वीरेन्द्र परिवारको २१ हजार ५६३ रोपनी जग्गा ट्रस्टमा, कहाँ कति छ जग्गा ?


२५ श्रावण २०७६, शनिबार
king Birendra Family

काठमाडौं, २५ साउन । पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार पाँच सय ६३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको छ । ती जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ । काठमाडौंको चार हजार चार सय ३८ रोपनी ९ आना र धादिङको १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम ट्रस्टको नाममा आएको हो ।

यसैगरी भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रे, सुर्खेत, कास्की, चितवन, सिन्धुपाल्चोकमा पूर्वराजा वीरेन्द्र, तत्कालीन रानी ऐश्वर्य, युवराज दीपेन्द्र र अधिराजकुमार निराजनका नाममा रहेका जग्गाको स्वामित्व ट्रस्टको नाममा ल्याइएको छ । ट्रस्टमा ल्याएको जग्गा व्यवस्थापन हुन भने सकेको छैन ।

ट्रस्टमा आएको जग्गामध्ये कोही लिजमा दिइएको छ कोही भाडामा छ, कोही जग्गा कब्जा गरिएको छ । कतिपय स्थानमा सरकारी कार्यालय बसेका छन् कति स्थानका जग्गा बेवारिसे छ।

लिजमा कहाँ कति ?

काठमाडौंको गोकर्णमा ट्रस्टका नाममा ३९७१ रोपनी ३ पैसा ३ दाम जग्गा छ । यसमध्ये २९७१ रोपनी ६ आना ३ पैसा १ दाम जग्गा लिजमा दिइएको छ । वीरेन्द्र जीवित रहँदै एलएम सुवीर ब्रदर्स (नेपाल) प्रालि काठमाडौं र यती होल्डिङ्स प्रालिलाई लिजमा दिइएको थियो । २०६७ वैशाख ५ गते ट्रस्टले लिजको पुनः सम्झौता गरेको छ । नयाँ सम्झौताअनुसार २०२५ मंसिर १५ गतेसम्मका लागि लिजमा दिइएको छ ।

१८ औंदेखि २० औं वर्षसम्म १ लाख ६० हजार, २१ देखि २५ औं वर्षसम्म २ लाख ४० हजार र २६ आंैदेखि ३० औं वर्षसम्म २ लाख ६० हजार वार्षिक भाडा तय गरिएको छ । गोकर्णको केही जग्गा भूमाफियाले कब्जा गरेका छन् भने केही स्थानीयले मिचेका छन् ।

कमलादीमा ट्रस्टको ५ रोपनी २ पैसा जग्गामा काठमाडौं प्लाजाको भवन छ । कन्सेप्ट डेभलपर्स प्रालिले २०५० असार ३ गते यो जग्गा लिजमा लिएको थियो । २०६६ पुस २३ गते लिज पुनः सम्झौता गरिएको छ । सम्झौतामा २०६७ असार ३ देखि २०७२ असार २ सम्म ६१ लाख र २०७२ असार ३ देखि २०७७ असार २ सम्म ७५ लाख रुपैयाँ वार्षिक भाडा तोकिएको छ ।

ट्रस्टको लाजिम्पाटमा रहेको ६ रोपनी १३ आना १ दाम जमिनमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड बसेको छ । बैंकले सन् २००५ मा १५ वर्षका लागि लिज सम्झौता गरेको छ । जुन २०१२ देखि ३१ मे २०१४ सम्म ७५ लाख ५६ लाख, जुन २०१४ देखि ३१ मे २०१६ सम्म ८४ लाख, जुन २०१६ देखि ३१ मे २०१८ सम्म ९३ लाख, जुन २०१८ देखि ३१ मे २०२१ सम्म १ करोड ३ लाख र जुन २०२० देखि ३१ मे २०२१ सम्म एक करोड १५ लाख रुपयाँ भाडा तोकिएको छ ।

टेकुस्थित बिजनेस पार्क पनि न्यून मूल्यमा लिजमा दिइएको छ । १९ रोपनी १२ आनामा फैलिएको बिजनेस पार्कले वार्षिक ४० लाख रुपैयाँ भाडा तिर्छ । पार्कले २०५३ चैत २८ देखि २०८३ चैत २७ सम्म ३० वर्षका लागि लिजमा लिएको हो । २०६६ माघ ५ गते लिज पुनः सम्झौता गरिएको छ । जसअनुसार २०६९ देखि २०७३ सम्म ३० लाख, २०७४ देखि २०७८ सम्म ४० लाख र २०८९ देखि २०८२ सम्म ५० लाख भाडा तोकिएको छ ।

