‘सांस्कृतिक सद्भावको निम्ती अभियान चलाउँछु’


१६ आश्विन २०७४, सोमबार
AngKaji Sherpa

आदिवासी जनजातिहरुले दशैं मनाउनु हुन्न मनेर कडा मत राख्ने संघीय समाजवादी फोरम नेपालका नेता आङ्गकाजी शेर्पा दशैं पर्वको कडा आलोचक हुन् । राज्यले आदिवासी जनजातिहरुको संस्कृतिलाई दबाउन दशैं पर्वलाई हतियारको रुपमा प्रयोग गरेको भन्दै चर्को आलोचना गर्दे आएका थिए, शेर्पाले । तर, तिनै शेर्पा यसपालीको दशैंमा फरक रुपमा देखिए । सधैंका दशैंमा चर्को दशैंकाे नै आलोचना लेखेर बस्ने शेर्पाले यसपालीको दशैंमा धेरैलाई अचम्भित बनाए । दशैंको टिकाको दिन बिहानैदेखी आफ्नो नीजि गाडी लिएर सडकमा निस्किए । गन्तव्यसम्म लगीदिन्छु भन्दै आफ्नो गाडीमा चढ्न अनुरोध गरे । 

आफन्ता कहाँ टिका लगाउन जानेहरुलाई दशैंको शुभकामना बाढ्दै गन्तव्यसम्म निशुल्क लगिदिए । बाटोमा गाडी नपाएर अलपत्र परेकाहरुलाई ‘कहाँ जाने हो ?’ म पुर्‍याएर दिन्छु भन्दा धेरै अचम्भित भए । मञ्चमा निकै आक्रमक देखिने शेर्पा सडकमा शालिन रुपमा सेवामा जुटेको देख्दा धेरैलाई ‘सरप्राइज’ नै भयो । आखिर किन त शेर्पा यसरी ‘यूर्टन’ भए ? ‘सांस्कृतिक सद्भावको लागि सुरु गरे,’ शेर्पाले नयाँ पेजसँग भने, ‘अब अभियान नै चलाउँछु ।’ शेर्पासँग गरिएको  कुराकानी :-

AngKaji Sherpa

दशैं मान्नेलाई सघाउन अभियान नै सुरु गर्नुभयो नी किन ?

  • नेपालमा बिभिन्न धर्म र संस्कृतिप्रति आस्था राख्नेहरु छौं । दशैं मान्नेहरु पनि छन् । हामी नमान्नेहरु पनि छौं । हिन्दुहरुले दशैं मनाइरहदा हामी फुर्सदिला हुन्छौं । निकै लामो बिदा भएकोले पट्यार लाग्दो नी हुन्छ, हामीलाई । सबै बिदा हुन्छ । गएका दशैंहरुमा मैले काठमाडौंको सडकमा गाडी नपाएर धेरै अलपत्र परेको अवस्थामा भेटेको थिए । टिकाको दिन सार्वजनिक गाडी चल्दैन । आफ्ना नीजि सवारी साधन नहुने सर्वसाधरणहरुले निकै ठुलो सास्ती सहनुपर्छ । गाडी नपाउदा आफ्ना आफन्ता कहाँ पुग्न धेरै समस्या भइरहेको हुन्छ । मैले तथ्यलाई मध्यनजर गरेर यो अभियान सुरु गरेको हुँ । सामाजिक तथा संस्कृतिक सद्भाव पनि हुने । मानवीय सेवा पनि हुन्छ । कम्तीमा हामी जस्ता दशैं नमनाउनेले मनाउनेहरुलाई सहयोग गरेर सांस्कृति सद्भाव पनि बढाऔं भनेर पनि हो ।

दशै टिकाको दिन कहाँ कहाँसम्म पुर्‍याइदिनुभयो ?

 

  • टिकाको साइत सुरु हुन साथ म गाडी लिएर सडकमा निस्किएँ । साइतको समयदेखी बेलुकी ५ सम्म सेवा सञ्चालन गरे । मैले कपनदेखी पेप्सीकोला, काँडाघारी, जोरपाटी, धुम्बारही, बुढानिलकण्ठ लगायतका ठाउँमा पुर्‍याइदिए । बेलुकीसम्मा १० टिप गरे । १० टिपमा करिब ६०/७० जनालाई गन्तव्यमा पुर्‍याए ।

यो अभियान चलाएर खास के सन्देश दिन खोज्नु भएको हो ?

  • मैले सामाजिक र सांस्कृतिक सद्भावका लागि हो यो अभियान सुरु गरेको । मैले लामो समय हङकङको ब्रिटिस गोरखा सैनिकहरुको स्कुलमा काम गरे । त्यहाँ छदा चाइनिजहरुको पर्व भएको बेला गोरखा सैनिकहरुले चाइनिजहरुलाई सहयोग र सेवा गर्दथे । गोरखा सैनिकहरुको पर्वको बेला चाइनिजहरुले सहयोग गर्दथे । एकले अर्काको चाडपर्वमा सहयोग गर्दा सहज हुन्थ्यो । तर, हामी कहाँ त्यस्तो छैन । दशैंको बेला हेर्नुहोस् सार्वजनिक यातायातको साधन सञ्चालन हुदैन । धनीहरुले पो नीजि सवारी चढ्छ । नीजि सवारी नभएकाहरुले असाध्यै सास्ती खेप्नुपर्छ । हामी जस्ता दशैं नमान्नेहरुले सेवा गरीदिए धेरै सहज हुन्छ । मैले अभियान सुरु गरेपछि धेरै साथीहरुले यो अभियानमा साथ दिने बताउनुभएको छ । अर्को सालदेखी हामी समुह नै बनाएर अभियान चलाउछौं । एउटा कल सेन्टर नै स्थापना गर्नेछौं । कसलाई अप्ठ्यारो पर्छ, त्यो कल सेन्टरमा फोन गर्नुहुनेछ । हामी कम्तीमा ५० ६० जनाको समुह नै बनाएर यो अभियान चलाउनेछौं । अन्य समुदायकाले यसरी नै छट, ल्होसार, उद्यौली, उभौली, जितिया पर्वमा सहयोग गरेमा हामीबिचको सद्भाव पनि बढ्छ ।

तपाईले यो काम गरिसकेपछि कस्तो प्रतिक्रिया पाउनुभयो ?

  • असाध्यै राम्रो प्रतिक्रिया पाएको छु । यो अभियानमा सामेल हुने चाहना धेरै साथीहरुले जनाउनुभएको छ । यात्रुहरु सुरुमा त म गन्तव्यमा लगीदिन्छु भन्दा पत्याएनन् । छक्क परे । मैले पैसा चाहिन्न, म गन्तव्यसम्म पुर्‍याइदिन्छु भन्दा अप्ठ्यारो माने । तर, पछि आफ्नो उद्देश्य बारेमा बताएपछि सबै खुसी भए । दंग परे । बाटोमा गफ गर्दै शुभकामना आदनप्रदान गर्यौं । बाहिर साथीहरुले पनि राम्रो प्रतिक्रिया दिनुभएको छ । दशैं मनाउने समुदायको पनि राम्रो प्रतिक्रिया पाइरहेको छु । सांस्कृतिक सद्भावको पक्षमा मैले सुरु गरेको यो अभियानले सकारात्मक सन्देश दिएको छ भन्ने लाग्छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७