चार दिनसम्म ढुङ्गामा च्यापिएका व्यक्तिको यसरी भयो उद्धार


२४ श्रावण २०७६, शुक्रबार
sum

काठमाडौं, २४ साउन । एउटा गुफामा चार दिनसम्म फसेका कम्वोडियाका एक व्यक्तिको उद्धार गरिएको छ । चमेराको विष्टा संकलन गर्न हिंडेका ती व्यक्ति चिप्लिएर दुई ठूला ढुङ्गाबीच च्यापिएका थिए ।

बिबिसीका अनुसार आइतबारदेखि गुफामा फसेका सुम बोरा घर नफर्केपछि उनका परिवारले खोजी शुरू गरेका थिए । प्रहरीका अनुसार २८ वर्षीय सुम आफ्नो टर्च लाइट टिप्ने क्रममा ढुङ्गाबीच फसेका थिए । सुम खाना, पानी बिना त्यो गुफामा संघर्ष गरिरहेका थिए ।

1 4

सुमले भनेका छन्, ’मैले बाँच्छु भन्ने आशै गुमाइसकेको थिएँ । मसँग चक्कु थियो । मलाई आत्महत्या गरूँ झैं भएको थियो ।’ सुमलाई मंगलबार उनकै साथीले फेला पारेका थिए । उनका साथी पनि कहिलेकाहीँ सुमसँग चमेराको विष्टा लिन जान्थे । कम्बोडियामा चमेराको विष्टालाई ‘गुवानो’ भनिन्छ र यसको प्रयोग मलका रूपमा धेरै हुन्छ ।

2 4

सुमका अनुसार उनका साथीले देखेपछि साँघुरो गुफाबाट घस्रिँदै उनीतिर आएका थिए । दुवै जना सानो ज्यानका भएकाले त्यहाँ छिर्न सके। पछि उद्धारकर्ताहरूले उनीहरूलाई फेला पारे । तर गुफा साँघुरो भएकाले सुमलाई निकाल्न गाह्रो भयो ।

पछि गुफाका केही भागहरू भत्काएर उनलाई बाहिर निकालिएको हो । प्रहरीका अनुसार १० घण्टाको प्रयासपछि बुधबार सुमको उद्धार सफल भएको हो । अहिले स्थानीय अस्पतालमा सुमको उपचार भइरहेको छ । उनको टाउको, घुँडा र छातीमा चोट लागेको छ । सुम फसेको ‘चकराइ’ पहाडमा जान प्रहरीले रोक पनि लगाएको छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७