भारतको कारण रौतहट सदरमुकाम डुबानमा


२८ असार २०७६, शनिबार
rautahat duban 2

रौतहट, २८ असार । रौतहटको सदरमुकाम गौरस्थित सीमा क्षेत्रमा भारतीयले निर्माण गरेको बाँधको ढोका (साईफन) बन्द गरेको छ । ढोका बन्द गरेका कारण पानीले निकाश नपाउँदा सदरमुकाम गौर डुबानमा पारेको हो । अहिले सदरमुकाम गौरको जनजीवन अस्तब्यस्त छ ।

बाँधका कारण पानीले निकाश नपाउँदा वर्षेनी गौर डुबानमा पर्दै आएको हो । अहिले बैरगनिया क्षेत्रको पूर्वी क्षेत्रमा भारतले निर्माण गरेको ३ वटा ढोका (साईफन) बन्द गरेको छ ।

भारतीय पक्षसँग ढोका खोल्न अनुरोध गर्न प्रमुख जिल्ला अधिकारीले सम्पर्क गरेपनि भारतको सितामाढी जिल्लाका प्रमुख (डीएम) सम्पर्कमा आएका छैनन् । भारतको सितामाढीका डीएम डा. रञ्जितकुमार सिंहलाई फोन गर्दा सम्पर्कमा आउन नचाहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । ‘हामी निरन्तर सम्पर्कको प्रयासमा छौं । भारतीय पक्षले बाँधको ढोका खोलेको भए राहत हुन्थ्यो, उनले भने, ‘गृह मन्त्रालयले पहल गर्नुपर्छ ।’ यस बारे जिल्ला प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराएको छ ।

भारतले आफ्नो भूमि डुबानमा पर्नबाट जोगाउन दुई दसक अघि नेपाल–भारत सीमा क्षेत्रमा ठूलो बाँध निर्माण गरेको थियो । त्यही बाँध अहिले गौरबासीको लागि काल बनेको छ । बाँधका कारण पानीले निकाश नपाउँदा वर्षेनी गौर डुबानमा पार्दै आएको हो । नेपाली क्षेत्रमा पानीको सतह बढी भयो भने अनिवार्य रुपमा ढोका खोल्नु पर्छ । तर भारतीय पक्षले ढोका बन्द गरेको छ । ढोका खोलेको भए डुबान कम हुन्थ्यो । एक वर्ष अघि यस्तै डुबानमा परेको बेला सीमा क्षेत्रको बाँध फुटेको थियो । त्यसपछि गौरमा मानवीय क्षति हुनबाट जोगिएको थियो ।
भारतीय सुरक्षाकर्मीहरु अहिले बाँधमा सुरक्षा दिईरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७