सर्वाधिक चर्चामा रहेको जहाँ हुँदैछ निर्वाचनमा रोचक भिडन्त


१७ मंसिर २०७४, आईतवार
neta

काठमाडौं: आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश शभा निर्वाचनमा केही क्षेत्रमा रोचक प्रतपश्पर्धा हुँदैछ।

netaडडेल्धुरा
प्रधानमन्त्री शेरबहादुर देउवालाई डडेल्धुरामा वाम गठबन्धनबाट माओवादी उम्मेदवार खगराज भट्टले चुनौती दिँदै छन् । ०६४ मा झिनो मतले पराजित भट्ट त्यसयता लगातार देउवासँग भिड्दै छन् । उनलाई भोट माग्न एमाले अध्यक्ष केपी ओली पनि डडेल्धुराको आमसभामा पुगेका थिए ।

चितवन–३
माओवादी अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको चितवन ३ पनि निकै चर्चामा छ । उनलाई एमालेको साथ छ । राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डेलाई कांग्रेसले समर्थन गरेपछि प्रतिस्पर्धा रोचक बनेको छ । प्रचण्डको प्रचारमा एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपाल पनि चितवन पुगेका छन् ।

तनहुँ–१
कांग्रेस नेता रामचन्द्र पौडेल र वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठबीच पनि रोचक प्रतिस्पर्धा हुँदै छ । निर्वाचन आयोगमा उजुरी दिएर कांग्रेसकै विद्रोही गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरे पनि पौडेल ‘रिस्क जोन’मै छन् । स्थानीय निर्वाचनको मत पनि वाम गठबन्धनको बढी छ ।

झापा–३
झापा ३ मा कांग्रेसका कृष्ण सिटौला र राप्रपाका राजेन्द्र लिङ्देन भिड्दै छन् । देशभर कांग्रेस र राप्रपाबीच गठबन्धन बने पनि यस क्षेत्रमा एमाले, माओवादी र राप्रपाले सिटौलाविरुद्ध मोर्चाबन्दी कसेपछि भिडन्त पेचिलो बनेको छ । लिङ्देन ०७० मा सिटौलाबाटै पराजित भएका थिए ।

मोरङ–६
मोरङ ६ मा कांग्रेसका डा। शेखर कोइराला र एमालेका लालबाबु पण्डित उम्मेदवार छन् । प्रतिस्पर्धा निकै पेचिलो छ । सामान्य प्रशासनमन्त्री हुँदा डिभी र पिआरधारी कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेपछि पण्डितको लोकप्रियता बढेको छ । कोइराला यही क्षेत्रबाट यसअघि सांसद भएका थिए ।

काठमाडौं–४
चर्चित युवा नेता गगन थापा र राजन भट्टराईको प्रतिस्पर्धाले काठमाडौं ४ पनि चर्चामा छ । ०७० मा यही क्षेत्रबाट निर्वाचित थापा स्वास्थ्यमन्त्री भएपछि थप चर्चामा आए । भट्टराई परराष्ट्र क्षेत्रमा चर्चित तथा प्रबुद्ध समूहका सदस्यसमेत हुन । यो क्षेत्रको चुनावी समीकरण आकलन गर्न नसकिने बनेको छ ।

काठमाडौं–१
कांग्रेसका प्रकाशमान सिंह र वाम गठबन्धनका अनिल शर्मालाई विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले चुनौती दिएपछि काठमाडौं १ को प्रतिस्पर्धा रोचक बन्दै छ । ०६४ र ०७० मा सिंह यही क्षेत्रबाट निर्वाचित भएका थिए । नयाँ पार्टी खोलेर पूर्वपत्रकार मिश्र चुनावी मैदानमा आएपछि चर्चा थप चुलिएको हो ।

धनुषा–३
कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोको प्रतिस्पर्धाले धनुषा ३ चर्चामा छ । मधेसका केही क्षेत्रमा कांग्रेस र राजपाबीच चुनावी तालमेल भए पनि यो क्षेत्रमा भने तालमेल हुन सकेन । प्रदेश २ को राजधानी जनकपुर हुने भएकाले पनि दुवै नेताले आफ्नो जितलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

झापा–१
प्रतिनिधिसभा निर्वाचनमा झापा १ बाट उम्मेदवार बनेका कांग्रेसका विश्वप्रकाश शर्मा र वाम गठबन्धनबाट माओवादीका सुरेन्द्र कार्कीबीचको प्रतिस्पर्धा पनि रोचक देखिएको छ । दुवै उम्मेदवार बौद्धिक नेताका रूपमा परिचित छन् । सद्भावपूर्ण निर्वाचन प्रचार अभियानले पनि उनीहरू चर्चामा छन् ।

रुपन्देही–३
एमालेका नेता घनश्याम भुसाल रुपन्देही ३ मा राप्रपा (प्रजातान्त्रिक) का नेता तथा बहालवाला
स्वास्थ्यमन्त्री दीपक बोहरासँग प्रतिस्पर्धा गर्दै छन् । ०७० को निर्वाचनमा कांग्रेसका बालकृष्ण खाणसँग ३२ मतले पराजित भुसाल वाम गठबन्धनको साझा उम्मेदवार हुन् । बोहरालाई कांग्रेसको समर्थन छ ।

गुल्मी–१
एमाले सचिव प्रदीप ज्ञवाली र कांग्रेसका नेता चन्द्र भण्डारीबीचको प्रतिस्पर्धाले गुल्मी १ पनि तातेको छ । ०७० को निर्वाचनमा भण्डारीले ज्ञवालीलाई पराजित गरेका थिए । ज्ञवाली अहिले वाम गठबन्धनका साझा उम्मेदवार हुन् । दुवै शालीन र बौद्धिक नेताका रूपमा परिचित छन् ।

कैलाली–१
प्रमुख दलबाट महिला उम्मेदवार आमनेसामने भएको एक मात्र क्षेत्र कैलाली १ चर्चामा छ । यहाँ कांग्रेसकी ईश्वरी न्यौपाने र एमालेकी गरिमा शाह भिड्दै छन् । स्थानीय तह निर्वाचनको मतपरिणाम पनि कांग्रेस र वाम गठबन्धनको हाराहारी छ । यो क्षेत्रमा कसले जित हात पार्छ भन्ने अनुमान गर्न गाह्रो छ । याे खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७