नयाँ मोडमा राजनीति : एमाले-माओवादीको चुनाव चिन्ह्र सूर्य, निर्वाचनपछि एकता


१६ आश्विन २०७४, सोमबार
Oli and parchada

राजेश राई
काठमाडौं, असोज १५ :
आइतबार नेकपा (एमाले)का सचिव एंव प्रचार विभागका प्रमुख योगेश भट्टराईले फेसबुकमा स्टाटस लेखे, ‘नेपाली राजनीतिमा ऐतिहासिक क्षण र नयाँ तरंग । थोरै प्रतिक्षा ।’ सचिव भट्टराईको स्टाटसलाई लिएर धेरैले कौतुहलता देखाए । के हो त्यस्तो नयाँ तरंग ? सबैले चासो दिएर खोजबिन गरे । केहीले एमाले र माओवादी केन्द्रबिचको तालमेलको बिषय नै हो भनेर अनुमान लगाए । आइतबार नै माओवादी केन्द्रमा प्रभावशाली मानिने बर्षामान पुन ‘अन्नत’ले रोल्पाको एक कार्यक्रममा एमालेसँग चुनावी तालमेल मात्रै होइन पार्टी नै एकता हुन सक्ने बताए ।

यसपाली पनि एमाले र माओवादी केन्द्रबीचको तालमेल र एकताको प्रसङ्गलाई धेरैले हल्लाको रुपमा मात्रै लिएका थिए । तर, जब दुबै पार्टीको बैठक बसेर तालमेल र एकताबारेमा छलफल सुरु गरियो सबैलाई ‘सरप्राइज’ जस्तै भयो । एमालेले हिजो स्थायी कमिटि बैठक बसेर माओवादी लगायत वाम, प्रगतिशील र राष्ट्रवादी शक्तिबीचसँग तालमेल र एकता गरेर जाने निर्णय गर्यो भने माओवादीले आज सचिवालयको बैठक राखेर एमालेसँग तालमेल र एकताको निर्णय गर्यो । त्यसपछि मात्रै सबैलाई थाहा भयो, त्यो हल्ला मात्रै हाेइन, रहेन । अब कुनै अर्को अबरोध नआए एमाले र माओवादी आगमी निर्वाचनमा एउटै चुनाव चिन्ह्रमा लड्नेछ । चुनावपछि एकता हुनेछ ।

Oli and parchada

माओवादीमा निर्णयको सर्बाधिकार प्रचण्डलाई
सोमबार नेकपा (माओवादी) केन्द्रको सचिवालय बैठकले एमालेसँग पार्टी एकीकरण वा चुनावी तालमेलमा जाने निर्णय गर्यो । बैठकले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दियो । कोटेश्वरस्थित पार्टी मुख्यालयमा आज झण्डै ६ घण्टा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’सँग आवश्यक परामर्शपछि एकता र तालमेलबारे अध्यक्ष प्रचण्डले अन्तिम निर्णय लिनेछन् ।

माओवादी उच्च स्रोतका अनुसार आगमी चुनावमा एमालेसँग तालमेल गरेर जाने चुनावपछि एकता गर्ने तयारी गरेका छन् । ‘आमगी निर्वाचनमा तालमेल गर्ने चुनाव लगत्तै एकता गर्ने गरी वार्ता चलिरहेको छ,’ माओवादीका एक उच्च नेताले भने,‘अर्को केही आइ नलागे अब एमालेसँग तालमेल र एकता नजिक बन्दै गएको छ ।’ स्रोतका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता र तालमेल बारे भएका प्रगति र छलफलको जानकारी गराएका थिए । अधिकांस नेता एकता र तालमेल बारेमा सकरात्मक थिए । तर, नेता गोपाल किरातीले आफूले सूर्य चिन्हमा भोट हाल्न नसक्ने बताएका थिए ।

यता नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि माओवादीसँग एमाले एक भएर जान तयार रहेको बताउदै आएका थिए । स्रोतका अनुसार एमालेले अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम सम्मिलित एकता संयोजन समिति बनाइसकेको छ । आइतबार बसेको स्थायी कमिटि बैठकले औपचारिक रुपमा नै माओवादीसँग तालमेल गर्ने निर्णय गरिसकेको छ ।

यसरी भयो सम्भव
एमाले र माओवादी केन्द्रबिच लामो समयदेखी सम्बन्ध चिसिएको थियो । अध्यक्षद्धय प्रचण्ड र ओलीबिच औपचारिक भेट पनि कम थियो । माओवादी केन्द्रका नेताहरु कांग्रेससँग मिलेर एमालेलाई साइजमा ल्याउने अभियानमा थिए भने एमालेका नेताहरुको पनि माओवादीको अवस्था कमजोर हुदै भन्ने बुझाई थियो । तर, जब स्थानीय तहको नजिता आयो, त्यसले दुबै पार्टीका नेताहरु नयाँ शिराबाट सोच्न बाध्य भए । माओवादी केन्द्रले पनि कांग्रेससँगको सहकार्यमा असुरक्षा महसुश गर्यो भने एमाले नेताहरुले पनि कांग्रेस माओवादीको सहकार्य रहन दिए एमाले समस्यामा फस्ने देखे ।

जब एमाले र माओवादीले एकअर्कासँग मिलेर जाने आवश्यकता महशु गर्यो त्यसपछि सेतुको काम एमाले उपाध्यक्ष बामदेब गौतम र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सुरु गरे । शिर्ष नेताहरुलाई एकै ठाउँ बस्ने अवस्था निर्माण गरीदिए । एमालेबाट नेपालसहित उपाध्यक्षद्वय वामदेव गौतम र भीमबहादुर रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली र योगेश भट्टराईलगायतका नेताहरू सक्रिय भए । माओवादीबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, वर्षमान पुन ‘अनन्त’, अग्नि सापकोटा, टोपबहादुर रायमाझीलगायतका नेताहरू सक्रिय भए ।

एमाले–माओवादीको चुनाव चिन्ह्र सूर्य
उच्चस्रोतका अनुसार एमाले र माओवादी केन्द्रबीच सहमतिको प्रारम्भिक ड्राफ्ट तयार भइसकेको छ । प्रतिनिधिसभा र प्रदेश सभामाको निर्वाचनमा चुनावी गठबन्धन र बढीमा पार्टी एकता गरेर अघि बढ्ने सहमति भएको छ । एमालेको सूर्य चिन्ह्रबाट निर्वाचनमा जाने एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत सिट लिने सहमति भएको उच्च स्रोतको दाबी छ । यस्तै अन्य वाम, प्रगतिशील र राष्ट्रवादी शक्तिबीच चुनावी गठबन्धन बनाउने सहमति भएको छ । गठबन्धन र एकतामा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई पनि ल्याउनका लागि पहल गर्ने सहमति भएको छ । निर्वाचनमा नयाँ शक्ति र फोरमलगायतका शक्तिलाई दिइनेबाहेक बाँकी सिटमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत सिट लिने सहमति भएको छ ।

ठुलै अबरोध आइनलागे भोली सहमति
स्रोतका अनुसार उच्चस्तरीय वार्ता टोलको निर्णायक छलफल भोली हुनेछ । माओवादीबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ र एमालेबाट अध्यक्ष ओली सहित वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल वार्तामा सहभागी हुनेछन् । प्रारम्भिक सहमति भोली आउन सक्ने माओवादी केन्द्रका एक नेताले बताए । उनले भने, ‘रातभरीमा केही नभए भोली राजनीति तरंगित हुने गरी केही सहमति सार्वजनिक हुनेछ ।’

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७