भेनेजुएलाका राष्ट्रपतिका छोरा ‘गुपचुप’ काठमाडौंमा


३० असार २०७६, सोमबार
Venezual President son

काठमाडौं, ३० असार । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’ काठमाडौंमा छन् ।

त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन् । शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना छन् । चार दिन नेपाल बस्दा निकोलस अर्नेस्टोले कम्युनिस्ट नेताहरूसँग भेटघाट गर्नेछन् । त्यस क्रममा आइतबार नेकपा नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटिसकेका छन् । सत्तारुढ दल नेकपाको युवा संगठनको निम्तोमा उक्त टोली काठमाडौं आएको हो ।

भ्रमणमा आउँदा राष्ट्रपतिका छोरा, मन्त्री र टोलीका अन्य सदस्यले आवतजावत गर्ने साधारण कक्ष प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं प्रवेश गरेका थिए । नेपालका लागि भेनेजुएलाका आवासीय राजदूत कोरोमोतो गेदाई क्लाल्डरनले मात्र भीआईपी कक्ष प्रयोग गरेका थिए ।

राष्ट्रपतिका छोरा मादुरो गुयरा विशेष सैनिक फौज (कर्पस् अफ स्पेसल इन्स्पेक्टर्स अफ दि प्रेसिडेन्सी) का प्रमुख हुन् । यसले राष्ट्रपति कार्यालयबाट भएका निर्णय कार्यान्वयन एवं प्रभावको सुपरिवेक्षण समेत गर्छ । उनी पार्टी र संसद्मा समेत छन् ।

नेपाल आएका टोलीका अधिकांश सदस्य इन्टरनेसनल वामपन्थी युवा शक्तिमा आबद्ध छन्। साम्राज्यवाद विरोधी युवा–विद्यार्थी संगठनहरूसँगको भाइचार सम्बन्ध विकास गर्ने उद्देश्यसाथ उनीहरू काठमाडौं आइपुगेका हुन् ।

आइतबार उनीहरूले राजधानीको पाँचतारे होटल ‘याक एन्ड यती’ मा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईं, रामप्रसाद सापकोटा (दीपशिखा) लगायतको उपस्थितिमा दुई देशबीचको सम्बन्ध विस्तार र विकासका सन्दर्भमा युवा–विद्यार्थीका नेताहरूसँग अन्तक्र्रिया गरेका थिए । त्यसपछि नेकपा सचिवालय सदस्य गौतमसँग भेटघाट गरे ।

भैंसेपाटी आवास क्षेत्रमा रहेको निवासमै पुगेर उनीहरूले नेता गौतमसँग करिब साढे दुई घण्टा कुराकानी गरेका थिए । उक्त भेटघाटमा नेकपाकै केन्द्रीय सदस्य बलराम बास्कोटा पनि सहभागी थिए ।

‘दुई देशबीचको सम्बन्ध, दुवै देशले आ–आफ्नै विशेषतासाथ भन्दै आएको समाजवादलगायत विषयमा नेता गौतम र भेनेजुएलाको टोलीबीच छलफल भयो,’ भेटमा सँगै रहेका नेता बास्कोटाले भने । बास्कोटा राष्ट्रपति निकाले मादुरोको दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन पुस २७ गते भेनेजुएला पुगेका थिए ।

उक्त कार्यक्रममा ७२ देशका सरकारी र कम्युनिस्ट पार्टीका प्रतिनिधिहरू सहभागी थिए। नेपाल आएका राष्ट्रपतिका छोरासहितको टोलीले नेकपाका प्रवक्ता श्रेष्ठसँग पनि आइतबारै कुपन्डोलस्थित होटल समिटमा भेटघाट गरेको थियो । साँझ भने सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका नेतासँग डिल्लीबजारस्थित भोजनगृहमा भेटघाट भएको थियो ।

भेनेजुएलाको मन्त्रिमण्डलमा ५० प्रतिशत युवाको प्रतिनिधित्व गराइन्छ। टोलीमा आएकामध्ये तीन जना युवामन्त्री रहेको स्रोतले जनायो । तर, तिनको विस्तृत विवरण खुल्न सकेन । युवा संघका अध्यक्ष समेत रहेका नेकपा केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले टोलीमा रहेकाहरू को–को के हुन् भन्ने जानकारी आफूहरूसँग पनि नरहेको बताए ।

