राजनीति के हो र अपराध के हो छुट्याउनुपर्‍यो : योगेश भट्टराई

एमाले सचिव एंव प्रचार विभागका प्रमुख योगेश भट्टराई यतिबेला पुनः सुरु भएको मेची–महाकाली अभियानका क्रममा सक्रिय छन्। सप्तरीमा आफ्नो पार्टीको कार्यक्रम बिथोलेपछि मधेसी मोर्चासँग निकै आक्रामक देखिएका उनी यसबीचमा गृहमन्त्री, कांग्रेस र माओवादीको भूमिकामा समेत शंका व्यक्त गर्दैछन्। यही सन्र्दभमा नागरिक दैनिकका मणि दाहलले गरेको कुराकानी :-

 

सप्तरी घटनापछि प्रदेश नम्बर २ मा एमालेको अवस्था के हो?
प्रदेश नम्बर २ मा एमाले पहिलोदेखि बलियो शक्ति हो। अहिले पनि कमजोर भएको छैन। जनमतको हिसाबले अहिले काँग्रेसभन्दा मजबुत अवस्थामा छौं। काँग्रेसले बोकेको विचारले मधेसमा कुनै अलग धार दिएको छैन। एमालेले फरक धारका साथ आफ्नो उपस्थिति, पहिचान र सामथ्र्य परिचालन गरिरहेको छ।

अहिले त्यस क्षेत्रमा राजनीतिक शक्ति दुई भागमा विभाजित भएका छन्। एउटा एमालेले प्रतिनिधित्व गर्छ जुन मुख्य शक्ति हो। अरु एमाले विरोधीका नाममा सबै एक स्थानमा छन्। त्यसले गर्दा त्यहाँ काँग्रेस, मधेसी मोर्चा र माओवादीको कति छ भन्ने नै भएन। एमाले विरोधी विचारको मत दर्जनौं स्थानमा विभाजित हुन्छन्। जे अडान र विचार एमालेले लिएको छ त्यसको कारण हाम्रो जनमत राम्रो छ।

जनमत राम्रो भन्नुभयो तर तराई मधेसमा जानसक्ने अवस्थामा एमाले देखिएन त, कार्यक्रम नै स्थगित गर्नुपर्‍यो?

विचार, राजनीति लैजान, संगठन गर्न नपाइने भनेको कहिलेसम्म? कि राज्यको चरित्र पुरै अधिनायकवाद, सामाजिक फाँसीवाद वा राज्य पुरै असफलतातर्फ जाँदैछ भनेर स्वीकार्नुपर्‍यो। एमाले यो कुनै पनि कुरा स्वीकार्न तयार छैन। संस्थाहरु परिचालन गर्नुपर्ने सरकार असफल भए पनि राज्य असफल भएको छैन, सरकार निकम्मा भएको छ, जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिन सकेको छैन। शान्तिपूर्ण ढंगले आफ्नो राजनीतिक विचार राख्न पाउने संविधान प्रदत्त हक अधिकारहरु, राजनीतिक दल र उसका कार्यकर्ताको सुरक्षा गर्न सकेको छैन। त्यस अर्थमा सरकार असफल हो, मुलुक असफल भएको छैन।

एमालेले परिस्थितिको गाम्भीर्यलाई ध्यान दिँदै मेची–काली राष्ट्रिय अभियान प्रदेश नम्बर २ का केही जिल्लामा अहिलेलाई स्थगित गरेको होे। एमाले नयाँ सोच, शक्ति र सामर्थ्यका साथ २ नम्बर प्रदेशमा कार्यक्रम लिएर जान्छ। लुकेर जाने होइन घोषण गरेर जान्छ, सप्तरीको जस्तो घटना पटकपटक भए भने पनि एमाले त्यसबाट भाग्दैन। हामी दसौं स्थानमा त्यस्ता घटना सामना गर्न तयार छौं।

पूर्वप्रधानमन्त्री र पूर्वउपप्रधानमन्त्रीसहितको टोलीले गरेको कार्यक्रम हुन नदिने र भाँड्ने, जान नदिने, विचार सुन्न नदिने विषयको बराबरी एमालेका नेताहरुले कस्तो विचार व्यक्त गरे भन्ने कुराले कुनै अर्थ राख्दैन

