नेकपाको निष्कर्ष : कांग्रेस ढुलमुले, समाजवादी र राजपा अतिवादी


१५ श्रावण २०७६, बुधबार
nekapa 1

काठमाडौं, १५ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफूलाई नेपाली सर्वहारा श्रमजीवि बर्गको राजनीतिक दलको रुपमा चित्रण गरेको छ ।

नेकपाको १४ महिनाअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट पारित राजनीतिक प्रतिबेदन हालै प्रकाशित गर्दै आफूलाई श्रमजीवि बर्गको प्रतिनिधित्व गर्ने दलको रुपमा उल्लेख गरेको छ ।

बर्गीय तथा सामाजिक उत्पीडनमा परेका सबै उत्पीडित बर्ग, समुदाय, देशभक्त शक्तिहरु र आम जनसमुदायको हितको समेत प्रतिनिधित्व नेकपाले गर्छ । नेकपाले राष्ट्रिय पूँजी र राष्ट्रिय पूँजीपति बर्गको हितको समेत प्रतिनिधित्व गर्दछ । सामान्तवादबिरोधी जनवादी क्रान्तिको मुल नेतृत्व गर्ने पार्टी नेकपा नै रहेको दाबी गर्दै नेपाली जनताको आशा र भरोसाको केन्द्र नेकपा रहेको उल्लेख गरिएको छ ।

नेकपाले प्रकाशित गरेको राजनीतिक प्रतिवेदनमा अन्य राजनीतिक दललाई यसरी चित्रण गरिएको :

कांग्रेस ‘ढुलमुले’

नेकपाको राजनीतिक प्रतिबेदनमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसलाई ‘ढुलमुले’ पार्टीको रुपमा चित्रण गरेको छ ।

कांग्रेस पूँजीपति बर्गको प्रतिनिधित्व गर्ने पार्टी रहेको उल्लेख गरिएको छ । सामन्तवादबिरोधी पूँजीवादी क्रान्तिको नेतृत्व गर्ने अवसर पाए पनि ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिका कारणबाट यसको नेतृत्व लोकतान्त्रिक क्रान्तिले पूर्णता प्राप्त गर्न नसकेको आरोप लगाइएको छ । यद्दपी कांग्रेसले लोकतान्त्रिकरणको प्रक्रिया र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेको नेकपाको बिश्लेषण छ ।

नेपालको दलाल तथा नोकरशाही पूँजीपति बर्गको मुख्य हिस्साको प्रतिनिधित्व कांग्रेसले नै गरेको जनाइएको छ । त्यसैले अन्तर्राष्ट्रिय एकाधिकार पूँजीवादसँग कांग्रेसको घनिष्ट एवं अन्योन्याश्रित सम्बन्ध रहेको प्रतिवेदनमा उल्लेख छ । नेकपाले कांग्रेसको नवउदारवादी आर्थिक नीतिको अन्धानुकरणलाई यसै परिप्रेक्ष्यमा बुझनु पर्ने जनाएको छ ।

कांग्रेसको यहि आर्थिक नीतिकै कारणबाट कांग्रेस नेतृत्वको अवधिमा पनि देशमा उत्पादक शक्तिको बिकासले गति लिन नसकेको र आर्थिक बिकास हुन नसकेको जनाइएको छ । कांग्रेसको वर्ग चरित्रमा आधारित नवउदारवादी नीतिकै कारणबाट उसले लगाउने गरेको ‘प्रजातान्त्रिक समाजवाद’ को नारा औपचारिकता र ढोंगमा परिणत भएको जनाइएको छ ।

कांग्रेस राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा दृढतापूर्वक उभिनसकेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । कांग्रेस नेतृत्वमा सरकार हुँदा कैयौं पटक राष्ट्रिय हित विपरीत सन्धि सम्झौता र राष्ट्रियतामाथि आघात पुर्‍याउने निर्णय भएको प्रतिवेदनमा आरोप लगाइएको छ ।

२००७ सालको दिल्ली सम्झौतादेखि २०७२ सालको नाकाबन्दीसम्मका प्रमुख घटनाहरुमा कांग्रेसले राष्ट्रिय हित र स्वाधीनताको पक्षमा अडान लिनुको साटो आत्मसमर्पणवादी नीति लिंदै आएको जनाइएको छ । सरकारमा रहँदा कांग्रेसले पटक–पटक अलोकतान्त्रिक निर्णय र काम गर्ने पार्टी रहेको, भ्रष्टाचारबिरुद्ध आफूलाई खडा गर्न नसकेको तथा कैयौ सन्दर्भमा भ्रष्टहरुको संरक्षण समेत गर्दै आएको नेकपा प्रतिवेदनमा उल्लेख छ ।

