अख्तियारद्वारा एकै दिन पाँच इन्जिनियर पक्राउ, घुसका ३० लाख बरामद
काठमाडौं, ५ साउन । अख्तियार दुरूपयोग अनुसन्धान एकै दिन विभिन्न जिल्लाका पाँच सरकारी इञ्जिनियरलाई घूस रकमसहति रंगेहात पक्राउ गरेको छ ।
बर्दिया, दोलखा र सिन्धुपाल्चोकका पाँच इञ्जिनियरहरूले घुसबापत लिएको झण्डै ३० लाख रकमसहित अख्तियारले शनिबार नियन्त्रणमा लिएको हो । अख्तियारले शनिबार स्टिङ अपरेसन गरेर घूससहित रंगेहात पक्राउ गरेका कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीन इन्जिनियर कमल सिटौला, विश्वेश्वर प्रसाद शाह, हरि प्रसाद चौधरी र सवारी चालक टंकप्रसाद ओझालाई घुस लिएको १५ लाख नगदसहित पक्राउ गर्यो ।
उनीहरूले निर्माण योजनामा तारजाली भर्ने कामको विल रकम भुक्तानी गरेवापत सेवाग्राहीसँग घूस मागिरहेका छन् भन्ने सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो। नभन्दै बर्दिया जिल्ला गेरूवा गाउँपालिका–१ बाट रंगेहात फेला पारेको हो ।
यस्तै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, दोलखाका सिनियर इञ्जिनियर प्रकाश अधिकारीले विभिन्न उपभोक्ता समितिहरू तथा अन्य कम्पनीबाट घुस रकम उठाएर काठमाडौं जाँदैछन् भन्ने सूचना पाएपछि अख्तियारले उनको पिछा गरेको थियो ।
बा. १ झ ५२८० नम्बरको सरकारी टोयोटा हाइलक्स गाडीमा उनी काठमाडौं जाँदैछन् भन्ने सूचना पाएको २ दिनपछि अख्तियारले अधिकारी र चालक सुमन खड्कालाई भक्तपुरको जगातीमा फेला पारेको थियो । उनीहरूसँगबाट १३ लाख ३८ हजार पाँच सय रुपैयाँ बरामद भएको छ ।
उनीहरूसँगै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इञ्जिनियर भोगेन्द्र साह पनि पक्राउ परे। उनीसँगबाट भने शंकास्पद एक लाख २९ हजार १ सय ५ रूपैयाँ बरामद गरेको अख्तियारले जनाएको छ ।