‘सिमा रक्षक’ देवनारायण यादव भारतीय जेलमा


१६ आश्विन २०७४, सोमबार
Dev Naryan Yadav

राजेश राई
काठमाडौं : सप्तरीको दशगजा क्षेत्रमा भारतीय अतिक्रमण र हस्तक्षेप विरुद्ध लड्दै आएका देवनारायण यादवलाई भारतीय सुरक्षकर्मीले पक्राउ गरेका छन् । सप्तरी तिलाठी–४ का यादवलाई भारतीय प्रहरीले सप्तरी तिलाठीको सिमावर्ती भारतीय बजार कुनौलीबाट शनिबार साँझ पक्राउ गरेर सिधैं जेल चलान गरेको हो ।

Dev Naryan Yadav
देवनारायण यादव । फाइल : तस्बिर

एक बर्ष अघि सप्तरीको दक्षिण सीमावर्ती तिलाठी नजिकै दशगजा क्षेत्रमा रहेको खाँडो नदीमा भारतीयहरुले जबर्जस्ती बाँध बनाएपछि उनकै नेतृत्वमा नेपालीहरुले प्रतिरोध गरेका थिए । भारतको बिहार राज्य अन्र्तगत सुपौल जिल्लाको कुनौली गाउँ पञ्चायत प्रशासनले नेपालका आधा दर्जन बढी गाविस डुबानमा पार्ने गरी बाँध बनाएपछि प्रतिरोध गरिएको हो । यादवलाई भारतीय प्रहरीले उनले प्रतिरोध गरेको खाँडो नदीको ठिक पारिपट्टीको बजार कुनौलीबाट शनिबार पक्राउ गरेको हो ।

नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष प्रकाश खतिवडाका अनुसार भारतीय प्रहरीले यादवका छोरालाई शनिबार कुनौली बजारमा हो-हल्ला गरेको भन्दै पक्राउ गरेका थिए । भारतीय प्रहरीले छोरालाई पक्राउ गरेपछि यादव छोरालाई पक्राउ पर्नुको कारण बुझ्न कुनौली पुगेका थिए । तर, प्रहरीले छोरा पक्राउ पर्नुको कारण बताउनुको साटो यादवलाई पक्राउ गरेर जेल चलान गरेका गरेको छ । पत्रकार खतिवडाका अनुसार एक वर्ष अघिको तिलाठी घटनाको झुटो मुद्दामा उनलाई पक्राउ गरी बीरपुर जेल पठाइएको छ ।

Dev Naryan
भारतीय प्रहरीले हत्कडी लगाएको अवस्थामा यादव । तस्बिर : मिथलेस चौरसियाको फेसबुकबाट

के हो एक बर्ष अघिको घटना ?

एक बर्ष अघि भारतीयहरुले खाँडो नदीमा बाध बाँधेपछि तिलाठी, सकरपुरा, रम्पुरा मल्हनीयासहितका गाविस डुबानमा परेको थियो । सो बाँध भारतीय प्रहरी, सीमा सुरक्षा बल (एसएसबी) र कुनौलीका स्थानीय बासिन्दाले नेपाली भुमी मिचेर बनाएका थिए । आधा दर्जन बढी गाविस डुबानमा परेपछि हजारौं नेपालीहरु विस्थापित हुने अवस्था निर्माण भएको थियो । यसपछि यादवकै नेतृत्वमा नेपालीहरुले बाँध भत्काइदिएका थिए । बाँध भत्काउने क्रममा भारतीय र नेपालीबिच दोहोरो झडप भएको थियो । झडपमा भारतीयहरु सहित ८ नेपाली घाइते भएका थिए । झडपमा यादव पनि गम्भिर घाइते भएका थिए । उनको टाउकोमा ८ टाँका लागेको थियो ।

