काम नगर्ने मेयरलाई महिलाको लुगा लगाई दिएर शहर घुमाइयो


२५ श्रावण २०७६, शनिबार
meyar

काठमाडौं, २५ साउन । चुनावका बेला नेताहरू विभिन्न वाचा गर्छन् । चुनाव जितेपछि भने सबै बिर्सन्छन् । चुनावी प्रतिबद्धता बिर्सने एक जना मेयरलाई मेक्सिकोका नागरिकले पाठ पढाएका छन् । उनीहरूले उनलाई महिलाको लुगा लगाउन लगाएर शहर घुमाए ।

गत हप्ता ह्विक्सटान प्रदेशमा रहेको सान आन्ड्रेस पोर्टो रिको शहरका मेयर जाभिइर जिमेनेजलाई नगरवासीले केही दिनसम्म महिलाको भेषमा शहर घुम्न बाध्य पारेका थिए ।
गाढा कालो रङको लामो स्कर्ट र सेतो ब्लाउज लगाएर आक्रोशित शहरवासीका अगाडि मेयर जिमेनेज हिंडेका थिए । एक जना नगर अधिकारी लुइस टनले उनलाई साथ दिएका थिए, जो गुलाबी रङको महिला पहिरनमा सजिएका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार चुनावताका जिमेनेजले शहरको खानेपानी प्रणालीमा सुधार गर्न करिब १ लाख ५८ हजार डलर बजेट छुट्याउने वाचा गरेका थिए । तर, यो रकम उनी आफैँले हिनामिना गरेको आरोप लगाइएको छ । महिलाको पोशाकमा शहर घुम्न बाध्य पारिएका मेयरले भने आफू निर्दाेष भएको दाबी गरेका छन् ।

रिसाएका नगरवासीले हातमा सरकारको असफलतामाथि खेद प्रकट गरिएका प्लेकार्ड बोकेका थिए । अँध्यारो मुख लगाएर शहर घुमेका मेयर जिमेनेजले शहरवासीलाई आफूले काम गर्न खोजेको बताइरहेका थिए । तर, उनीहरू भने मेयरलाई गाली गरिरहेका थिए ।

मेक्सिकोमा जनप्रतिनिधिलाई यसै गरी महिलाको पोशाक लगाउन बाध्य पारेर लज्जित तुल्याउने पुरानो परम्परा छ । धेरैले मेयरलाई कारबाहीस्वरूप महिलाको भेष धारण गर्न लगाएबापत शहरवासीको प्रशंसा गरे पनि केही आलोचक भने राजनीतिक नेताको विरोध गर्ने यो शैली अपरिपक्व भएको बताइरहेका छन् । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७