ता मनोनयन र नियुक्तिहरु स्वीकार नगर्न सम्पूर्ण तहका नेता कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।

पौडेल समूहको बहिस्कारका बीच गत पुसमा कांग्रेस केन्द्रीय कार्यसमितिले बहुमतबाट विभागहरु बढाउने निर्णय गरेको थियो । महाधिवेशनको कार्यतालिकाबारे संस्थापन र पौडेल समूहबीच सहमति भएपनि विभागबारे विवाद कायमै थियो ।
यस्तो छ उजुरीपत्र

Nepali congress

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७