घाइते यादवलाई एमाले नेता ठाकुर गैरेको नेतृत्वमा रहेका ‘राष्ट्रिय स्वाभिमानका लागि युवा अभियान’ नेपाल नामक संस्थाले काठमाडौं ल्याएर उपचार गरेर सम्मान समेत गरेको थियो ।  भारतीय अतिक्रमण विरुद्धको योद्धाका रुपमा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चर्चित यादव त्यही घटनाबाट भारतीय प्रशासनको तारो बनेका थिए । भारतीय प्रहरीले घटनाको प्रमुख दोषीको रुपमा यादवलाई राखेर प्रतिशोध राखेको थियो । उनलाई त्यही एक बर्षअघिको मुद्दामा फसाइएको स्थानीय मानवअधिकारकर्मीहरुले बताएका छन् ।

Dev Narayn Yadav
एक बर्षअघि काठमाडौंमा सम्मानित हुदै यादव

को हुन् देवनारायण ?
०१५ सालमा तिलाठीमा जन्मिएका देवनारायण २०२८ सालदेखि राजनीति र समाजवेसामा सक्रिय छन् । ०४८ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र रुपमा वडा सदस्य जितेका थिए । यसपछि कांग्रेसका राजनीति लामो समय गरेका थिए । सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय संजाल सप्तरीका अध्यक्ष भएपछि सिमावर्ती क्षेत्रका समस्यासँग नजिक भए ।

भारतीयहरुले सीमा क्षेत्रमा नेपालीहरुलाई गर्ने हेपाहा व्यवाहार बिरुद्ध उनी निरन्तर लड्दै आएका थिए । उनकै नेतृत्वमा पटक पटक भारतीयहरु बिरुद्ध नेपालीहरुले लडेका थिए । तर, उनी चर्चामा गत बर्ष १३ साउनको घटनापछि आए । खाँडो नदीमा भारतीय प्रहरी, सीमा सुरक्षा बल (एसएसबी) र कुनौलीका स्थानीय बासिन्दाले बनाएको बाँध उनकै नेतृत्वमा भत्काइयो ।  भारतीयहरु घाइते हुने गरी सिमाबाट खेद्ने काम समेत भयो । भारतीयहरुले नै नेपालीहरुको आक्रमणबाट आफ्ना नागरिक घाइते भएको बताएका थिए । त्यही घटनाबाट चर्चामा आएका यादवलाई सरकारले जनसेवाश्रीबाट सम्मान समेत गरेको थियो । यादवलाई ‘सिमा रक्षक’ को रुपमा सबैतिरबाट सम्मान समेत भएको थियो ।

Sapthari Tiladi
भारतीय बिरुद्ध उनको नेतृत्वमा तिलाठीमा भएको प्रतिरोध

भारतीय प्रतिशोधको शिकार

नेपालीहरुको प्रतिरोधमा केही भारतीयहरु घाइते भएपछि यादव लगायत नेपालीहरु भारतीय प्रहरी र प्रशासनको तारो भएका थिए । उनलाई भारतीय अधिकारीले पटक पटक समेत धम्काएका थिए ।१३ साउन २०७४ को घटनापछि दोहोरो भिडन्तको खतरा भएपछि नेपाल र भारतका अधिकारीबीच भएको छलफलले बाँध निर्माण कार्य रोक्ने सहमति भएको थियो ।

नेपालबाट जलउत्पन्न प्रकोप व्यवस्थापन विभाग र भारतका जनसंशाधन विभागका अधिकारीबीचको वार्ताले भारतीय पक्षबाट गल्ती भएको भन्दै घटनाको अध्ययन गर्ने समेत सहमती भएको थियो । घटनामा १२ जना नेपालीहरु घाइते भएका थिए । तर, नेपालीलाई घाइते बनाउने भारतीयहरुलाई भने नेपाल प्रहरीले कुनै त्यस्तो कानुनी कारबाहीको दायारामा ल्याएको थिएन । तर, भारतीयहरु विरुद्ध प्रतिरोध गर्ने यादवलाई भने त्यही मुद्दामा फसाइएको छ ।  ‘देवनारायणलाई गत बर्षको प्रतिशोधको कारण नै पक्राउ गरेर झुटा मुद्दा लगाइएको हो,’ खतिवडा भन्छन्, ‘छोराको अवस्था बुझ्न जादा पक्राउ गरेर सिधै जेल पठाउनु यो भन्दै हेपाहा काम के हुदैन ।’

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७