 

पछिल्लो समयमा एमालेको पहिचान भनेको मधेस विरोधीको बनेको छ। नेताहरुको अभिव्यक्तिका कारण धेरै मधेसी जनता चिढिएका छन्। मेची–काली अभियानअघिदेखि नै पार्टीको तर्फबाट कमजोरी भयो जस्तो लाग्दैन?
यस विषयलाई सापेक्षिकरूपमा हेरिनुपर्छ। एमाले र नेतृत्वमाथि अराजनीतिक गालिगलौज गर्ने, कार्यालयहरू जलाउने, नेताहरूमाथि आक्रमण गर्ने, कार्यकर्ता पंक्तिलाई विस्थापित गर्ने जुन प्रयत्न तराई मधेसमा भए त्यसको जवाफी प्रतिवाद गर्दा हाम्रोतर्फबाट केही शब्द प्रयोग भए। जो जवाफी प्रतिवाद हो अन्य केही पनि होइन, त्यसलाई गलत अर्थ लगाइयो। तर ती शब्द डिक्सनरीको हिसाबले कुनै गलत अर्थ लाग्ने प्रकारका थिएनन्, त्यसलाई गलत अर्थ लगाएर प्रचार गरियो।

त्यस कुराले तराई मधेसका सर्वसाधारण जनताको भावनामा चोट पुगेको छ भने त्यसमा एमाले र नेतृत्वले संयमता अपनाउनुपर्छ। त्यसमा हामी कुनै प्रतिवाद गर्दैनौं। तर त्यसका नाममा प्रमुख प्रतिपक्षी राजनीतिक दल हो, जसको तीन तीन जना नेता यो देशको प्रधानमन्त्री बनेका छन्, तीन तीन जना पूर्वप्रधानमन्त्री र पूर्वउपप्रधानमन्त्रीसहितको टोलीले गरेको कार्यक्रम हुन नदिने र भाँड्ने, जान नदिने, विचार सुन्न नदिने विषयको बराबरी एमालेका नेताहरुले कस्तो विचार व्यक्त गरे भन्ने कुराले कुनै अर्थ राख्दैन। त्यसैले यसलाई अलग ढंगले बुभनु पर्छ ।

पहिलो कुरा के स्पष्ट गरौँ भने राजनीतिक स्वतन्त्रता छ कि छैन? बिनाहातहतियार भेला भएर शान्तिपूर्ण ढंगले राजनीतिक दलले गतिविधि गर्न पाउँछ कि पाउँदैन? बिनाहातहतियार भेला भएका मानिसलाई हातहतियारसहित लाठीमुंग्रासहित खेद्न पाइन्छ कि पाइँदैन?

मधेसी मोर्चा आजका दिनमा प्रतिपक्षी दल होइन। त्यो सत्तापक्षीय दल हो। चारवटा शक्ति मिलेर यो सरकार बनेकोे छ, काँग्रेसका मुख्य समर्थनमा माओवादीको नेतृत्व, मधेसी मोर्चाका समर्थन र राप्रपाको पनि संलग्नतामा यो सरकार बनेको छ। चारवटा शक्ति सत्ताका मुख्य स्टेेकहोल्डर हुन्। एमाले प्रतिपक्षी हो भनेपछि सत्तापक्षको घटकले प्रतिपक्षीको कार्यक्रममा गृहमन्त्रीको उक्साहटमा लखेट्न पाइन्छ कि पाइँदैन? यो तमाम कुरा गर्न पाइन्छ कि पाइँदैन? सञ्चारमाध्यममा यो बहस राम्रोसँग भएको छैन, जुन कुरा एमाले उठाउन चाहन्छ।

