आज दशैंको महानवमी, सिद्धिदात्री भगवतीको पूजाआराधना गरिँदै
काठमाडौं : आज दशैंको नवौं दिन घर–घरमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ ।
काठमाडौं हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणलाई दर्शनका लागि वर्षमा एक दिन आज मात्र खोलिन्छ । हनुमानढोका दरबारका साथै सेनाका ब्यारेकहरूमा बाजागाजासहित बलि दिएर जंगी निशान र कोत पूजा गर्ने चलन पनि छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ ।
पशुबलि नदिनेहरूले भने आज कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।
नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूर्ण निष्ठाका साथ साधना गर्नेहरूमा सिद्धिदात्रीको आशिर्वाद प्राप्त हुने विश्वास छ । भगवान शिवले उनकै आराधना गरेर सिद्धि प्राप्त गरेको धार्मिक विश्वास छ । सोही कारण उनको आधा शरीर देवीको भएको र उनी अर्धनारिश्वर नामबाट प्रसिद्ध भएको धार्मिक मान्यता पनि छ ।
भारत हिमाचलको नन्दा पर्वतमा सिद्धिदात्रीको प्रसिद्ध तीर्थस्थल पनि छ । दायाँतर्फको तल्लो हातमा चक्र, माथिल्लोमा गदा, बायाँतर्फको तल्लो हातमा शंख, माथिल्लोमा कमल बोकेकी सिंहमा सवार देवीलाई सिद्धिदात्रीका रुपमा चिन्ने गरिन्छ ।