अनधिकृत पार्किङ गरिएका १२ हजार मोटरसाइकललाई कारबाही


१४ श्रावण २०७६, मंगलवार
parking 1

काठमाडौं, १४ साउन । काठमाडौं महागनरपालिका क्षेत्रभित्र अनधिकृत रूपमा पार्किङ गरिएका १२ हजार चार सय ९४ मोटरसाइकल कारबाहीमा परेका छन् ।

आर्थिक वर्ष ०७५–७६ मा नगर प्रहरी र ट्राफिक प्रहरीले कारबाही गरेका हुन् । पैदल यात्रुलाई हिँड्न गाह्रो हुने गरी र जाम हुने गरी पार्किङ गरिएका मोटरसाइकललाई उठाएर बग्गीखाना लाने गरिएको छ ।

‘पार्किङ गर्न नमिल्ने ठाउँमा पार्किङ गरिएका मोटरसाइकललाई कारबाही गर्ने गरेका छौँ,’ नगर प्रहरी नायब निरीक्षक श्यामप्रसाद तिमल्सिनाले भने, ‘फुटपाथ र सडक नै ढाकेर पार्किङ गर्नेलाई कारबाहीको दायरामा ल्याएका हौँ ।’

एक करोड २३ लाख राजस्व
कारबाहीमा परेका मोटरसाइकलबाट काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षमा एक करोड २३ लाख ८० हजार राजस्व संकलन गरेको छ । महानगर प्रहरीका अनुसार कारबाहीमा परेका मोटरसाइकललाई एक हजार जरिवाना तिराएर फिर्ता गर्ने गरिएको छ ।

कुन महिनामा कति ?
नगर प्रहरीका अनुसार ०७५ साउनमा एक हजार २४ मोटरसाइकल कारबाहीमा परेका थिए । भदौमा नौ सय चार, असोजमा ६ सय १९, कात्तिकमा चार सय २३, मंसिरमा सात सय ५४, पुसमा एक हजार एक सय ३९ मोटरसाइकल कारबाहीमा थिए ।

माघमा नौ सय २२, फागुनमा एक हजार ६२, चैतमा एक हजार चार २३, ०७६ वैशाखमा एक हजार चार सय ८५, जेठमा एक हजार तीन सय ९९ र असारमा एक हजार तीन सय ४९ मोटरसाइकललाई कारबाही गरिएको तिमल्सिनाले बताए ।

२४ मोटरसाइकलका धनी सम्पर्क्विहीन
गत आर्थिक वर्षमा कारबाहीमा परेका मोटरसाइकलमध्ये २४ मोटरसाइकल बग्गीखानामै थन्किएका छन् । कारबाहीमा परेका मोटरसाइकलका धनीले जरिवाना तिरेर मोटरसाइकल फिर्ता लैजाने गरे पनि २४ मोटरसाइकलका धनी सम्पर्कमा नआएको नगर प्रहरीले जनाएको छ । ब्लुबुक र लाइसेन्स ट्राफिक प्रहरीले जाँच गरेपछि जरिवाना रसिद काटेर मोटरसाइकल छोड्ने गरिएको छ ।

उक्त प्रक्रिया पूरा गर्न आवश्यक कागजात नभएका कारण धनी सम्पर्कमा नआएको आशंका नगर प्रहरीको छ । ‘ती मोटरसाइकल चोरीका पनि हुन सक्छन् । कर तिर्न बाँकी भएका पनि हुन सक्छन्,’ तिमल्सिनाले भने, ‘प्रक्रिया पूरा गर्न कागजात नहुँदा धनी सम्पर्कमा नआएको हाम्रो अनुमान छ ।’

धनी सम्पर्कमा नआएका मोटरसाइकल मुद्दा शाखाले ट्राफिक प्रहरीसँगको समन्वयमा भन्सार विभागलाई जिम्मा लगाउने गरेको छ । ती मोटरसाइकल भन्सार विभागलाई बुझाउन प्रक्रिया अघि बढाइएको छ ।

अनधिकृत रूपमा बढी पार्किङ हुने ठाउँ
नगर प्रहरीका अनुसार राजधानीका अधिकांश ठाउँमा अनधिकृत रूपमा पार्किङ गर्ने गरिएको छ । तीमध्ये पनि वीर अस्पतालअगाडिको सडक, पुतलीसडक, बागबजार, अनामनगर, बानेश्वर, कोटेश्वरलगायतका स्थानमा अनधिकृत पार्किङ धेरै हुने गरेको छ ।

तोकिएका क्षेत्रमा पार्किङ नगर्ने र अन्य ठाउँमा पार्किङ गर्ने समस्या बढेको नगर प्रहरीको भनाइ छ । ‘तोकिएका ठाउँमा पार्किङ नगरी सजिलोका लागि जतासुकै पार्किङ गर्ने, पैदल यात्रुलाई समस्या हुने गरी फुटपाथमा पार्किङ गरिएका मोटरसाइकललाई कारबाही गर्दै आएका छौँ,’ तिमल्सिनाले भने, ‘कोहीले भने पार्किङ गर्न मिल्दैन भन्ने थाहा नभएका कारण पनि कारबाही भोग्नुपरेको छ ।’ पार्किङ क्षेत्र तोकिए पनि बढ्दो सवारी चापका कारण समस्या बढेको उनको भनाइ छ ।

६ हजार चारपांग्रे सवारीमा ह्विल लक
ट्राफिक प्रहरी महाशाखाले अनधिकृत रूपमा पार्किङ गरिएका चारपांग्रे सवारीमा ‘ह्विल लक’ गर्ने गरेको छ । जामलाई व्यवस्थित पार्न र अनधिकृत पार्किङलाई निरुत्साहित गर्न महाशाखाले १८ पुसबाट ह्विल लक गर्न थालेको थियो । पुस यता मात्रै जथाभावी रोकिएका ६ हजार एक सय गाडीमा ह्विल लक गरिएको महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले जानकारी दिए ।

महाशाखाले सवारी आवागमनमा बाधा पु(याउने गरी पार्किङ गरिएका साधनलाई एक हजार जरिवाना र ‘नो पार्किङ’ एरियामा पार्किङ गरिएका सवारीलाई पाँच सय जरिवाना तिराउने गरेको छ । ‘सवारी आवागमनमा असर गर्ने गरी सडकमा साधन राख्न पाइँदैन । त्यसरी राखिएका सवारीलाई कारबाही गर्ने गरेका छौँ,’ पौडेलले भने । नयाँ पत्रिकाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७