‘विप्लव नेकपा वार्ताका लागि तयार’


२७ असार २०७६, शुक्रबार
biplab

काठमाडौं, २७ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न इच्छुक रहेको संकेत दिएको छ ।

विप्लव नेकपाको साताअघि बसेको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्ता बस्ने निर्णय गरेको छ । नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझावअनुसार वार्तामा बस्ने निर्णय गरेको स्थायी कमिटीका एक सदस्यले जानकारी दिएका छन् ।

‘यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र गर्‍यो’, पत्र पठाएन,’ उनी भन्छन्, ‘यसपटक पार्टीले वार्ता बस्ने औपचारिक निर्णय गरेको छ । सरकार पनि इमानदार भएर आउनु पर्छ ।’ यसअघि चन्द समूहले पक्राउ परेका नेता–कार्यकर्तालाई रिहा नगरेसम्म वार्ता नबस्ने भन्दै आएको थियो ।

‘वार्तामा आउने निर्णयलाई सरकारले कमजोरीका रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुन्छ,’ ती केन्द्रीय सदस्यले भने, ‘सरकारले कस्तो व्यवहार देखाउँछ, हेरौं ।’ ठूलो संख्यामा नेता–कार्यकर्तालाई पक्राउ गर्दा समेत आम जनचाहनाअनुसार वार्तामा बस्ने निर्णय गरिएको उनले दाबी गरेका छन् ।

उनले भने, ‘हाम्रा एक हजारभन्दा बढी नेता–कार्यकर्ता जेलमा छन्, ३ जना साथीको मुठभेडका नाममा सरकारले हत्या गरिसकेको छ ।’ उनले थपे, ‘मान्छे मार्ने हाम्रो नीति छैन, मान्छे मारेर अब क्रान्ति हुँदैन तर, सरकार चन्द समूहलाई हतियाररहित बनाउन भनेर हिँडेको छ ।

त्यो सपना नदेखे हुन्छ ।’ उनले आफूहरू सकभर वार्ताबाटै समाधान खोज्न तयार रहेको बताए ।
सरकारले पनि विभिन्न सम्पर्क सूत्रमार्फत वार्तामा आउन सन्देश पठाइरहेको खुलासा गर्दै उनले भने, ‘सबैको सुझाव र अनुरोधमा पार्टीले वार्तामा बस्ने औपचारिक निर्णय गरेको हो ।’ सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७