एमालेलाई मुलुकका कुनै पनि भू–भागमा जानबाट कसैले रोक्न सक्दैन : ओली

रावलको प्रश्न, 'विश्वमा यति समावेशी कहाँ छ ?'

KP Sharma Oli
तस्बिर : खनेन्द्रकुमार राई (अर्जुन) /नयाँ पेज

मोरङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छाड्नु परेपनि जनताका मनमा पार्टी झन् बलियो गरी बसिरहेको बताएका छन् । त्यो निर्वाचनबाट त्यो मत प्रकट गर्न जनता आतुर रहेको उनको भनाई छ ।

मेची–महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन आइतबार मोरङको विराट चोकमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले आफूले फैलाएका भ्रम उदाङ्ग हुने ठानेर केही दलले अवरोधको कुरा गरेपनि अभियान सफल भएरै छाड्ने बताएका छन् । उनले स्थानीय निर्वाचन नेकपा (एमाले) को मात्र माग नभएर सिंगो राष्ट्र र नेपाली जनताको माग भएको उल्लेख गरे । उनले भने, ‘यो चुनाव प्रचार अभियान होइन, भ्रम तोड्न राष्ट्रिय अभियान चलाएका छौँ । हामीले मधेसमा संविधानका बारेमा बोल्यौँ भने आफ्नो भ्रमको खेती सकिन्छ भनेर अवरोध खडा गर्न खोजिएको छ । तर, नेकपा (एमाले) लाई मुलुकका कुनै पनि भूभागमा जानबाट कसैले रोक्न सक्दैन ।’

यो संविधान नेपाली जनताले आफ्ना लागि आफैँ बनाएका भएकोले कसैलाई चिन्ता नगर्न चेतावनी दिए । उनले नेकपा (एमाले) सत्ताका लागि आफ्ना मान्यताहरुलाई तिलाञ्जली दिने पार्टी नभएको बताए । उनले भने, ‘हाम्रा लागि राष्ट्र सबभन्दा ठूलो छ ।’

रावलको प्रश्न, ‘विश्वमा यति समावेशी कहाँ छ ?’

Bhim Rawal
तस्बिर : खनेन्द्रकुमार राई (अर्जुन) /नयाँ पेज

कार्यक्रममा बोल्दै उपाध्यक्ष भीमबहादुर रावलले ५ वर्ष ८ महिना लगाएर संविधान बनाउँदा पपनि रातारात बनाइएको, सबैको सहभागिता नभएको भन्ने जस्ता गलत प्रचार गरिएको भन्दै तथ्यांकमा हेर्न आग्रह गरे । ९० प्रतिशत जनताका प्रतिनिधि, मधेसी, जनजाति, महिला, मुस्लिम, थारु, दलितको ठूलो हिस्साले समर्थन गरेकाले यसलाई केही सीमित मानिसले पूर्वाग्रहपूर्ण रुपमा गलत प्रचार गरेको बताए । उनले भने, ‘हाम्रो चुनौती छ– विश्वमा यति समावेशी, समानुपातिक र पहिचान झल्काउने संविधान कुन देशमा छ ?’

मधेस र जनजाति बहुल क्षेत्रका जनताले एमालेलाई माया गरेको छ : नेम्वाङ

Subash Nembang
तस्बिर : खनेन्द्रकुमार राई (अर्जुन) /नयाँ पेज

स्थायी समिति सदस्य सुवास नेम्वाङले नेकपा (एमाले) लाई मधेस र जनजाति विरोधी भनेर जति चर्को प्रचार गर्न खोजिए पनि त्यो तथ्यमा आधारित नभएको बताए । उनले भने, ‘हामीलाई मधेस र जनजाति बहुल क्षेत्रका जनताले सधैँ माया गरिरहेका छन् । ती ठाउँबाट हाम्रो पार्टी विजयी हुँदै आएको छ । बरु, मधेसमा आफूलाई मधेसवादी भन्ने र जनजाति बहुल क्षेत्रमा जनजातिवादी भन्नेहरु नै पराजित भएका छन् ।’

भारतमा ६५ प्रतिशत र अमेरिकामा ५२ प्रतिशत मतबाट संविधान बनेको उदाहरण दिँदै उनले भने, ‘हामी अरु कुनै मुलुकका आन्तरिक मामिलामा बोल्दैनौँ । गत वर्ष भारतमा पटेल र जाटहरुले ५० औँ लाखका जुलुस निकाले, दिल्ली जाने पानीका मुहान थुने । तर, हामीले भारतको आन्तरिक मामिलामा बोलेनौँ । हामी पनि चाहन्छौँ, भारतले पनि हाम्रा आन्तरिक मामिलामा नबोलोस् ।’

पार्टीका केन्द्रीय कमिटी सदस्य तथा मोरङ जिल्ला इन्चार्ज डा. शिवमाया तुम्बाहाम्फेको अध्यक्षता र मोरङ जिल्ला अध्यक्ष विनोद ढकालको सञ्चालनमा आयोजित सभामा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।  मेची–महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन आइतबार मोरङ र सुनसरीमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएका छन् । हिजो झापाको दमकमा बास बसेको अभियानको केन्द्रीय टोली विहान त्यहाँबाट हिँड्दा बाटोमा फूलमाला र अबिरले स्वागत गर्नुका साथै सडक किनारामा लामबद्ध भएका हजारौँ जनताले ताली बजाएर ऐक्यबद्धता जनाएका थिए ।

यसमा तपाईको प्रतिक्रिया