धरानलार्इ प्रदेशकाे राजधानी बनाउने पूर्ण प्रयासमा छौँ : प्रदिप भण्डारी


१८ मंसिर २०७४, सोमबार
nawraj bahndari

सङ्खुवासभाको चन्दनपुरमा २०१२ सालमा जन्मिएका प्रदिप भण्डारीको कर्मथलो भने सुनसरीको धरान हुन गयो । धरानको शिक्षा सदन माविमा करिब ३७ वर्ष सेवा गरेका भण्डारीको नाम शिक्षा क्षेत्रसँगै राजनीतिमा पनि अग्रणीरुपमा आउँछ । २०२७ सालदेखि नै विद्यार्थी राजनीति सुरु गरेका भण्डारी २ वर्षअघि सहायक प्रअबाट अवकास लिएपछि पुर्णरुपमा राजनीतिमार्फत समाज सेवामा समर्पित छन् । आफ्नो ६२ वर्षे जीवनकालमा उनले मजदुर आन्दोलन, शैक्षिक आन्दोलनलगायतका विभिन्न राजनीतिक मोर्चामा सक्रिय रहदै जेलनेल पनि भोगेका भण्डारी हाल नेकपा एमाले सुनसरी जिल्ला सचिवालय सदस्य तथा धरान उपमहानगरपालिका कमिटीका इञ्चार्जको जिम्मेवारीमा छन् । भण्डारी यही मङ्सिर २१ गतेको प्रदेश सभा निर्वाचनमा सुनसरी क्षेत्र नं १ प्रदेशसभा क बाट बाम गठबन्धनको उम्मेदवार छन् । यसै सेरोफेरोमा प्रदेसभा क उम्मेदवार भण्डारीसँगको वार्तालाप प्रस्तुत गरिएको छ :

nawraj bahndari

१. चुनावी अभियान कसरी अगाडी बढ्दै छ ?
विषेशतःमतदाताको घरघरमै पुगेर मत माग्ने,उहाँहरुका गुनासा सुन्ने काम गरिरहेका छौ । वाम गठबन्धनका उमेद्धारसँग जनताको धेरै अपेक्षा र विश्वास छ । घरदैलोमा जाँदा गुनासोहरु सुन्ने र बुझ्ने काम भइरहेको छ, जनताका गुनासालाई आत्मसात गरिरहेको छु । अहिले तत्काल समाधान हुने कुरा छ भने तत्काल पहल पनि गरिरहेको छुँ । स्थानीय सरकार हाम्रो नेतृत्वमा छ । म जुन ठाउँमा पुग्छु त्यही ठाउबाट सम्बोधन गर्ने प्रण गरेको छु ।

२. तपाईको उमेद्धारी किन र केका लागि हो ?
मेरो उमेद्धारी भनेको धरानको समग्र विकासका लागि हो । धरानको विकास गर्ने सवालमा एमालेले जसरी पाँच बर्ष , २० वर्षे भिजन बनाएको छ त्यो भिजनलाई पुरा गर्नु छ । अरू कुनै पनि दलले धरानको विकासका लागि चुनावको बेला घोषणा पत्र बनाउने बाहेक अरू कुनै योजना बनाएको सुन्नमा आएको छैन र अरूले बनाएको पनि छैन । एमालेले बनाएको भिजन अनुसार नै आज धरानको विकास भईरहेको छ ।  अरू दलको घोषणा पत्रका कतिपय बुदाहरु एमालेका योजनाहरुलाई घुमाउरो पारामा कपी गरेका छन् । हामीले ल्याएको विस्तृत भिजनको सफल कार्यान्यन गर्न मेरो उमेद्धारी हो ।

