‘सिमा रक्षक’ देवनारायण यादव भारतीय जेलमा
राजेश राई
काठमाडौं : सप्तरीको दशगजा क्षेत्रमा भारतीय अतिक्रमण र हस्तक्षेप विरुद्ध लड्दै आएका देवनारायण यादवलाई भारतीय सुरक्षकर्मीले पक्राउ गरेका छन् । सप्तरी तिलाठी–४ का यादवलाई भारतीय प्रहरीले सप्तरी तिलाठीको सिमावर्ती भारतीय बजार कुनौलीबाट शनिबार साँझ पक्राउ गरेर सिधैं जेल चलान गरेको हो ।
एक बर्ष अघि सप्तरीको दक्षिण सीमावर्ती तिलाठी नजिकै दशगजा क्षेत्रमा रहेको खाँडो नदीमा भारतीयहरुले जबर्जस्ती बाँध बनाएपछि उनकै नेतृत्वमा नेपालीहरुले प्रतिरोध गरेका थिए । भारतको बिहार राज्य अन्र्तगत सुपौल जिल्लाको कुनौली गाउँ पञ्चायत प्रशासनले नेपालका आधा दर्जन बढी गाविस डुबानमा पार्ने गरी बाँध बनाएपछि प्रतिरोध गरिएको हो । यादवलाई भारतीय प्रहरीले उनले प्रतिरोध गरेको खाँडो नदीको ठिक पारिपट्टीको बजार कुनौलीबाट शनिबार पक्राउ गरेको हो ।
नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष प्रकाश खतिवडाका अनुसार भारतीय प्रहरीले यादवका छोरालाई शनिबार कुनौली बजारमा हो-हल्ला गरेको भन्दै पक्राउ गरेका थिए । भारतीय प्रहरीले छोरालाई पक्राउ गरेपछि यादव छोरालाई पक्राउ पर्नुको कारण बुझ्न कुनौली पुगेका थिए । तर, प्रहरीले छोरा पक्राउ पर्नुको कारण बताउनुको साटो यादवलाई पक्राउ गरेर जेल चलान गरेका गरेको छ । पत्रकार खतिवडाका अनुसार एक वर्ष अघिको तिलाठी घटनाको झुटो मुद्दामा उनलाई पक्राउ गरी बीरपुर जेल पठाइएको छ ।
के हो एक बर्ष अघिको घटना ?
एक बर्ष अघि भारतीयहरुले खाँडो नदीमा बाध बाँधेपछि तिलाठी, सकरपुरा, रम्पुरा मल्हनीयासहितका गाविस डुबानमा परेको थियो । सो बाँध भारतीय प्रहरी, सीमा सुरक्षा बल (एसएसबी) र कुनौलीका स्थानीय बासिन्दाले नेपाली भुमी मिचेर बनाएका थिए । आधा दर्जन बढी गाविस डुबानमा परेपछि हजारौं नेपालीहरु विस्थापित हुने अवस्था निर्माण भएको थियो । यसपछि यादवकै नेतृत्वमा नेपालीहरुले बाँध भत्काइदिएका थिए । बाँध भत्काउने क्रममा भारतीय र नेपालीबिच दोहोरो झडप भएको थियो । झडपमा भारतीयहरु सहित ८ नेपाली घाइते भएका थिए । झडपमा यादव पनि गम्भिर घाइते भएका थिए । उनको टाउकोमा ८ टाँका लागेको थियो ।
घाइते यादवलाई एमाले नेता ठाकुर गैरेको नेतृत्वमा रहेका ‘राष्ट्रिय स्वाभिमानका लागि युवा अभियान’ नेपाल नामक संस्थाले काठमाडौं ल्याएर उपचार गरेर सम्मान समेत गरेको थियो । भारतीय अतिक्रमण विरुद्धको योद्धाका रुपमा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चर्चित यादव त्यही घटनाबाट भारतीय प्रशासनको तारो बनेका थिए । भारतीय प्रहरीले घटनाको प्रमुख दोषीको रुपमा यादवलाई राखेर प्रतिशोध राखेको थियो । उनलाई त्यही एक बर्षअघिको मुद्दामा फसाइएको स्थानीय मानवअधिकारकर्मीहरुले बताएका छन् ।
को हुन् देवनारायण ?
०१५ सालमा तिलाठीमा जन्मिएका देवनारायण २०२८ सालदेखि राजनीति र समाजवेसामा सक्रिय छन् । ०४८ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र रुपमा वडा सदस्य जितेका थिए । यसपछि कांग्रेसका राजनीति लामो समय गरेका थिए । सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय संजाल सप्तरीका अध्यक्ष भएपछि सिमावर्ती क्षेत्रका समस्यासँग नजिक भए ।
भारतीयहरुले सीमा क्षेत्रमा नेपालीहरुलाई गर्ने हेपाहा व्यवाहार बिरुद्ध उनी निरन्तर लड्दै आएका थिए । उनकै नेतृत्वमा पटक पटक भारतीयहरु बिरुद्ध नेपालीहरुले लडेका थिए । तर, उनी चर्चामा गत बर्ष १३ साउनको घटनापछि आए । खाँडो नदीमा भारतीय प्रहरी, सीमा सुरक्षा बल (एसएसबी) र कुनौलीका स्थानीय बासिन्दाले बनाएको बाँध उनकै नेतृत्वमा भत्काइयो । भारतीयहरु घाइते हुने गरी सिमाबाट खेद्ने काम समेत भयो । भारतीयहरुले नै नेपालीहरुको आक्रमणबाट आफ्ना नागरिक घाइते भएको बताएका थिए । त्यही घटनाबाट चर्चामा आएका यादवलाई सरकारले जनसेवाश्रीबाट सम्मान समेत गरेको थियो । यादवलाई ‘सिमा रक्षक’ को रुपमा सबैतिरबाट सम्मान समेत भएको थियो ।
भारतीय प्रतिशोधको शिकार
नेपालीहरुको प्रतिरोधमा केही भारतीयहरु घाइते भएपछि यादव लगायत नेपालीहरु भारतीय प्रहरी र प्रशासनको तारो भएका थिए । उनलाई भारतीय अधिकारीले पटक पटक समेत धम्काएका थिए ।१३ साउन २०७४ को घटनापछि दोहोरो भिडन्तको खतरा भएपछि नेपाल र भारतका अधिकारीबीच भएको छलफलले बाँध निर्माण कार्य रोक्ने सहमति भएको थियो ।
नेपालबाट जलउत्पन्न प्रकोप व्यवस्थापन विभाग र भारतका जनसंशाधन विभागका अधिकारीबीचको वार्ताले भारतीय पक्षबाट गल्ती भएको भन्दै घटनाको अध्ययन गर्ने समेत सहमती भएको थियो । घटनामा १२ जना नेपालीहरु घाइते भएका थिए । तर, नेपालीलाई घाइते बनाउने भारतीयहरुलाई भने नेपाल प्रहरीले कुनै त्यस्तो कानुनी कारबाहीको दायारामा ल्याएको थिएन । तर, भारतीयहरु विरुद्ध प्रतिरोध गर्ने यादवलाई भने त्यही मुद्दामा फसाइएको छ । ‘देवनारायणलाई गत बर्षको प्रतिशोधको कारण नै पक्राउ गरेर झुटा मुद्दा लगाइएको हो,’ खतिवडा भन्छन्, ‘छोराको अवस्था बुझ्न जादा पक्राउ गरेर सिधै जेल पठाउनु यो भन्दै हेपाहा काम के हुदैन ।’