नियम विपरीत लिज

दरबारमार्ग्स्थित १ रोपनी १४ आना १ पैसा जग्गा ट्रस्टले ऐनविपरीत थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिएको छ । ट्रस्टको जग्गा शिक्षा र स्वास्थ्यको प्रयोजनका लागि मात्रै उपभोग गर्ने ट्रस्ट ऐन २०६४ मा व्यवस्था छ । तर त्यहाँ सर्केुले व्यापारिक भवन बनाइरहेको छ ।

ट्रस्टले थामसेर्कुसँग २०७४ जेठ १४ देखि २१०४ जेठ १३ सम्म ३० वर्षका लागि लिज सम्झौता गरेको छ । २०७४ देखि २०७७ सम्म ५० लाख, २०७८ देखि २०८१ सम्म चार करोड ५० लाख, २०८२ देखि २०८६ सम्म चार करोड ५४ लाख ५० हजार, २०८७ देखि २०९१ सम्म चार करोड ५९ लाख २२ हजार पाँच सय, २०९२ देखि २०९६ सम्म चार करोड ६४ लाख १८ हजार ६२५, २०९७ देखि २१०१ सम्मका लागि चार करोड ६९ लाख ३९ हजार ५५६ र २१०२ देखि २१०४ सम्म ११ करोड ८७ लाख १६ हजार ३३५ रुपैयाँ भाडा तोकिएको छ । ताहाचल र कमलादीस्थित जग्गा लिजमा दिने प्रक्रिया अन्तिम चरणमा पुगेको ट्रस्टले जनाएको छ ।

भाडामा कति ?

सोल्टी आउटर कम्प्लेक्स कालीमाटीलाई ५ रोपनी ६ आना २ पैसा आधा दाम जग्गा भाडा दिइएको छ । काठमाडौं सोल्टीमोडमा रहेको पाँच सटरलाई मासिक ६७ हजार ५० का दरले भाडामा दिइएको छ ।

एउटा सटर मासिक २५ हजारका दरले दिइएको छ । अर्को एउटा सटर प्रतिमहिना ३६ हजार तीन सयमा दरमा भाडामा दिइएको ट्रस्टले जनाएको छ । कम्प्लेक्सबाट भाडाबापत ट्रस्टले १५ लाख ४५ हजार ६ सय रुपैयाँ वार्षिक आम्दानी गर्दै आएको छ ।

सोल्टीमोड रेडक्रस मार्ग्स्थित सार्वजनिक खरिद तथा अनुगमन कार्यालय पनि ट्रस्टकै जग्गामा छ । कार्यालयले ट्रस्टलाई वार्षिक १२ लाख भाडा बुझाउँछ । कमलादीस्थित गरिबी निवारण कोष र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कार्यालय पनि ट्रस्टकै जग्गामा छन् ।

कोषले भाडाबापत मासिक एक लाख ८६ हजार बुझाउँदै आएको छ भने दुई रोपनी १२ आना ओगटेको केएलकेयूले मासिक ५५ हजार ८ सय ७३ रुपैयाँ तिर्दै आएको छ ।

धनकुटाको चुलीबनमा ट्रस्टको १९४ रोपनी जग्गा छ । त्यसमध्ये १३४ रोपनी जग्गामा निजामती आवासीय विद्यालय बसेको छ । विद्यालयले वार्षिक दुई लाख भाडा तिर्छ ।

ऐतिहासिक सम्पदा बेवारिसे

चितवनको भरतपुरस्थित दियालो बंगला बेबारिसे छ । ७६७ रोपनी ११ आना १ पैसा १ दाममा फैलिएको बंगलामा पूर्वराजा महेन्द्रको मृत्यु भएको थियो । पोखरामा रहेको रत्न मन्दिरको अवस्था उस्तै छ । रत्न मन्दिरको १७४ रोपनी ४ आना २ पैसा नेपाली सेनाले कब्जा गरेको छ ।

हेटांैडास्थित कान्ति ईश्वरी घर लथालिंग छ । यहाँ २६ रोपनी १ आना ३ दाममा बनेको ऐतिहासिक दरबार छ । छाउनीको १५ रोपनी १ आना १ पैसा जग्गा दाइजोमा पाएको भन्दै पूर्वअधिराजकुमारी प्रेरणाले कब्जा गर्दै आएकी छन् ।