२. तपाईहरूको भिजनमा के छ ?
पहिलो कुरा त धरानको विकासको मुद्दा हो । धरानका सेउती,सर्दु,खहरे जस्ता खोलाहरुको नियन्त्रण गर्ने,धरानमा विमानस्थल बनाउने ,धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै सुविधा सम्पन्न धरान सिटी हस्पिटल बनाउने, धरानको वडा नम्बर ६ मा औधोगिक ग्राम बनाउने, धरानको खानेपानी समस्यालाई  दीर्घकालिनरुपमा समाधान गर्ने, रिङरोड बनाउने, विश्वविद्यालय स्थापना गरेर यहाँका मातृभाषाहरुको पठनपाठन सञ्चालन गर्ने,धरानलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने,धरानको २० नम्बर वडामा पर्ने विष्णुपादुकालाई कृर्षि उत्पादनको नमुना क्षेत्र बनाउने जस्ता विविध बिषयहरुलाई समेटेर दीर्घकालनी भिजन तयार गरेका छौ ।
 ३. तपाईहरुले भन्नु भएको विषयहरू त कतिपय केन्द्रीय सरकारबाट मात्र हुने देखिन्छ,  सम्भव होला ?
यहाँ धरानबासीले बुझ्नपर्ने के छ भने अहिले हामी वाम गठबन्धनको तर्फबाट उमेद्धारी दिएका छौ । देशैभरि वाम गठबन्धनको माहौल बनेको छ । यो गठबन्धनको उद्देश्य भनेको अब वाम गठबन्धनले केन्द्र, प्रदेश र स्थानीय तहमा आफ्नै सरकार बनाउने हो । धरान उपमहानगरमा एमालेले स्थानीय सरकारको नेतृत्व गरेको । अब प्रदेशमा पनि वाम गठबन्धनकै सरकार र केन्द्रमा पनि बन्नेछ । त्यसो हुँदा मैले भनेको धरानका धेरै योजनाहरू पुरा गर्न हामीलाई कुनै समस्या पर्दैन ।
केन्द्रीय सरकारको लागि धरानबाट वाम गठबन्धनका तर्फबाट जयकुमार राईले उमेद्धारी दिनु भएको छ । प्रदेश सभामा क्षेत्र नम्बर १ को (क) बाट मेरो र (ख) बाट एमालेका सचिव तथा पूर्व मन्त्री भीम आचार्य उमेद्धार हुनुहुन्छ । अझ भनौ भीम आचार्य त प्रदेश नं १ को मुख्यमन्त्री नै हुने लगभग पक्का छ । त्यसैले स्थानीय,प्रदेश र केन्द्रय सरकारमा धरानको सिधा पहुच बन्ने हुनाले धरानबासीले वाम गठबन्धनलाई मत दिन आवश्यक छ । पाहुनाको रुपमा आएका उमेद्धारले धरानको लागि केही गर्छ भन्ने आस गर्नु बेकार हुन्छ ।

४. धरानमा वाम गठबन्धनको अवस्था चै कस्तो छ ?
मलाई लाग्छ वाम गठबन्धनको धरानको जस्तो सुमधुर र सौहार्द पूर्ण अवस्था अन्यत्र विरलै होला । वाम गठबन्धनका नेता,कार्यकर्ता र उमेद्धारहरु अरू सबै कुरा छाडेर अब धरानको विकास गर्न लागि पर्नु भएको छ । सिङ्गो देशलाई नै विकास गर्ने महान् अभियानमा धरानका बाम गठबन्धनका साथीहरू लागि पर्ने भएको छ । एकताले मात्र विकास सम्भव हुन्छ भन्ने कुरा धरानले पुष्टि गर्दैछ । 

५. धरानलाई प्रदेशको राजधानीको विषय निक्कै उठेको छ, तपाईसँग राजधानी बनाउने आधार के छ ?
अन्य दलले जस्तो हामी जनतालाई भ्रम छर्ने काम गर्दैनौ । म सुन्दै छु लोकतान्त्रिक गठबन्धनका साथीहरू धरानमा राजधानी बनाउछौ भनी रहनु भएको छ रे । ए बाबा अहिले सरकार उहाँहरुकै हातमा छ । पहिले घोषणा गरेर देखाउनु परो नि । आफू सरकारमा हुँदा पनि घोषणा गर्न नसक्नेले पछि गर्न सक्ला र ? विश्वास गर्ने आधार नै छैन । अहिले हाम्रो सरकार छैन । हामीले तर्क सङ्गत हिसाबले सरकारलाई धरानमा राजधानी बनाउनु पर्छ भनेर दबाब दिने हो । हामीले त्यसका लागि तर्क पेस गर्ने हो । अब आधार के के छन् त भन्दा पहिलो कुरा धरान शैक्षिक केन्द्रको राजधानी हो ।
धरानमा नभएको विश्वविद्यालय र पठाई नहुने कुनै विषय नै छैन। अर्को कुरा स्वास्थ्य केन्द्रको राजधानी पनि धरान भनिरहेका छौ। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो दक्षिण एसियाकै नमुना स्वास्थ्य केन्द्र कहीँ छैन । अर्को कुरा धरान खेलकुदको राजधानी भनिरहेका छौ,धरानमा जति खेलकुद यो प्रदेशको अरू कुन ठाउँमा हुन्छ ? धरान बाहेक यसको अर्को जवाफ नै छैन् ।
धार्मिक र सांस्कृतिक केन्द्र धरान हो । धरानको जस्तो धार्मिक,सांस्कृतिक बिबिधता अन्य ठाउँमा छैन। यहाँको हावापनि सदाबहार छ। धरान सभागृह नमुना सभागृह बन्दैछ । रङगशाला बन्दै छ । पर्यटनको केन्द्रपनि धरान हो । यो १ नम्बर क्षेत्रमा खुल्ला जग्गापनि प्रशस्त छ । सूचना र सञ्चारको राजधानी पनि धरान नै हो । यस्ता धेरै आधार छन् । धरानलाई राजधानी बनाउनेछाैं । हामी यस्ता आधारहरुका आधारमा राजधानी बनाउने पूर्ण प्रयासमा छौ ।

