देवनारायणलाई रिहाइको पहल गर्न सप्तरीका सीडीओलाई गृहमन्त्रीको निर्देशन


१६ आश्विन २०७४, सोमबार
sarma yadavगृहमन्त्री जनार्दन शर्मा

 

 

काठमाडौं: गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सप्तरी तिलाठीका देव नारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीको नियन्त्रणबाट रिहाईको पहल थाल्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

sarma yadavगृहमन्त्री जनार्दन शर्मा

उनले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेलाई टेलिफोन गरी भारतीय अधिकारीहरुसँग समन्वय गरी यादवद्वयलाई यथाशिघ्र नियन्त्रण मुक्त गर्न निर्देशन दिएका हुन् । प्रमुख जिल्ला अधिकारीको स्तरबाट रिहाई नभए सरकारले कुटनीतिक पहल सुरु गर्ने गृहमन्त्री शर्माको भनाइ छ ।मन्त्री शर्माले भने, भारतका प्रहरी प्रशासनसँग समन्वय गरेर जतिसक्दो छिटो रिहा गर्न भनेको छु । यदि त्यसरी भएन भने सरकारले कुटनीतिक पहल सुरु गर्छ ।

भारतीय प्रहरीले देवनारायण र उनको छोरा अजयलाई दुई दिनदेखि नियन्त्रणमा लिएर राखेको छ । देवनारायणको छोरा अजयले भारतीय युवतीसँग बिहे गरेको तर, भारतीय पक्षले युवतीलाई अपहरण गरेको भन्दै उजुरी गरेपछि भारतीयले उनीहरुलाई पक्रेको बताइएको छ । यादव बाबुछोरालाई सुपौल जिल्लाको बीरपुर थानामा राखिएको छ ।

एक बर्ष अघि सप्तरीको दक्षिण सीमावर्ती तिलाठी नजिकै दशगजा क्षेत्रमा रहेको खाँडो नदीमा भारतीयहरुले जबर्जस्ती बाँध बनाएपछि उनकै नेतृत्वमा नेपालीहरुले प्रतिरोध गरेका थिए । भारतको बिहार राज्य अन्र्तगत सुपौल जिल्लाको कुनौली गाउँ पञ्चायत प्रशासनले नेपालका आधा दर्जन बढी गाविस डुबानमा पार्ने गरी बाँध बनाएपछि प्रतिरोध गरिएको हो । यादवलाई भारतीय प्रहरीले उनले प्रतिरोध गरेको खाँडो नदीको ठिक पारिपट्टीको बजार कुनौलीबाट शनिबार पक्राउ गरेको हो ।

देवनारायणका छोरा अजयले भारतीय युवतीसँग हालै बिहे गरेका छन् । केटी पक्षले अपहरण गरेको भन्दै उजुरी गरेपछि यादव बाबुछोरालाई पक्रेर अनुसन्धान थालेको भारतीय प्रहरीको भनाइ छ । तर तिलाठीका बासीन्दाले भने यसलाई भारतीयको अतिक्रमणको विरोध गर्दै आएका यादवलाई फसाउन खोजिएको षडयन्त्रको रुपमा लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७