विप्लव नेकपाका काठमाडौं उपत्यका इन्चार्ज माईला लामा पक्राउ


५ श्रावण २०७६, आईतवार
Maila Lama

काठमाडौं,५ साउन :नेपाल प्रहरीले मध्यरातमा विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माईला लामालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट उनलाई प्रहरीले शनिबार मध्यराती पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले लामा पक्राउको पुष्टि गर्दै उनलाई काँडाघारीबाट शनिबार राति १२ बजे हिरासतमा लिइएको बताए।


प्रहरीले लामासँगै विप्लवका अर्का कार्यकर्ता रेशम तामाङलाई पनि हिरासतमा लिएको छ लामामाथि केही महिनायता उपत्यकाको नख्खु अनामनगर र घट्टेकुलोमा भएका बम विस्फोटनका घटना गराउन निर्देशन दिएको आरोप प्रहरीले लगाएको छ ।

उपत्यकामा भएका विस्फोटमा ५ जना भन्दा धेरैले ज्यान गुमाएका थिए। फागुन १० गते नख्खुस्थित एनसेलको कार्यालयमा भएको विस्फोटमा एकजना मारिएका थिए भने घट्टेकुलो, सुकेधारामा जेठ ५ गते भएको विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए।


जेठमा भएको विस्फोटपछि प्रहरीले लामाको खोजी गरिरहेको थियो। घटनालगत्तै प्रहरीले राजधानीबाट विप्लवका ४ जना कार्यकर्ता समातेको थियो। प्रहरीले खोटाङका मोतिधन राई, रोल्पाका भूपेन्द्र घर्ती, मोरङकी विन्दुकुमारी कुइँकेल र रुकुमकी सन्ध्यादेवी पुनलाई पक्राउ गरे पनि लामा फरार थिए। पक्राउ परेकाले लामाको नाम लिएका थिए।

पक्राउ परेका लामाको घर काठमाडौँको नागार्जुन नगरपालिकास्थित डाँडागाउँ हो। लामा १० वर्षे जनयुदद्धका क्रममा गम्भीर घाइते भएका थिए। उनी राम्ररी सुन्न सक्दैनन् भने आँखा पनि कमजोर छन्।

जनयुद्धका क्रममा चर्चित सांस्कृतिक कलाकार उनी माओवादी विभाजित भएपछि सुरुमा मोहन वैद्यतिर लागेका थिए। तर वैद्य समूह पनि फुटेपछि उनी विप्लवमा पुगेका थिए।

जनयुद्धका क्रममा कैयन गीत लेखेका उनी २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा उम्मेदवार पनि बनेका थिए। हाल नख्खु जेलमा रहेका स्थायी समिति सदस्य हेमन्तप्रकाश वलीपछि लामा पक्राउ पर्नेमा अर्का ठुला नेता हुन्। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७