६. तपाईलाई भावी मन्त्रीको रूपमा पनि चर्चा भइरहेको छ त ?
धरानबासी मतदाताको चाहना र पार्टीले आवश्यक्ता ठानेर जिम्मेवारी दियो भने म जस्तो पनि जिम्मेवारी लिन तयार छु । त्यो जिम्मेवारी पाइए पछि धरानको विकास मेरो पहिलो कदम हुने छ । विगत लामो समय म शैक्षिक क्षेत्रमा सक्रिय थिए। राजनैतिक आन्दोलनमा सक्रिय थिए । त्यहाँ मैले गरेको नेतृत्वबाट सन्तुष्ट भएर नै कार्यकर्ता र मतदाताले त्यो अपेक्षा गर्नु भएको हुन सक्छ ।
 ७. तपाई विजयी भएपछि पहिलो काम के गर्नु हुन्छ ?
मेरो पहिलो काम भनेकै मतदातबाट व्यक्त भएका अपेक्षालाई पुरा गर्ने र हाम्रो घोषणा पत्रमा उल्लेख कार्यक्रमलाई पुरा गर्ने हो । स्थानीय सरकारले सुकुम्बासीलाई घर जग्गाको स्वामित्व दिन घर नम्बर वितरण सुरु गरेको छ। अब प्रदेश सरकार बनेपनि अवश्य नीति बनाएर सुकुम्बासीलाई घर जग्गाको स्वामित्व दिने काम प्राथमिकतामा पर्छ ।
धरानका सर्दु,सेउती,खहरे जस्ता खोलाको नियन्त्रण,बहुभाषिक विद्ययालय र विश्व विद्यालय सञ्चालनमा पहिलो कदम हुने छ। बहुजातीय संग्राहलयको निर्माणलाई सम्पन्न कामलाई प्राथमिकतामा राखेर गर्छु । बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, विष्णुपादुका, बराहक्षेत्रको एकीकृत विकास,धरान १४ को विजयपुर दरबार क्षेत्रको संरक्षण र पुनःनिर्माण, मुस्लिम समुदायका बिद्यार्थीका लागि मदरसा,चर्चहरुको संम्रक्षण,थाउजेण्ड बिग बुद्ध निर्माणका लािग आवश्य ठाउँ पहिचान गरेर निर्माण गर्ने कामहरू मेरो पहिलो प्राथमिकतामा पर्छन ।
८. अन्यमा मतदातालाई के भन्न चाहानु हुन्छ ?
अहिले सुनसरी क्षेत्र नम्बर १ का तिनै जना उमेद्धार वाम गठबन्धनका साझा उमेद्धारहरु उठ्नु भएको छ । स्थानीय सरकारदेखि केन्द्रय सरकारसम्म गठबन्धनकै सरकार बनाएर धरान र सिङ्गो देशकै विकास गर्ने अभियानमा यहाँहरूको मत जाने छ भन्ने विश्वास लिएको छु । हामी ताजा र साझा उमेद्धार भएकाले यो क्षेत्रको विकास गर्न आतुर छौ यहाँहरुले सूर्य चिन्हमा मतदान गरेर बहुमतले विजयी गराउनु हुन्छ भन्ने विश्वास छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७