यी आठ नगरपालिकालाई एडिबीले दियो १५ अर्ब ४० करोड


११ मंसिर २०७४, सोमबार
Asian Development Bank

काठमाडौं : एसियाली विकास बैकले विभिन्न आठ नगरपालिकाको शहरी विकासका लागि १५ अर्ब ४० करोड नेपाली रुपैयाँ ऋण सहायता गर्ने भएको छ ।Asian Development Bank
सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण सहयोगसम्बन्धी सम्झौतामा अर्थ सचिव शंकरप्रसाद अधिकारी र उक्त बैंकका देशीय निर्देशक मोख्तर खामुदखानोभले हस्ताक्षर गरे ।
आगामी पाँच वर्षभित्रमा वीरगञ्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भीमदत्तनगर, धनगढी, गोदावरी र शुक्लाफाँटा नगरपालिकाको शहरी पूर्वाधार निर्माण तथा शहरी सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन उक्त ऋण खर्च गरिनेछ । परियोजनाअन्तर्गत ती आठ नगरपालिकामा २०० किमीभन्दा बढी ढल निकास, २४० किमी सडक सुधार, ४० किमी पैदलयात्री मार्ग निर्माण तथा चार स्थानमा व्यवस्थित ढंगले फोहर व्यवस्थापन गर्ने स्थल निर्माण गरिनेछ ।
सम्झौतापत्रमा हस्ताक्षर गरेपछि सचिव अधिकारीले परियोजना सम्पन्न भएपछि नगरपालिकाहरुलाई दिगो आम्दानीको स्रोत प्राप्त हुनाका साथै शहरी वातावरण कायम गर्न मद्दत पुग्ने बताए ।
उनले शहरी विकास मन्त्रालय तथा मातहतका निकायलाई समयमै परियोजना सम्पन्न गर्न आग्रह गर्दै विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर कर्तव्यनिष्ठ हुन अनुरोध गरे ।
देशीय निर्देशक खामुदखानोभले नेपाल सरकारको राष्ट्रिय शहरी विकास रणनीति कार्यान्वयनमा मद्दत पुग्ने बताउँदै नेपाल सरकारसँग मिलेर काम गर्न एडिबी सदा तयार रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७