हामीले राष्ट्रिय मानव अधिकार आयोगलाई स्थलगतरूपमा अध्ययन गर्न भनेका छौ। आयोगले पनि एकपक्षीय कुरा सुन्नेेे होइन, सबैको कुरा सुन्नुहोला, एमाले, प्रहरी, सिडिओ, नागरिक समाजसहित हाम्रो आमसभामा आएका सहभागी ज्यानको कस्तो जोखिम मोलेर आएका थिए, त्यो सुन्नुहोला। अन्तर्राष्ट्रिय समुदायको संयन्त्र पनि अनुमनका लागि जानुहोला। त्यहाँ कस्तो अत्याचार भएको छ त्यो हेर्नुहोला। तराई मधेस नेपालको मध्यपूर्व हो एसियाको मध्यपूर्व होइन, एसियाको मध्यपूर्व कसैले बनाउन खोजेको छ भने त्यो हामी दिँदैनौं। नेपालको तराई खालिस्तान, अफगानिस्तान, पाकिस्तान होइन, त्यो नेपाल हो।

एमालेका नेताहरुको अभिव्यक्ति र बुझाइमा समस्या आएको कुरा गर्नुभयो। कम्युनिकेसन ग्यापले मात्रै एमालेप्रति मधेसमा त्यस्तो समस्या सिर्जना भएको हो त?
हामीलाई मधेसी जनतासँग कम्युनिकेसन गर्न पनि दिइएको छैन। आरोप होइन तर काठमाडौंबाट प्रकाशित हुनेे, मूलधारका सञ्चारमाध्यमले समेत यो विषयको भित्री प्वाइन्टमा पुगेर आफ्ना सामग्री तयार गरेेका छैनन्, सर्फेसमा मात्रै काम भएको छ। तराई मधेसबाट प्रकाशित हुने अधिकांश सञ्चारमाध्यम, रेडियोहरु तराई मधेस र पहाडको भावना भड्काउनमा क्रियाशील छन्। त्यसैले त्यहाँ वास्तविक सञ्चार हुनै पाएको छैन। जुन कुरा मेची–काली अभियानको माध्यमबाट एमालेले सञ्चार गर्न खोजेको हो। जनतालाई आफ्नो कुरा बताउँछु भनेर जान नपाएपछि कसरी कम्युनिकेसन हुन्छ?

एमाले र मधेसी मोर्चाबीचको विवादको विषय संविधान संशोधन हो। एमालेले अहिलेको समस्याबाट कस्तो निकास चाहेको हो?
मधेसी मोर्चाका साथीहरुलाई सोध्न चाहन्छौँ, एमालेेसँग केको प्रतिशोध साँध्न खोेजेको हो? एमाले संविधान संशोधनको विपक्षमा भएको स्पष्ट नै छ। लाठी र मुंग्री लगाएर खेदे पनि हामी संसद्मा भोट हाल्दैनौँ। यो संविधान संशोधनको प्रस्ताव पास गर्ने दायित्व मधेसी मोर्चाको हो कि प्रचण्ड र देउवाको हो? मोर्चा आफै पनि यो संशोधनको पक्षमा छैन। परिमार्जन नगरी समर्थन नगर्ने बताउँदै आएको छ। आफैँ पनि सन्तुष्ट हुन नसकेको संशोधनका लागि एमालेसँग किन दुश्मनी साध्न र भिड्न आउँदैछ ऊ?

एमाले जति भिड्न आए पनि साथ दिँदैन। मोर्चाले माओवादी र काँग्रेसको नेतृत्वलाई परिमार्जन कसरी गर्ने हो भन्नुपर्‍यो। हामी सरकारमा भए पो हामीले ल्याउने हो। कसरी परिमार्जन गर्ने, गर्ने कि नगर्ने भन्ने विषयमा हामीसँग बहस हुन्थ्यो। एमालेले यो संशोधनको पक्षमा छैनौ भनेर सार्वजनिकरूपमा यति स्पष्टसँग भनिसकेको छ। यस्तो अवस्थामा हामीसँग मोर्चा किन लड्न आउने? जसले भ्रम दियो वा मायाजालमा पार्‍यो, त्यतै जानु नि!

