चर्चित बलिउड स्टार डेब्यु हुन नसकेको यी फिल्म


९ मंसिर २०७४, शनिबार
aishwaryaarai

काठमाडौं ः बलिउडका केही यस्ता सुपरस्टार छन्, जो पहिला कुनै अर्काे फिल्मबाट डेब्यु गर्ने तयारीमा थिए । तर, कारणवश पहिला भनिएको फिल्ममा उनीहरू अटाएनन् ।

तीमध्ये केहीलाई कुरा भएपछि पनि बलिउडमा डेब्यु गर्न पाँच वर्ष नै लाग्यो । भारतीय अनलाइनले यसबारेमा एउटा रिपोर्ट तयार पारेको छ । त्यसमा ऐश्वर्या राय, करिना कपुर, सैफअली खान, प्रियंका चोपडा, साहिद कपुरलगायतका चर्चित स्टार डेब्यु हुन नसकेको फिल्मबारे उल्लेख छ ।

aishwaryaarai

ऐश्वर्या राय–राजा हिन्दुस्तानी 
पूर्वविश्व सुन्दरी ऐश्वर्या रायको डेब्यु फिल्म हुनेवाला थियो, ‘राजा हिन्दुस्तानी’ । उनलाई सन् १९९६ मा निर्देशक धर्मेश दर्शनले राजा हिन्दुस्तानीबाट डेब्यु गराउने तयारी गरेका थिए ।

तर, पछि सो भूमिकामा करिश्मा कपुरलाई लिइयो । ऐश्वर्यालाई हिरोइन नलिइनुको खास कारणचाहिँ बाहिर आएन । सुन्नमा आएअनुसार ऐश्वर्या हिरो आमिर खानभन्दा अग्ली भएकाले जोडी नमिलेको समेत चर्चा चलेको थियो । ऐश्वर्या त्यसको एक वर्षपछि अर्थात् १९९७ मा बबी देओलका साथ ‘और प्यार होगया’बाट हिरोइन बनिन् ।

करिना कपुर–हम दिल दे चुके सनम 
करिना कपुरले सन् २००० मा ‘रिफ्युजी’ फिल्मबाट डेब्यु गरिन् । सो फिल्ममा उनको जोडी अभिषेक बच्चन छन् । रिफ्युजी अभिषेकको पनि डेब्यु फिल्म हो । खासमा करिना एक वर्षपहिला नै अर्थात् सन् १९९९ मै हिरोइन बन्ने चर्चा चलेको थियो । उनलाई सञ्जयलीला भन्सालीले आफ्नो फिल्म ‘हम दिल दे चुके सनम’मा ऐश्वर्या रायले निर्वाह गरेको भूमिका दिने तयारी गरेका थिए । तर, करिनाले कलेजको पढाइमा असर पर्ने भन्दै सो फिल्म नगरेको बताइन्छ ।

सैफअली खान–बेखुदी 
हिरो बन्न प्रयासरत सैफअली खान सन् १९९२ मा ‘बेखुदी’ नामक फिल्मबाट डेब्यु हुने तयारीमा थिए । तर, कारणवश उनलाई त्यो फिल्ममा लिइएन । त्यसको एक वर्षपछि मात्रै उनी ‘परम्परा’ फिल्मबाट ठूलो पर्दाको दुनियाँमा प्रस्तुत भए । यद्यपि, सैफको फिल्मी करिअरले भने खासै सफलता पाउन सकेको छैन ।

प्रियंका चोपडा–हमराज
पूर्वमिस वल्र्ड प्रियंका चोपडा अब्बास मस्तान निर्देशित ‘हमराज’ फिल्मबाट हिरोइन बन्ने खबर थियो । सन् २००२ को हमराजमा प्रियंका फाइनल भइसकेकी थिइन् । तर, हमराजमा प्रियंकालाई लिइएन । उनको ठाउँमा अमिषा पटेल हिरोइन भइन् । त्यसको एक वर्षपछि अर्थात् २००३ मा मात्रै प्रियंका हिरोइन भइन्, ‘दी हिरो’ फिल्मबाट । प्रियंकाको डेब्यु फिल्म फ्लप भयो ।

