गोर्खाल्याण्ड आन्दोलन स्थगित


११ आश्विन २०७४, बुधबार
Bimal Gurung

नयाँ दिल्ली, ११ असोज :  विगत सय दिनभन्दा बढी अवधिदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ्ग बन्दको कार्यक्रम आन्दोलनकारीहरुले फिर्ता लिएका छन् । भारतको केन्द्रिय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

Bimal Gurung
दार्जिलिङ्ग बन्द स्थगित भएपछि पहाडकी रानी भन्ने नामबाट परिचित दार्जिलिङ्ग र आसपासका सबै ठाउँका जनजीवन बुधबार बिहानदेखि पहिलाजस्तै सामान्य र सुचारु भएको छ । पश्चिम बङ्गालबाट टुक्रिई दार्जिलिङ्ग र आसपासका क्षेत्रलाई एक छुट्टै राज्य – गोर्खाल्याण्डको स्थापना हुनुपर्ने मुख्य माग राख्दै दार्जिलिङ्गको गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा एकसय दिनभन्दा बढीसम्म लगातार जनआन्दोलन चलिरहेको थियो ।

गोर्खा जनमुक्ति मोर्चाका प्रमुख नेता बिमल गुरुङ्गले पार्टीका अन्य नेताहरुसँग सल्लाह गरी एक रेडियो वक्तव्यमार्फत् अनिश्चित कालसम्मका लागि आन्दोलन र बन्दको कार्यक्रम फिर्ताको घोषणा गरेका जनाइएको छ । दशैं तिहारजस्ता ठूला चहाड, पर्वलाई ध्यानमा लिई सामाजिक शान्ति र सद्भाव कायम राख्न आन्दोलन स्थगित गरिएको जनाइएको छ ।

गत मङ्गलबार केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले आन्दोलनरत नेताहरुलाई प्रजातान्त्रिक राष्ट्रमा जस्तोसुकै गम्भीर राजनीतिक समस्या पनि वार्ताद्वारा समाधान निकाल्न सकिनेू भन्दै आन्दोलन र बन्दका कार्यक्रम फिर्ता लिन आह्वान गर्नु भएको थियो ।

गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ्ग बन्द गत एकसयचार दिनदेखि चल्दै आइ त्यहाँको जीवन कष्टकर बन्दै आइरहेको थियो । आन्दोलन र बन्दको अवधिमा हिंसा भड्किँदा एघार जनाको ज्यान गएको र थुप्रै सङ्ख्यामा आन्दोलनकारीहरु घाइते भएका थिए । यसै अवधिमा ब्यापारिक र पर्यटकिय गतिविधि ठप्प हुँदा दार्जिलिङ्गले ठूलो आर्थिक क्षतिसमेत बेहोर्नु परेको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७