बिगतमा नेकपाले सामन्तवादबिरुद्धको संघर्षमा पटक–पटक कांग्रेससँग सहकार्य गरेको र भविष्यमा पनि संविधानको कार्यान्वयन, राष्ट्रियताको रक्षा र समृद्धिको सवालमा जति हदसम्म कांग्रेस तयार रहन्छ, त्यति हदसम्म सहकार्य गर्ने नीति नेकपाले लिने जनाएको छ ।

तर वर्गीय, बैचारिक र राजनीतिक रुपमा कम्युनिष्ट आन्दोलन र सर्वहारा श्रमजीवि वर्गले प्रतिष्पर्धा गर्नुपर्ने मुख्य शक्ति भने कांग्रेस नै रहेको नेकपाको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समाजवादी र राजपा नेपाल अतिवादी

नेकपाले समाजावादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) लाई तराई मधेस केन्द्रित दलको रुपमा चित्रण गरेको छ । कतिपय सवालमा दुबै पार्टीको नीति समान देखिए पनि यी दुईमा कतिपय प्रश्नमा भिन्नता रहेको जनाइएको छ ।

कतिपय बेला ‘ढुुलमुले’ देखिए पनि समाजवादी पार्टी राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको पक्षमा तुलनात्मक रुपमा सही ढङ्गले उभिने गरेको जनाइएको छ । यसले समाजवादउन्मुख समावेशी लोकतन्त्रलाई पनि सकारात्मक रुपमा आत्मसात गरेको उल्लेख छ । जातीय, भाषिक र संघीयताको सन्दर्भमा यसको सोच र नीतिमा केही संकीर्णता र अतिवाद प्रकट हुने गरेको नेकपा प्रतिवेदनमा जनाइएको छ । समाजवादी पार्टीको त्यस्तो सोच, नीति र कमजोर पक्षको आलोचना गर्दै सहकार्य गर्न सकिने नेकपाले जनाएको छ ।

राजपा नेपाल जातीय, भाषिक र संघीयताको बिषयमा अतिवादको पक्षपोषण गर्ने दल रहेको नेकपा राजनीति प्रतिवेदनले ठहर गरेको छ । राजपाले मजदुर, किसान, गरीब, सर्वहारा श्रमजीवि वर्गको हितको पक्षपोषण गर्दैन, बरु तिनका बिरुद्धमा उभिने गर्दछ भन्ने नेकपाको निष्कर्ष छ ।

राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा राजपाले आत्मसमर्पणवादी नीति अवलम्बन गर्ने गरेको छ । कतिपय बेला यसका बिभिन्न नेताहरुबाट बाह्य शक्तिको हित गर्ने र बिखण्डनकारी बिचार पनि प्रकट हुने गरेका समेत उल्लेख छ ।

मुलतः राजपाले तराई मधेसका बचेखुचेको सामन्त र दलाल पूँजीपति बर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्ने जनाइएको छ । संविधानको कार्यान्वयन एवं देश तथा जनताको हितको बिषयमा यसले जति हदसम्म आफूलाई प्रस्तुत गर्दछ, त्यति हदसम्म यससँग सहकार्य हुनसक्छ । समाजवादी र राजपालाई राष्ट्रिय राजनीतिको मुलधारमा रहन प्रोत्साहन गर्नुपर्ने नेकपाले जनाएको छ ।

अन्य कम्युनिष्ट तथा वामपन्थी शक्तिहरुलाई एकतामा सामेल गर्नुपर्छ

नेकपाले नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेमकिपा र अन्य कम्युनिष्ट तथा वामपन्थी समूहहरुलाई जडसूत्रीय, संकीर्ण, आत्मकेन्द्रित चिन्तन, नीति र व्यवहारको आलोचना गर्दै उनीहरुलाई एकतामा सामेल गर्ने पहल र प्रत्यन अघि बढाउने उल्लेख गरेको छ ।

यी दलहरुसँग राष्ट्रियता, लोकतन्त्र, समृद्धि र समाजवादका बिषयमा कार्यगत एकता र सहकार्यको नीति लिने तर उनीहरुका गलत नीति र व्यवहारका बिरुद्ध सैद्धान्तिक र बैचारिक संघर्ष जारी राख्ने उल्लेख गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव समूहले उग्रवामपन्थी प्रवृतिको प्रतिनिधित्व गरिरहेको उल्लेख गरिएको छ । नेपाली जनताको बलिदान र संघर्षबाट प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गर्ने संविधानलाई अस्वीकार गर्दै पुनः सशस्त्र संघर्षलाई तत्कालीन कार्यसूची बनाउँदै वकालत गरिरहेको छ । नेपालको आवश्यककता र परिस्थितिसँग पटकै मेल नखाने काम विप्लवबाट भईरहेको जनाइएको छ । विप्लवको मनोगतवादी एवं उग्रवामपन्थी प्रवृतिको कडा आलोचना गर्दै यसलाई राजनीतिको मुलधारमा ल्याउने प्रत्यन गर्नुपर्ने नेकपाले जनाएको छ ।

