निर्वाचन रोक्नु पर्ने कुनै कारण छैन : भिम रावल

 

फाइल तस्बिर

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले स्थानीय तहको निर्वाचन रोक्नु पर्ने कुनै कारण नभएको बताएको छ ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्धारित मितिमा नै निर्वाचन हुने विश्वास व्यक्त गर्दै कुनै एक राजनीतिक दलले निर्वाचनमा भाग नलिँदैमा निर्वाचन नरोकिने बताएका छन् । ‘निर्वाचनमा भाग लिन नलिने त्यो पार्टीको इच्छाको कुरा हो’ उनले भने, ‘बीस वर्षदेखि हुन नसकेको निर्वाचनमा सहभागी हुन पाउने भएपछि जनता उत्साहित देखिएका छन् । त्यसैले जनतालाई अधिकार दिन तोकिएकै समयमा निर्वाचन गराउनुपर्छ ।’

उनले निर्वाचनको मिति तल माथि भए सरकारले कुर्ची छाड्नुपर्ने बताए । उनले सङ्घीयता चाहने दल संयुक्त मधेसी मोर्चाले नै सङ्घीयताको विरोध गरेको उल्लेख गदै भर्खर गठन भएको स्थानीय तहको कार्यालय तोडफोड गर्नु ठीक नभएको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले निर्वाचन र संविधान संशोधन सँगसँगै लैजानुपर्ने बताए । उनले निर्वाचनमा मधेसी मोर्चालाई पनि सहमत गराएर लैजानुको विकल्प नभएको पनि बताए।
अहिले स्थानीय तहमा विवाद सिर्जना भए पुरानै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उनको भनाइ थियो ।

‘नयाँ संरचनामा जाँदा समस्या हुन्छ भने पुरानै संरचनामा गएर निर्वाचन गरौंं’ रावलले भने, ‘पुरानो संरचनामा जाँदा मधेसवादी दलमा पनि आउँछन् ।’

यसमा तपाईको प्रतिक्रिया