साहिद कपुर–स्टाइल
साहिद कपुरको डेब्यु फिल्म हो, ‘इश्कबिश्क’ । सन् २००३ मा बनेको सो फिल्म हिट भएको थियो । खासमा साहिद ‘स्टाइल’ फिल्मबाट डेब्यु हुने तरखरमा थिए । सन् २००१ को स्टाइलका लागि उनी लगभग फाइनल भएका थिए । तर, अन्तिम समयमा आएर सो फिल्मबाट साहिद आउट भए । उनले हिरो बन्न थप दुई वर्ष कुर्नुपरेको थियो ।

क्याट्रिना कैफ–साया
क्याट्रिना कैफलाई निर्देशक अनुराग वासुले सन् २००३ मा ‘साया’ फिल्मबाट हिरोइन बनाउने तरखर गरेका थिए । तर, पछि उनलाई त्यो फिल्ममा लिइएन । क्याट्रिनालाई भनिएको भूमिकामा तारा शर्मालाई लिइयो । तर, क्याट्रिनाले फिल्म खेल्न धेरै समयचाहिँ कुर्नुपरेन । उनलाई त्यही वर्ष निर्देशक कैजद गुस्ताडले ‘बुम’ फिल्ममा एक महत्वपूर्ण भूमिकामा लिए । फेसन र क्राइम दुनियाँको विषयमा बनेको सो फिल्म असफल भएको थियो । क्याट्रिनाले बुममा भरपूर एक्सपोज गरेकी छिन्।

श्रद्धा कपुर–लक्की 
अभिनेत्री श्रद्धा कपुरको डेब्यु फिल्म सन् २०१० मा बनेको ‘तीन पत्ती’ हो । खासमा उनी पाँच वर्षअघि नै ‘लक्की’ फिल्मबाट डेब्यु गर्न लागेकी थिइन् । तर, त्यसमा उनलाई हिरोइन लिइएन । सो फिल्ममा सलमान खानले ऐश्वर्या रायझैँ देखिने नवयुवती स्नेहा उलारलाई डेब्यु गराए ।

राधिका राव र विनय साप्रेको निर्देशनमा बनेको लक्कीमा हिरोइन नबनेपछि श्रद्धा निकै तनावग्रस्त भइन् । तर, निरन्तरको लगावले पाँच वर्षपछि उनी तीन पत्तीबाट हिरोइन बनिछाडिन् । श्रद्धा पछिल्लो समयकी बलिउडकी चर्चित हिरोइन हुन् ।

सिद्धार्थ मल्होत्रा–फेसन
अभिनेता सिद्धार्थ मल्होत्रा सन् २००८ को ‘फेसन’ फिल्मबाटै हिरो बन्न लागेका थिए । तर, पछि उनी सो फिल्ममा अटाएनन् । त्यसपछि हिरो बन्न उनले झन्डै पाँच वर्ष कुर्नुपर्‍यो ।

सिद्धार्थलाई सन् २०१२ मा करण जौहरले ‘स्टुडेन्ट अफ दी इयर’ फिल्मबाट हिरो बनाए । सिद्धार्थ पछिल्लो पुस्ताका चल्तापुर्जा हिरोमै पर्छन् ।

विपाशा बसु–हिमालय पुत्र
विपाशा बसुको डेब्यु फिल्म सन् २००१ को ‘अजनवी’ हो । तर, उनी त्यसको चार वर्षअघि नै अर्थात् १९९७ मै हिरोइन बन्ने लाइनमा लागिसकेकी थिइन् । उनलाई निर्देशक पंकज परासरले ‘हिमालय पुत्र’मा हिरोइन लिने तयारी गरेका थिए । तर, पछि सो फिल्मबाट विपाशालाई हटाएर अन्जला जाभेरीलाई हिरोइन लिइयो । विपाशा फिल्मबाट किन हटिन्, त्यसको खास कारणचाहिँ खुल्न सकेन।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७