राप्रपा जनताबाट पुरै ‘अस्वीकृत’

पूर्व पञ्चहरुको पार्टीको रुपमा राप्रपा अहिले तीन समूहमा बिभाजित रहेको औंल्याइएको छ । यी तीन वटै समूहले मुलतः सामन्तवादी अवशेषको प्रतिनिधित्व गर्ने उल्लेख गरिएको छ । यिनीहरुले हिन्दु राज्यको नाममा धर्मलाई राजनीतिको अस्त्र बनाउन खोजिरहेको आरोप समेत लगाइएको छ । पछिल्लो निर्वाचनबाट राप्रपा सबै समूहहरु जनताबाट पुरै अस्वीकृत भईसकेको चित्रण नेकपाको रहेको छ ।

नेकपाले विवेकशील साझा, साझालगायत वैकल्पिक पार्टीहरूलाई पार्टीको दर्जा दिन आवश्यक ठानेको छैन । उनीहरूका बारेमा दस्तावेजमा कुनै कुरा उल्लेख नगरी पूरै मौन छ ।

बिश्व

नेकपा अमेरिका, चीन र भारतप्रति नरम देखिएको छ । पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेजलाई संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम नीति लिएको छ । यसअघि आयोगमा बुझाएको दस्ताबेजमा अमेरिकी नीतिका कारण व्यापार युद्ध हुन सक्ने सम्भावना औंल्याएको नेकपाले अहिलेको राजनीतिक प्रतिबेदनमा उल्लेख गरेको छैन् ।

अमेरिकाले अन्य मुलुकबाट आयातित वस्तुमाथि कडा भन्सार नीति लागू गर्दै आफ्नो एकाधिकार पूँजीलाई संरक्षण गर्न चालेको कदमले मतभेद चुलिँदै गएर व्यापार युद्ध हुन सक्ने आशंका समेत गर्न थालिएको दस्ताबेजमा उल्लेख थियो । अहिले प्रकाशित राजनीतिक प्रतिबेदनमा अमेरिकी शब्द झिकेर पश्चिमा शक्ति राष्ट्रहरू भन्ने शब्द गरिएको छ ।

यस्तै भारतप्रति नरम देखिएको नेकपा छिमेकी शासकहरू भनेर प्रष्ट संकेत गरेको भारतीय व्यवहार झिकेर वैदेशिक प्रतिक्रियावादी शक्ति राखिएको छ । बाह्य हस्तक्षेप र उत्पीडनलाई अन्त्य गर्न आवश्यक पहलका साथ उपयुक्त कदम चाल्नुपर्ने निष्कर्ष नेकपाको छ ।

नेपाललाई आर्थिक र सुरक्षासम्बन्धी गतिविधिमा आफूमाथि निरन्तर आश्रित बनाएर नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने र नेपालको राजनीतिलाई समेत आफ्नो प्रभावमा निरन्तर राखिरहने बैदेशिक प्रतिक्रियावादी शक्तिहरुको व्यवहारले गर्दा नेपाल नवउपनिवेशवादी नीति र व्यवहारबिरुद्ध समेत निरन्तर संघर्ष गरिरहनुपरेको नेकपाले उल्लेख गरेको छ । तर ती मुलुकको नाम भने उल्लेख गरिएको छैन् । नेकपाले नेपालको स्वाधीनता, सार्वभौमसत्ता र स्वाभिमानलाई सुदृढ पार्न निरन्तर लागिरहनुपर्ने उल्लेख गरेको छ ।

विश्व वितीय पूँजीवाद गम्भिर संकट मन्दीबाट गुज्रिरहेका बेला जनवादी गणतन्त्र चीनलगायतका मुलुकहरुले भने अर्थतन्त्रको क्षेत्रमा गुणात्मक फड्को मारेका छन् । चीन बिश्वको दोस्रो आर्थिक शक्तिको रुपमा स्थापित भएको र निकट भविष्यमै पहिलो आर्थिक शक्तिका रुपमा स्थापित हुने दिशामा रहेको उल्लेख गर्दै चीनप्रति पनि नेकपा नरम देखिएको छ ।

एसिया क्रमशः आर्थिक विकासको केन्द्र बन्दै गएको र भूमण्डलीकृत पूँजीवादको ध्यान पनि त्यतै केन्द्रित हुँदै गएको छ । एक धु्रवीय शक्तिलाई चुनौती दिंदै विश्व बहुध्रुवीय दिशातर्फ अग्रसर भईरहेको छ । यससँगै नयाँ–नयाँ अवसर र चुनौतीहरु पनि सिर्जना भएको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७