‘हामीलाई उहाँहरू त्यहाँको इन्टरनेसनल वामपन्थी युवा संगठनमा आबद्ध रहेका साथीहरू हुनुहुन्छ भन्ने जानकारी छ । हाम्रै निम्तोमा उहाँहरू आउनुभएको हो । अन्य उहाँहरू को–के, कसका नातेदार भन्ने हामीलाई भनिएको छैन, जानकारी पनि छैन’, उनले भने ।

भ्रमण टोलीले युवा विद्यार्थीदेखि नेकपाका नेताहरूसँगको भेटघाटमा भेनेजुएला र नेपालको भौगोलिक अवस्था करिब उस्तै रहेको, नेपाल कृषिप्रधान देश भएको र भेनेजुएलाले पनि कृषिलाई प्राथमिकता दिँदै आएको, साम्राज्यवादविरुद्ध लडाईमा नेपाल र भेनेजुएला दुवै देश रहेकाले पनि आगामी दिनमा दुई देशको सम्बन्ध विस्तार गर्दै जाने विषय उठाएको स्रोतले जनायो । दुई देशबीचको सम्बन्ध सुधारका लागि राजदूतावास नै राखेर जानुपर्नेमा छलफलका क्रममा दुवै पक्षले जोड दिएका थिए ।

भेनेजुएलामा पछिल्लो चरण राजनीतिक संकट चुलिँदो छ । सार्वभौम देशमाथि अमेरिकाले हस्तक्षेप गरेको भन्दै त्यहाँको राजनीतिक संकटका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले १० माघमा वक्तव्य समेत दिएका थिए । दाहालको उक्त वक्तव्यपछि देशभित्रै उनको पार्टीभित्रै र बाहिर पनि विवाद निम्त्याएको थियो ।

भेनेजुएलाको राजनीतिक संकटलाई हेर्ने दृष्टिकोणमै नेपालका राजनीतिक दल र तिनका नेतामा धु्रवीकरण ल्याइदिएको थियो ।
नेकपा अध्यक्ष दाहालको वक्तव्यपछि नेपालस्थित अमेरिकी राजदूतले परराष्ट्र मन्त्रालयलाई भेनेजुएला प्रकरणमा नेपालको धारणा माग गरेको थियो । पछि नेकपा र परराष्ट्रले दाहालकै वक्तव्यलाई बल पुग्ने गरी आफ्नो धारणा सार्वजनिक गरेको थियो ।

भेनेजुएलामा राजनीतिक संकट यथावत् छ । त्यसले केही दिन चिसिएको नेपाल–अमेरिका सम्बन्ध पुनः सामसुमझैं देखिएको छ । त्यसपछि अध्यक्ष दाहालपत्नी सीताको उपचारार्थ अमेरिका भ्रमण गरी फर्किएका छन् ।

राष्ट्रपति निकोलास मादुरेलाई रुस, चीनलगायत देशले साथ दिइरहेका छन् भने युरोपियन युनियन, अमेरिकालगायतले विपक्षी दलका नेता हुवाँ गुवाइदोलाई साथ दिइरहेका छन् । नर्वेले राजनीतिक निकासका लागि दुवै पक्षबीच संवादको पहल गरिरहेको छ । अहिले त्यहाँको संकट सुध्रिनेमा दुवै पक्षले आशा देखाएका छन् ।

नेपाल आएका राष्ट्रपतिका छोरासहितको टोलीको भेटलाई ‘गोप्य’ बनाउनकै लागि प्रधानमन्त्रीलगायत मन्त्रीहरूसँगको भेटलाई भने कार्यसूचीमा राखिएको छैन । उनीहरूको टोलीलाई सोमबार नगरकोट, चन्द्रागिरिलगायतका साइड सिन भ्रमणमा लैजाने कार्यसूची युवा संघले बनाएको छ । टोली मंगलबार बिहान स्वदेश फर्किने कार्यक्रम छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७