कार्यक्रम नै लिएर २ नम्बर प्रदेशमा जान सक्ने अवस्था छैन। अहिले संशोधनको विषयमा देखिएको विवाद समाधान नभई कसरी चुनाव होला त?
निकट भविष्यमै धनुषाको जनकपुरमा हामी पाँच लाख मानिसको सहभागितामा आमसभा गर्दैछौं। सार्वजनिकरूपमा घोषणा गरेर नै। हाम्रो दलको समग्र नेतृत्व सो स्थानमा जान्छ। कसलाई लाग्ला कि हामी गर्धन थाप्न जाँदैछौं। तराई मधेसको माटो कुनै विखण्डनकारीलाई सुम्पिन चाहँदैनौं, त्यो नेपालको माटो हो, त्यसमा एमालेको लास पर्ला तर एमालेले छाड्दैन।

तर के भन्ने गरिन्छ भने मध्यमार्गीहरूको माग पूरा नगरेर एमालेले मधेसमा पृथकतावादीका लागि मैदान तयार गरिदिँदैछ। हो?
हामीले उठाएको नेपालको राष्ट्रिय एकता, सामाजिक सद्भाव, जनताको एकता कसरी विखण्डनकारी विषय हुन सक्छ? जसले मुलुक टुक्राउनुपर्छ भन्दैछ नेपालको राष्ट्रिय झण्डा देखादेख लहानको चोकमा जलाउँछ, त्यसलाई बल पुग्ने गरी मधेसी मोर्चाले मानिस जम्मा गर्ने गरेको छ। सिके राउत, ज्वाला सिंह र गोइत यी सबैले मधेसी मोर्चाको संगठन चलाइरहेका छन्।

मधेसी मोर्चासँग कुनै सामर्थ्य नै छैन, उसले जनता जुटाउनै सक्दैन। मधेसी मोर्चाको आवरणमा आपराधिक तत्वहरु काम गरिरहेका छन्। हामी मधेसलाई भन्न चाहन्छौं– राजनीतिक दल हो भने राजनीतिक व्यवहार गर्नुहोस्, आपराधिक क्रियाकलाप तपाईँहरुको छाताबाट हुनुभएन। आपराधिक क्रियाकलपालाई राज्यले फरक ढंगले व्यवहार गर्नुपर्‍यो। अपराधलाई पनि ल्याएर राजनीतिभित्र हालिदिने, राजनीति नै त्यही अपराधलाई सेवा गर्ने काम आज तराई मधेसमा भइरहेको छ। यो छुटि्टनुपर्छ। राजनीति के हो र अपराध के हो छुट्याउनुपर्‍यो। त्यसलाई छुट्याएर त्यसैअनुसारको व्यवहार मधेसमा हुनुपर्‍यो। एमाले त्यो चाहन्छ।

मधेसमा एक दशकमा तीन चार पटक ठूला आन्दोलन भइसक्यो। यसको निकास के हो?
संविधानले जुन राजनीतिक अधिकार सुनिश्चित गरेको छ सम्प्रेषण गर्ने अधिकार तराई मधेसमा प्राप्त भइराखेको छैन। पहिलो राज्यले यस विषयको सुनिश्चितता गर्नुपर्छ। संविधानसम्मत राजनीतिक दल छन्, उनीहरुले निर्वाधरूपमा आफ्नो गतिविधि गर्न पाउने सुनिश्चित वातावरण बनाउनुपर्‍यो। त्यस्तो वातावरण बन्नेबित्तिकै सबै दल आफ्ना कुरा राख्न जान्छन्। त्यसपछि एमाले, राज्य र संविधानबारे रहेका भ्रम मास स्केलमा स्कुलिङ गरेर लाखौंलाख मानिसलाई बताउँछौं र धैरै मानिसलाई हामी स्पष्ट पार्ने छौं। यो अभियानका क्रममा पनि धेरै स्पष्ट पारेका छौं। पहिलो कुरा राजनीतिक वातावरण तराई मधेसमा बनाउनुपर्‍यो।

दोस्रो, निर्धारित समयमा चुनाव हुनुपर्‍यो त्यसले एउटा राष्ट्रिय वातावरण सिर्जना गर्छ। सबै दलका उम्मेदवार आफ्नो घोषणापत्रसहित राजनीतिक अभियान बोकेर जनताको घरदैलोमा जान्छन्, त्यस्तो हुनेबित्तिकै अहिले फैलाइएका धेरै भ्रम तोडिँदै जान्छ।