नुवाकोटको थानसिङस्थित ६५ रोपनी ११ आना २ दाम जग्गामा बगैंचा छ । नुवाकोटको गणेशस्थानस्थित २ रोपनी ८ आना २ पैसा १ दाम जग्गामा माछापोखरी र केराघारी छ । त्यहाँ शिवमन्दिर पनि छ । थानसिङकै १७२ रोपनी २ आना जग्गा बेवारिसे छ ।

भक्तपुर कटुन्जेस्थित तीनकुनेको १०८ रोपनी २ आना १ पैसा जग्गा कब्जा गरिएको छ । भक्तपुर नगरपालिकाले नै कब्जा गरी जग्गामा तारबार गरेको हो ।

ट्रस्टका पूर्वकार्यकारी सचिव भीमप्रसाद उपाध्यायले ट्रस्टको जग्गा सरकारको नभएकाले उसले लिनै नपाउने बताए । ‘यो राज्य जग्गा हो, सरकारको होइन, यो जग्गा सरकारको स्वामित्वमा आउनै सक्दैन,’ उनले भने, ‘यो लिजमा वा भाडामा मात्रै दिन लिन सकिन्छ ।’

महाराजगञ्जस्थित एक रोपनी सात आना एक दाम जग्गामा पूर्वराजा ज्ञानेन्द्रको सुरक्षार्थ बसेको सशस्त्र प्रहरीले कब्जा गरेको छ । पटकपटक भाडा लिन वा छोड्न परिपत्र गरे पनि सशस्त्रले सुनुवाइ नगरेको ट्रस्टले जनाएको छ ।

शेष नारायणस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालय (फर्पिङ) ट्रस्टकै कब्जामा छ । ६८ रोपनी १२ आना जग्गामा यो विद्यालय छ । काभ्रेपलाञ्चोकको पाँचखालमा ९ रोपनी १५ आना ३ पैसा १ दाम बेवारिसे छ । मातातीर्थ, सतुंगल, थानकोट, इचंगुको १७३ रोपनी जग्गा त व्यक्तिको नाममा सारिएको छ । बालाजुस्थित ५ आना २ पैसा जग्गा व्यक्तिले भोगचलन गरिरहेका छन् ।

सिन्धुपाल्चोकको थाङपाल्धापको २७ रोपनी १३ आना १ पैसा १ दाम जग्गा बाँझो छ । ललितपुर गोदामचौरको २७ रोपनी १३ आना १ पैसा १ दाम अतिक्रमण गरिएको छ । धादिङको छत्रे देउराली १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम बेवारिसे छ । सुर्खेतको लाटीकोइलीमा चार सय ५७ रोपनी सात आना २ दाम जग्गा प्रयोगविहीन छ ।

चार लाख ४३ हजार कित्ता सेयर

चल सम्पत्तिको हकमा नेपाल ट्रस्ट कोषमा ५० करोड ५० लाख रुपैयाँ छ । नबिल बैंकमा चार लाख ३५ हजार चार सय १५ कित्ता सेयर छ । होटल डेला अन्नपूर्णाको ३० हजार ७२० कित्ता, नेपाल इन्डस्ट्रियल डेभलपमेन्ट बंैकमा ६ हजार ७५० गरी कुल चार लाख ४२ हजार ८ सय ८५ कित्ता सेयर ट्रस्टको स्वामित्वमा छ ।

प्रभु बंैक लिमिटेडमा ४८ हजार चार सय ६६ पाउन्ड स्टर्लिङ छ । त्यस्तै १ लाख ३८ हजार ६२५ अमेरिकी डलर प्रभु बैंकमै छ । पूर्वसचिव भीमप्रसाद उपाध्यायले सदुपयोग गर्न नसक्दा ट्रस्टको जग्गा लथालिंग रहेको बताए ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले संरक्षण गर्न भन्दा सरकार नै सिध्याउन लागेको भनाइ राखे । ‘समिति फितलो बनाइएको छ । शिक्षा र स्वाास्थ्यमा प्रयोजनका लागि मात्रै ट्रस्टको जग्गा उपयोग हुनुपर्ने हो । त व्यापारिक प्रयोजनका लागि लगाउन ऐन नै परिवर्तन गर्ने काम भयो,’ रेग्मीले भने, ‘यो नीतिगत भ्रष्टाचारको ज्वलन्त नमुना हो ।’ अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७