नेपाली छोराछोरी स्वतन्त्र भइरहेका बेला चीनका छोराछोरी बाबु–आमाको दबाबमा


२४ श्रावण २०७६, शुक्रबार
VCG11501368187

बेइजिङ, २४ साउन । धेरै चिनियाँ अभिभावक आफ्ना हुर्केबढेका छोराछोरीले जतिसक्दो चाँडो विवाह गरुन् भन्ने चाहन्छन् । यो उनीहरुको पहिलो प्राथमिकतामा पर्ने घरयासी विषय हुने गरेको एक अध्ययनले देखाएको छ ।

इन्टरनेटमार्फत वैवाहिक सेवा प्रदान गर्ने एक चिनियाँ कम्पनी बाईहेजियायुआनले सार्वजनिक गरेको एक प्रतिवेदनमा झण्डै ८० प्रतिशत चिनियाँ युवा युवतीले बाबु आमाको दबाब झेल्नु परेको उल्लेख छ । तर उनीहरु आफ्ना बाबु आमाले विवाहका लागि दबाब नदिए हुन्थ्यो भन्ने चाहन्छन् ।
विवाहसँग सम्बन्धित चीनको सर्वाधिक ठूलो यो वेबसाइटमा जोडिने युवा युवतीको संख्या झण्डै तीन करोड १० लाख रहेको छ ।

अन्तरवार्ता लिइएका आधाभन्दा बढीले आफ्नो विवाहका बारेमा आफैले निर्णय गर्न पाए हुन्थ्यो भन्ने चाहना राख्ने गरेको बताएका छन् । वेबसाइटमा दर्ता रहेका तीमध्ये करिब ३० प्रतिशत युवा युवतीले आफूहरुमाथि बाबु आमाले ज्यादै ठूलो दबाब दिने गरेको बताएका छन् ।

विकासोन्मुख देश नेपालका छोराछोरी बाबु आमाबाट स्वतन्त्र बन्दै गइरहेका बेला विकासको छलाङ्ग मारिरहेको छिमेकी देश चीनका छोराछोरी भने अझै स्वतन्त्र नभइरहेको तथ्याङ्कहरुले देखाएको छ ।

चीनमा विवाहको दर पछिल्ला केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको छ । सन् २०१३ मा प्रति हजारमा विवाह दर ९.९ थियो भने सन् २०१९ मा त्यो घटेर ७.२ मा आइपुगेको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ । अन्तरवार्ता लिइएका करिब ७७ प्रतिशत पुरुष र ६३ प्रतिशत महिलाले विवाहका लागि आफूखुशी विवाहको मिति तोक्ने गरेको बताएका छन् ।

करिब ४० प्रतिशत चिनियाँ एकल व्यक्तिहरुले आफ्नो वैवाहिक विषयमा हस्तक्षेप गर्न बन्द गर्न चाहेको बताएका छन् । प्रतिवेदनमा उनीहरुले बाबुआमाको करकापमा नपरी स्वतन्त्र रुपमा आफूखुशी विवाह गर्न चाहेको उल्लेख छ ।

‘विवाह जीवनको एक आवश्यक हिस्सा अब रहेन’, साउथवेस्ट जियाटोङ युनिभर्सिटीका मनोसामाजिक अध्येता प्राध्यापक गाओ फेईले बताए । ‘विवाह गर्ने वा नगर्ने यो निजी रुचिको कुरा हो, र हरेक व्यक्तिले आफूलाई खुशी तुल्याउने किसिमको निजी जीवनशैली अनुशरण गर्न सक्छन् ।’

‘यद्यपी बाबु–आमाले राम्रै मनशाय राखेर विवाहका लागि दबाब दिइरहेको कुरा चिनियाँ युवायुवतीले बुझ्नु पर्दछ । धेरैको जोड के छ भने बाबुआमाको दबाबभन्दा पनि टिकाउ विवाह आवश्यक छ’, कम्पनीका महाप्रबन्धक ऊ लिङगुआङ बताउँछन् ।

‘मेरा बाबु आमाले विवाह गर्न भनिरहनु हुन्छ किनभने आफ्नो हेरचाहका लागि कोही तयार होओस् र उनीहरुको मृत्यु पश्चात् म एक्लै नहोस् भन्ने चाहन्छन्’, प्रतिवेदनमा समेटिएका एक व्यक्तिको भनाई छ । ‘मेरा बाबु आमाले आफ्ना नाति नातिनासँग खेल्न पाइन्छ भन्ने लोभ पनि राखेको देखिन्छ ।’ ‘म मैले रुचाएको व्यक्तिसँगै विवाह गर्नेछु’, चेङ्दुका एक २० वर्षीय युवा फू सुआनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७