सपना बाँड्दैछन् उम्मेदवार


१३ मंसिर २०७४, बुधबार
Rajbiraj Main chouk 5sMz8buwTI

राजविराज: सिंगो राष्ट्र यतिबेला प्रतिनिधि र प्रदेशसभाको ऐतिहासिक निर्वाचनमा होमिएको छ । हरेक राजनीतिक र सामाजिक आन्दोलनमा चर्चाको शिखरमा रहने सप्तरी जिल्ला पनि यो ऐतिहासिक अभियानबाट अछुतो छैन ।Rajbiraj Main chouk 5sMz8buwTI

संघीय संरचनामा प्रवेश गर्नु अघिसम्म मुलुककै सबैभन्दा बढी एक सय १४ वटा गाउँ विकास समिति रहेको सप्तरी जिल्लाले विगतमा पटक(पटक राष्ट्रिय राजनीतिमा गतिलै पहुँच राख्ने नेता र शक्तिशाली मन्त्री पाए पनि विकासको गोरेटो पछ्याउने सवालमा भने यो जिल्ला सधैं पछि पर्दै आएको छ ।

करिब ६ लाख ४० हजार जनसंख्या रहेको सप्तरी जिल्लावासीका लागि अहिले पनि न्यूनतम मानवीय आवश्यकतासमेत आकाशको फलझैं बनेका छन् । भौगोलिक परिवेश र यातायातको दृष्टिकोणले सुगम हुँदाहुँदै पनि बहुसंख्यक जिल्लावासीका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्याप्त रोजगारीका अवसर, विभिन्नखाले सामाजिक विभेदका विषय प्रमुख चुनौतीका रूपमा रहँदै आएका छन् ।

विगतका निर्वाचनमा झैं यसपटक पनि विभिन्न राजनीतिक दलका उम्मेदवारहरू तिनै पुराना आश्वासन र सपना बोकेर जनताको घरदैलोमा धाइरहँदा अधिकांश मतदाता भने उनीहरूप्रति आश्वस्त हुन सकिरहेका छैनन् । ‘जनता निरास छन्, आश्वासन धेरै भए, कार्यान्वयन छैन । विकास निर्माणको क्षेत्रमा जिल्ला झन्झन् पछि पर्दै गएको छ’, देशकै सबैभन्दा पुरानो नगरपालिका राजविराजका स्थानीय समाजसेवी गोविन्द सिंह भन्छन्, ‘अब जनताको विश्वास जित्न सजिलो छैन । उमेरको हिसाबले राजविराज यतिबेला उपमहानगरपालिका भइसक्नुपर्ने थियो । त्यसैले अहिले जनताले उम्मेदवार र तिनका दलबाट स्थानीय मुद्दामा स्पष्ट राजनीतिक प्रतिबद्धता चाहेका छन् ।’

जिल्लाको प्रमुख आकर्षणको केन्द्र हो, राजविराज नगरपालिका । उमेरले विराटनगर महानगरपालिका भन्दा एक वर्षअघि २०१६ सालमै नगरपालिका घोषित भए पनि राजविराजले विकास निर्माणको दिशामा भने खासै गति लिन सकेको छैन । २००२ सालमा स्थापना गरिएको यो सहरको नक्सा तत्कालीन आर्किटेक्ट इन्जिनियर डिल्लीजंग थापाले तयार पारेका हुन् । भारत राजस्थानको जयपुर सहरको नक्साका आधारमा ‘गुलाबी’ राजविराज सहर बसाइएको थियो ।

प्रत्येक चार घरपछि एउटा सहायक बाटो, नगरलाई हरियालीयुक्त बनाउन प्रत्येक घर अगाडि एउटा रूख, नगरभित्र बन्ने प्रत्येक घरमा गुलाबी रङको प्रयोगजस्ता अवधारणासहित बसाइएको थियो, राजविराज सहर । तर आफ्नो स्थापनाको सात दशक र नगरपालिका घोषित भएको ५८ वर्ष बितिसक्दा पनि यो नगरको नियतिमा भने खासै परिवर्तन आउन सकेको छैन ।

त्यसैले पनि बहुसंख्यक मतदाताको चाहनालाई पछ्याउँदै राजविराज नगरको विकासको विषयलाई यसपटक यसक्षेत्रका अधिकांश उम्मेदवारले आफ्नो प्रमुख मुद्दा बनाएका छन् । ‘यतिबेला यो गुलाबी सहरको रङ हराएको छ । राजविराजभन्दा पछि नगरपालिका घोषित भएका सहरहरू विकास निर्माणको क्षेत्रमा निकै अगाडि बढिसकेका छन् । हाम्रो सहर भने सधैं नेताहरूको राजनीतिक भर्‍याङका रूपमा मात्र प्रयोग हुँदै आएको छ’, स्थानीय जीवन श्रेष्ठ गुनासो गर्छन् ।

राजविराज यतिबेला मृत सहर बनेको छ । राजविराजलाई पुनर्जीवन दिन जरुरी छ । हामीले यसलाई पहिलो प्राथमिकतामा पारेका छौँ । (उपेन्द्र यादव, मधेस गठबन्धनका उम्मेदवार

राजविराजमा गाभिएका भूगोललाई मास्टर प्लानसहित अगाडि बढाई उपमहानगरपालिका बनाउने प्रयास थाल्नेछौं ।(उमेशकुमार यादव, वाम गठबन्धनका उम्मेदवार

मन र इच्छाशक्ति भएकाले आफू निर्वाचित भए एक वर्षभित्रै नगर र जिल्लामा परिवर्तनको आभास दिलाउनेछु । (जयप्रकाश ठाकुर स्वतन्त्र उम्मेदवार  आजको अन्नपूर्ण पोस्टमा समचार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७