मतदातालाई देउताको ‘कसम’


१० मंसिर २०७४, आईतवार
dhami jumla

जुम्ला : चन्दननाथ नगरपालिका-१० की लक्ष्मी देवकोटाको घरमा कांग्रेस कार्यकर्ता मत माग्न पुगे । साँझको समयमा पुगेका उनीहरूले आफ्नो उम्मेदवारको पक्षमा मत हाल्न आग्रह गरे । देवकोटा परिवारले पनि आइतबार हुने निर्वाचनमा कांग्रेसलाई नै भोट हाल्ने आश्वासन दिए ।dhami jumla

तर, उक्त आश्वासनमा कांग्रेस कार्यकर्तालाई विश्वास लागेन । उनीहरूले देवकोटाकै घरमा रहेको देउताको घन्ट छुन लगाए । देवकोटा परिवारले घन्ट छोएपछि मत दिने वाचा गराएर उनीहरू फिर्ता भए । आफूले पुज्ने देउताको घन्ट छोएपछि यो परिवारका सदस्यले वाचाअनुसार नै मतदान गर्ने भएका छन् । घरमुली लक्ष्मी देवकोटाले भने, ‘अघिल्लोपटक स्थानीय चुनावमा पनि घन्ट छुन लगाएका थिए । त्यसबेला पनि हामीले वाचाअनुसार नै भोट दियौं । यसपालि पनि हाम्रै गाउँका उम्मेदवार छन्, देउताको कसम खाइसकेकाले अब हामी दायाँ-बायाँ गर्दैनौं ।’

चन्दननाथ-८ निवासी हरिकला शाहीले सबै दलका मान्छे मोट माग्न आएको तर माओवादीका मान्छेले घन्ट छुवाएको बताइन् । ‘भोट त एउटालाई दिनै पर्ने हो, जितेर गएपछि हामीलाई नेताले चिन्दैनन्’, उनले भनिन्, ‘भोट माग्न त धेरै आए, सबैलाई हुन्छ भनेकै छौं तर माओवादीका मान्छेले घन्ट छुवाएका छन् ।

कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताले मतदातालाई घन्ट छुवाएर मत दिन बाध्य पारेका छन

अब वाचा गरिसकेपछि धोका दिनु त भएन नि !’ उनले आफ्नो टोलका अधिकांशलाई नेताले देउता साक्षी राखेर भोट मागेको जानकारी दिइन् । ‘हामी देउतामा विश्वास गर्छौं, वाचा तोडेपछि देउता रिसाएर अनर्थ हुन्छ । त्यसैले भनेकै ठाउँमा छाप लगाउने हो, अरूले पनि त्यही गर्ने सल्लाह गरेका छन् ।’ स्थानीय तह निर्वाचनमा पनि दलहरूले घन्ट छुन लगाएर देउताको कसम खुवाएको उनले सुनाइन् ।

मौन अवधिका बेला मतदाताको घरदैलोमा पुगेका कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताले मतदातालाई देउताको कसम खुवाएर मत दिन वाचा गराएका छन् । कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोटका ग्रामीण क्षेत्रका मतदातालाई रिझाउन उम्मेदवार र तिनका कार्यकर्ताले विभिन्न उपाय अपनाउने गरेका छन् । यसपालिको निर्वाचनमा जुम्लामा अधिकांश उम्मेदवार र दलले आफ्नो पक्षमा मत खसाल्न मतदातालाई घरमै पुगेर उनीहरूले पुज्ने कुल देउताको कसम नै खुवाएका हुन् ।
जुम्लालगायत कर्णालीका जिल्लामा स्थानीय बासिन्दा आफ्नो कुल देउतामा विश्वास गर्छन् ।

स्थानीयले देउतालाई साक्षी राखेर खाएको कसम र गरिएको वाचाअनुसार नै काम गर्ने भएकाले पनि दलले यो उपाय अपनाएका हुन् । यहाँका मतदातालाई उम्मेदवार र तिनका कार्यकर्ता निर्वाचनको अघिल्लो दिनसम्म देउताको कसम खुवाउँदै मत माग्न व्यस्त देखिए । ग्रामीण क्षेत्रमा मात्र होइन, सदरमुकाम र नगरभित्रका मतदातालाई समेत दलहरूले घरमै पुगेर देउताको कसम खुवाएका छन् । देउताको कसम खाँदै मत दिने वाचा गरेका मतदाताले समेत वाचाअनुसार नै मत दिने विश्वास दललाई दिलाएका छन् । वाचाअनुसार काम नगर्दा देउता रिसाउने र अनर्थ हुने भन्दै वाचाअनुसार काम पूरा गर्ने स्थानीय बासिन्दा बताउँछन्।

आइतबार हुने निर्वाचनअन्तर्गत जुम्लामा वाम गठबन्धन र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिनिधिसभाको एउटा र प्रदेशसभाका दुईवटा क्षेत्र रहेको जुम्लामा मौन अवधिको फाइदा उठाउँदै दलले मतदातालाई आकर्षित गरेका हुन् । वाम गठबन्धन जुम्लाका प्रचार सचिव राजकुमार शाहीले भने, ‘चुनाव जित्नकै लागि लड्ने हो, सबैले आ-आफ्ना उपाय लगाइरहेका छन् ।

यहाँको सामाजिक संरचनाअनुसार देउतामा विश्वास गर्नेको संख्या धेरै छ, मतदातालाई प्रभावित पारेर जित्न उम्मेदवारले घन्ट नै छुन लगाएका छन् ।’ उनका अनुसार घरदैलो अभियानमा रहेका दलका कार्यकर्ता र उम्मेदवारले घरमुलीलाई घन्ट छुवाउने गरेका छन् । घरमुलीको सल्लाहमा परिवारका अन्य सदस्यले मत खसाल्ने भएकाले पनि दलले घरमुलीलाई नै देउता साक्षी राखेर वाचा खुवाउने गरेका हुन् ।

यस्तै, उम्मेदवारहरू अन्तिम समयमा आएर स्थानीय धामी, झाँक्री र गाउँका अगुवाको शरणमा पुगेका छन् । स्थानीयले गाउँका धामीको विश्वास गर्ने र धामीले भनेको सहज रूपमा मान्ने भएकाले पनि यतिबेला उम्मेदवारहरू उनीहरूको शरणमा पुगेका हुन् । भोट बैंकका रूपमा रहेका धामी र गाउँका अगुवालाई प्रभावित बनाउँदै चुनाव जित्ने रणनीतिमा यहाँका उम्मेदवार लागेका छन् ।
स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा आफूहरूले यसपालि पनि मतदातालाई रिझाउन देउता साक्षी राखेर मत मागेको एमालेका एक कार्यकर्ताले बताए ।

अन्नपूर्ण पाेष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७