नेकपा एकता : ७७ जिल्ला र ६ महानगरपालिकाका इञ्चार्ज र सह-इञ्चार्ज ताेकिए

केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड टुङ्गियो


५ श्रावण २०७६, आईतवार
ncp 1

-सन्तोष साह
काठमाडौं, ५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ । ७७ जिल्ला र ६ महानगरलाई समेत जिल्लाकै मान्यता दिदै ८३ इञ्चार्जसहित सह–इञ्चार्जको टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले इञ्चार्ज र सह–इञ्चार्जको निर्णय गरेको छ । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता प्राप्त ६ वटा महानगरपालिकामा इञ्चार्ज र सहइञ्चार्ज तोक्ने निर्णय भएको बताए ।

‘आजको बैठकबाट ७७ जिल्ला र जिल्लाकै मान्यता पाएको ६ महानगरपालिकामा इञ्चार्ज र सह–इञ्चार्ज तोक्ने निर्णय भएको छ’, श्रेष्ठले भने, ‘अर्को बैठकबाट बिभाग, आयोग, प्रवाससहित अन्य निकायहरुको एकिकरण टुंगो लगाउने छौं ।’

बैठकबाट बिभाग, आयोग, प्रवास, पोलिटव्युरो कमिटी गठनलगायतको एकता टुंगो लगाउने एजेण्डा थियो । तर सहमति हुन नसक्दा मंगलबार पुन बस्ने सचिवालय बैठकले एकताको बाँकी काम टुंगो लगाउने बताईएको छ । आउँदो मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले बताए ।

नेकपा शीर्ष नेताहरुबीच भएको पूर्व सहमति अनुसार ८३ जिल्ला इञ्चार्जमा तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इञ्चार्ज पाएका छन् । एमालेको इञ्चार्ज भएको जिल्लामा माओवादीको सहइञ्चार्ज र माओवादीको इञ्चार्ज भएको जिल्लामा एमालेले सह–इञ्चार्ज पाएका छन् ।

नेकपा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालका बीचमा भएको सहमति अनुसार जुन पार्टीका जिल्ला इञ्चार्ज थिए उसैले पाउने गरी टुंगो लगाईएको छ ।

बैठकमा भएको बिवादका कारण कतिपय जिल्लाले सह–इञ्चार्ज पाउँन सकेका छैनन् भने कतिपय जिल्लामा १० जनासम्म सहइञ्चार्ज बनाएर बिवाद समाधान गर्ने प्रयास गरिएको छ । सचिवालय सदस्य बामदेव गौतमका अनुसार केही जिल्ला बाहेक सबै जिल्लामा सहइञ्चार्ज तोकिएको र केही जिल्लामा आवश्यकता भन्दा बढी नै सहइञ्चार्ज राख्दै विवाद समाधान गर्ने प्रयास गरिएको बताए ।

सचिवालय बैठक बस्नु अघि तत्कालीन एमाले र माओवादी केन्द्रको छुटाछुटै बैठक बसेको थियो । एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा र माओवादीको खुलमटारस्थित प्रचण्ड निवासमा बैठक बसेको थियो ।

नेकपा स्रोतका अनुसार स्कुल बिभागमा सचिवालय सदस्यद्धय नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेल दुबैले दावी गरेपछि बिभागको टुंगो लाग्न नसकेको हो । सचिवालय बैठक अघि दुबै पार्टीको छुटाछुटै बैठक बस्दै आफ्ना भागमा परेका बिभागीय प्रमुख चयन गर्ने बिषयमा छलफल गरेको थियो ।

नेकपाका ३२ वटा विभागमा भागबण्डाको सहमती यसअघि नै भईसकेको थियो । ३२ बिभागमध्ये १८ वटामा तत्कालीन एमाले र १४ वटामा तत्कालिन माओवादीले प्रमुखको जिम्मेवारी लिने सहमति यसअघि नै भइसकेको छ ।

नेकपा सचिवालयमा रहेका तत्कालीन एमालेका ६ नेताहरु आफ्नो पक्षको नेतृत्व टुंगो लगाएका सकेका थिए । अध्यक्ष एवं प्रधानमन्त्री ओली, वरिष्ठ नेताद्धय नेपाल, झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेल र महासचिव बिष्णु पौडेल सो बैठकमा सहभागी रहेको थियो ।

बैठकले बिदेश बिभाग प्रमुखमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा वरिष्ठ नेता नेपाल र संगठन बिभागमा गौतमलाई बनाउँने सहमति भईसकेको थियो । यसैगरी अर्का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री खनाललाई नीति अध्ययन प्रतिष्ठानको प्रमुख बनाउने सहमति भएको छ ।

1 12
2 11
3 6
4 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७