नुवाकाेटमा निर्वाचन गराउन छ हजार पाँच सय कर्मचारी 


१० मंसिर २०७४, आईतवार
nuwakot district

त्रिशूली : यही मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गराउन जिल्लामा कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवक गरी छ हजार पाँच सय २५ जना खटिएका छन् ।nuwakot district
निर्वाचन सुरक्षाका लागि एक हजार ४८ प्रहरी, एक हजार २७४ म्यादी प्रहरी, ४६३ सशस्त्र प्रहरी र ६१३ सैनिक र नौ जना राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी गरी तीन हजार ४०७ सुरक्षाकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै निर्वाचन सञ्चालन गर्न दुई हजार ८० कर्मचारी र एक हजार ३८ स्वयम्सेवक कर्मचारी खटाइएको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिनुभयो ।
निर्वाचनलाई शान्तिपूर्ण र सौहार्दपूर्ण रुपमा सम्पन्न गराउन कुनै कसर बाँकी नराखिएको प्रजिअ वीरेन्द्रकुमार यादवले बताए । एउटा मतदान केन्द्रमा कम्तीमा छ सुरक्षाकर्मी र संवेदनशीलताको आधारमा थप सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।
एक सय २९ मतदानस्थल र २६० मतदान केन्द्र रहेको जिल्लामा ५४ मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील, ५० मतदानस्थल संवेदनशील र २५ मतदानस्थललाई सामान्य भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दुई नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा निर्वाचनका दिन हरेक स्थानीय तहमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुई मोबाइल प्रहरी टोली परिचालन हुने प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । नेपाली सेनाले पनि हरेक स्थानीय तहमा एक एक टोली तथा सशस्त्र प्रहरी बलले एक एक टोली परिचालन गरेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका चार स्थानका लागि छयालीस उम्मेदवार रहेको नुवाकोटमा दुई लाख आठ हजार १९१ मतदाता छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७