सुन लुकाएको आरोपमा दसैंको टीकाकै दिन गरियो हत्या


१८ आश्विन २०७४, बुधबार
muder

काठमाडाैं : सुन तस्करीसम्बन्धी विवादमा रसुवाका एक युवकको हत्या भएको छ । तस्करीको सुन लुकाएको आरोपमा रसुवा घत्लाङका २९ वर्षीय गगन तामाङको दसैँको टीकाको दिन स्वयम्भूमा हत्या भएको हो । हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । केही व्यक्ति फरार रहेकाले घटनाको अनुसन्धान जारी रहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीले जानकारी दिए ।

muder

६ किलो सुन लुकाएको आरोप
६ किलो सुन लुकाएको आरोपमा तामाङको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । चीनबाट रसुवागढी नाका हुँदै ल्याइएको १८ किलो सुन मोटरसाइकलमा लुकाएर बोक्ने जिम्मा तामाङलाई दिइएको थियो । तर, उनले १८ मध्ये १२ किलो मात्र दिई ६ किलो सुन लुकाएको आरोप तस्करीमा संलग्न व्यक्तिहरूले लगाएका थिए । ६ किलो सुनको बजार मूल्य करिब तीन करोड रुपैयाँ पर्दछ ।

सो सुन काठमाडौं ल्याएको दिनदेखि तामाङ सम्पर्कविहीन बनेका थिए । घटनाको दुई दिनअघि तस्करीमा संलग्न समूहका व्यक्तिहरू तामाङलाई खोज्दै रसुवाको घत्लाङस्थित उनको घरमा पुगेका थिए । तर, उनी भेटिएनन् । जति फोन गर्दा पनि भेट्न नमानेपछि उनीहरूले युवती प्रयोग गरेका थिए । एक युवतीले फोन गरेर भेट्न बोलाएपछि मात्र उनी सम्पर्कमा आए । फोन गर्ने युवतीलाई भेट्न गएकै वेला तस्करीमा संलग्न समूहका व्यक्तिले छुरा हानेर उनको हत्या गरेका हुन् ।

हत्या गरेर नाटक
स्वयम्भूको कारखाना चोकबाट सेतो गुम्बा जाने सडकको बीच खण्डमा ढुंगाखानी भन्ने ठाउँ छ । सो सडकखण्डमा मान्छेको आवातजावत त्यति नहुने भएकाले एकान्त छ । दसैँको टीकाको दिन सोही ढुंगाखानीमा एउटा मोटरसाइकल स्ट्यान्ड लगाएर राखिएको थियो, छेउमा एक व्यक्ति टुक्रुक्क बसिरहेका थिए । चाडबाडको समय भएकाले मदिरा पिएर बसेको हुन सक्ने स्थानीयले आकलन गरे । तर, केही व्यक्तिलाई शंकास्पद लागेपछि प्रहरीलाई खबर गरे । प्रहरी गएर बोलाउँदा बोलेनन् । सर्टमा प्वाल थियो । रगत लागेको थियो । ती व्यक्ति गगन तामाङ थिए ।

तामाङको हत्या गरेर उनलाई बसेको जस्तो अवस्थामा राखेर हत्याराहरू भागेका थिए । ‘अन्तै हत्या गरेर त्यहाँ लगेर राखिएको जस्तो देखिन्छ,’ महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर श्रेष्ठ भन्छन्, ‘हत्यापछि सडक छेउमा टुक्रुक्क बसेको जस्तो गरी राखिएको थियो ।’ सो मोटरसाइकल तामाङको थियो । साँचो काखमा भेटिएको थियो । मोबाइल भने थिएन । उनको खल्तीबाट भेटिएको सिमकार्डबाट प्रहरीले उनको सनाखत गरेको थियो । सोही दिन बेलुका अपराध महाशाखाबाट खटिएको टोलीले हत्यामा संलग्न छिरिङ नामक युवकलाई पक्राउ गरेको हो ।

प्रहरीलाई पहिले नै जानकारी
गगनले सुन लुकाएर भागेकोबारे उनका आफन्तले पहिले नै प्रहरीलाई जानकारी गराइसकेका थिए । उनका भिनाजुले नै प्रहरीलाई फोन गरेको स्रोत बताउँछ । रसुवामा सो विषयमा ठूलै हल्लीखल्ली भएको थियो । तस्करीको पोल खुल्ने डरले पनि उनको हत्या भएको हुनसक्ने प्रहरी आशंका छ । घटनामा संलग्न चारजना पक्राउ परे पनि तस्करीको सुन भने बरामद हुन सकेको छैन ।

हालसम्मको अनुसन्धानमा हत्याको योजनाकार तस्करीको बन्दोबस्त मिलाउने रसुवाकै लाप्सा ग्याल्जेन भएको खुलेको छ । उनी पक्राउ परिसकेका छन् । हत्यामा सघाउने रसुवाकै घले थरकी युवतीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सुन तस्करी बढेसँगै भरियाहरूले सुन लुकाउने र चोर्ने घटनासमेत बढेका छन् । त्यस्ता घटनाको प्रहरीमा उजुरी गर्दा आफैँ फस्ने भएकाले उजुरी पनि पर्दैनन् । कतिपय अवस्थामा तस्करीको सुन लुटपाटका घटना प्रहरीकै मिलेमतोमा समेत विवाद मिलाइने गरिएको छ । केही गुन्डाहरूले समेत यस्तो सुन लुट्ने गरेका छन् । गत साता रसुवामा दुई युवक आफूहरू प्रहरी भएको भन्दै सुन रहेको आशंकामा गाडी रोकेर थर्काउँदा प्रक्राउ परेका थिए ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७