एमालेले तराई मधेसमा सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत जे गर्न खोजेका थियो त्यसले तराई मधेसको आर्थिक र सामाजिक रूपान्तरणको कुन दिशामा जाँदैछौं भन्ने कुरा प्रष्ट हुने थियो। तराईका जमिन्दार र ठालुहरु एकातिर उभिन पुग्छन् र गरिब, निमुखा हेपिएका दबिएका महिलालगायत जो सामाजिक उत्पीडनमा परेका थिए एकातिर हुने थिए।

निकास त्यही हो त?
निकास चुनाव हो। तराई मधेसमा राजनीतिक वातावरण बनाउने विषय हो।

मधेसी मोर्चाले संशोधन नभई चुनाव हुन दिन्नौ भनेको छ। एमाले लचक हुने सम्भावना छ कि छैन?
एमाले संविधान संशोधनमा लचक हुने कुनै प्वाइन्ट छैन। पूर्ववत् अडान जे हो त्यही हो, त्यसमा अडिग छौं। एमालेका कारणले संशोधन अघि बढ्न सकेन भन्ने कुरा आमसभा गरेर मधेसी मोर्चाले तराई मधेसमा बताए भइहाल्यो नि। यो संविधान संशोधन किन हुँदैन भनेर कारण पनि बताउन दिनुस् न। लाठी लगाएर, खेदेर हामी विचार बदल्छौँ भन्ने नठाने हुन्छ। पञ्चायत, राणा शासन, गिरिजाको दम्भ र ६४ सालमा प्रचण्डको हुँकारसमेत पचाएर आएको दल हो एमाले। मधेसी मोर्चा जम्मा ११ सिट जितेको दल न हो।

त्यसले तराई मधेसमा काँग्रेस नै छैन। त्यसैले शेरबहादुर देउवालाई भन्न चाहन्छु– सिंहको सवारीमा चढ्न सजिलो छ तर झर्दाखेरी के हुन्छ? याद गर्नुहोला।

क्षेत्रीय दल मोर्चासँग एमाले जस्तो राष्ट्रिय दल बढी जिम्मेवार बन्नुपर्ने होइन र? उनीहरुसँग जुध्न जानु त ठीक भएन कि?
हामी जुध्न गाएका हैनौँ, हामीले कसैलाई लाठी र भाला लिएर आउ र मधेसी मोर्चालाई लखेट भनेर कतै भनेका छौं? राजविराजको रंगशालामा कार्यक्रम गर्न नपाउने, गजेन्›नारायण सिंह औद्योगिक क्षेत्र र लहानमा हामीले कार्यक्रम गर्न नपाउने, त्यो नेपाल होइन? हामी कहाँ जुघ्न गएका छौं? मधेसी मोर्चाको वक्तव्य हेरौँ न के भनेका छन्? ‘भाला र लाठी लिएर एमालेको कार्यालय तोडफोड गर्न आऊ, कार्यक्रम गर्न दिन्नौँ लखेट्छौं’ भनेका छन्। गृहमन्त्रीले नै लाठी लिएर लखेट्नु भनेका छन्।

एमाले र मधेसी मोर्चालाई भिडाउने काम स्वयम गृहमन्त्री गर्दै हुनुहुन्छ, त्यसकारण नेपाली काँग्रेसलाई पनि भन्न चाहन्छु– तराई मधेसमा काँग्रेसको पहिचान के हो? पछिल्लो दुई तीन महिना तराई मधेसमा घुम्दा कांग्रेस देखेको छैन। इमानदार काँग्रेसहरु चूपचाप छन्, किंकर्तव्यविमुढ छन्, पार्टीले लिएको नीतिप्रति सन्तुष्ट छैनन् तर चूपचाप बसेका छन्। जो यो धमिलो पानीमा माछा मार्न चाहेका छन् उनीहरु मधेसी मोर्चा र आपराधिक संगठनको गतिविधिमा संलग्न छन्। त्यसले तराई मधेसमा काँग्रेस नै छैन। त्यसैले शेरबहादुर देउवालाई भन्न चाहन्छु– सिंहको सवारीमा चढ्न सजिलो छ तर झर्दाखेरी के हुन्छ? याद गर्नुहोला।

 

यसमा तपाईको प्रतिक्रिया